५ आश्विन २०८३, सोमबार
Logo

बेलकोटगढीको मेयरमा सन्तोषी ढुंगानाको स्वतन्त्र उम्मेदवारी घोषणा, आजैदेखि चुनावी अभियान सुरु

नुवाकोट। समाजसेवा तथा स्थानीय विकासका विभिन्न गतिविधिमा सक्रिय रहेको बताउँदै आएकी सन्तोषी ढुंगानाले आगामी स्थानीय तह निर्वाचनमा नुवाकोटको बेलकोटगढी नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्।

उनले उम्मेदवारी घोषणासँगै आजैदेखि आफ्नो चुनावी प्रचार तथा जनसंवाद अभियान सुरु भएको जानकारी दिएकी छन्। निर्वाचन आयोगले २०८४ सालमा हुने स्थानीय तह निर्वाचनका लागि तयारी अघि बढाइरहेको छ। हालका स्थानीय जनप्रतिनिधिको कार्यकाल २०८४ वैशाखमा सकिने भएकाले आगामी निर्वाचनको तयारी र समयतालिकाबारे आयोग तथा राजनीतिक तहमा छलफल भइरहेको छ।

ढुंगाना पक्षबाट उपलब्ध गराइएको विवरणअनुसार उनले विगतदेखि बेलकोटगढीका विभिन्न विद्यालयमा गरी करिब १० लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्न सहयोग गरेकी छन्। शिक्षा क्षेत्रमा दीर्घकालीन सहयोग पुर्‍याउने उद्देश्यले अक्षयकोष निर्माणमा योगदान दिएको र त्यसबाट विद्यार्थी तथा विद्यालयलाई सहयोग पुग्ने अपेक्षा गरिएको उनको पक्षले जनाएको छ। त्यसैगरी कोरोना महामारी तथा बाढी लगायत विभिन्न विपद्का समयमा प्रभावित परिवार र समुदायलाई आर्थिक तथा सामाजिक सहयोग पुर्‍याएको विवरण पनि उनको अभियान पक्षले सार्वजनिक गरेको छ। विपद्का बेला राहत, आवश्यक सामग्री तथा अन्य मानवीय सहयोगमा आफूले सकेको योगदान गर्दै आएको ढुंगानाको भनाइ छ।

मेयरको उम्मेदवारी घोषणा गर्दै ढुंगानाले आफ्नो अभियानलाई सुशासन, पारदर्शिता, जवाफदेहिता, शिक्षा, स्वास्थ्य, कृषि, स्थानीय रोजगारी, महिला तथा युवा सहभागिता र पूर्वाधार विकास जस्ता विषयमा केन्द्रित गर्ने बताएकी छन्। उनले बेलकोटगढीका विभिन्न वडा र समुदायमा पुगेर नागरिकका समस्या, आवश्यकता र सुझाव सुन्दै आगामी दिनमा विस्तृत चुनावी एजेन्डा सार्वजनिक गर्ने जानकारी दिएकी छन्। युवा तथा महिला सहभागितालाई स्थानीय शासनमा अझ प्रभावकारी बनाउने विषय पनि आफ्नो अभियानको प्रमुख पक्ष हुने उनको भनाइ छ।

Shivapuri rural municipality awareness message jalapanews

उनले चुनावी अभियानलाई व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा नीति, योजना, जनसंवाद र सार्वजनिक जवाफदेहितामा केन्द्रित गर्ने बताएकी छन्। ढुंगानाले उम्मेदवारी घोषणा गर्दै भनेकी छन्, “आजदेखि म सन्तोषी ढुंगाना बेलकोटगढी नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु। आजकै दिनबाट मेरो चुनावी अभियानसमेत सुरु भएको जानकारी गराउँदछु। नगरवासीका समस्या, सुझाव र अपेक्षालाई सुन्दै आफ्नो योजना र प्रतिबद्धता क्रमशः सार्वजनिक गर्दै जानेछु।” उनले आफ्नो चुनावी अवधारणाको मूल विषय “सुशासन, विकास, असल शासन र समृद्धि” रहने बताएकी छन्। ।

प्रतिक्रिया दिनुहोस्