उपचारको लागी हिडेका युवतीहरु घर फर्कियनन्
दुप्चेश्वर – बर्खाको झरीमा तातो खिर खाएर परिवारसंग रमाउने दिन उपचारको लागी घरबाट हिडेका इर्सानी तामाङ, दावा साङ्मो तामाङ र १ बर्षका छोरा बेपत्ता भए । कुरा गत साउन १५ को हो । दुप्चेश्वर गाउँपालिका वडा नं ७ शेराङ बस्ने ईसानी तामाङले आफ्नो स्वास्थ्यमा समस्या आएको र दुप्चेश्वर कै समुन्द्रटार सम्म स्वास्थ्य उपचारको लागी जाने कुरा बताईन् ,ईर्सानीलाई श्रीमानले ५ सय खर्च दिएर उपचारको लागी पठाए । साथमा मोबाइल सम्म पनि नबोकेकी १९ बर्षकी ईर्सानी तामाङको साथी जाने भन्दै २० बर्षकी छिमेकी दावा साङ्मो तामाङ र एक बर्षका छोरा सहित घरबाट निष्किए ।
साउन १५ गते बिहान लोकल बस चढेर गाउँकै बजार झरेका ती युवतीहरु साझँ घर फर्किएनन् । ईर्सानीका ३ बर्षका नाबालक छोरा आमा पर्खिरहेका छन् भने श्रीमान निर्मान तामाङ श्रीमतीको खोजीमा दिनरात एक गरि भौतारी रहेका छन् । एक बर्षका नातीको अबस्था के होला भन्ने चिन्ताले यति खेर हजुरबुवा मंगले तामाङलाई सताएको छ ।
महिला तथा बालबालिका खोजी गरि पाउँ भन्दै साउन १६ गते जिल्ला प्रहरी कार्यलय नुवाकोटमा ईर्सानी र दावा साङ्मो तामाङको परिवारले उजुरी दिए । उजुरी र दावा साङ्मो तामाङको फोनकलको बिवरणका आधारमा प्रहरीले बेचबिखनमा संलग्न हनुसक्ने आशंकामा फुरछिरिङ तामाङ, मंगले तामाङ र सुर्यमान तामाङलाई पक्राउ गरि म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जानकारी दिएको छ ।
पछिल्लो समय दुप्चेश्वर गाउँपालिकाको बिभिन्न वडाहरुमा मानव तस्कर तथा बेचबिखन बढेको स्थानियले दावी गरेका छन् । पछिल्लो १० महिनामा १३ जना महिला तथा बालबालिकाहरू एउटै टोलबाट बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा १२ जना बालिका तथा महिलाहरू र एक जना एक वर्षीय नाबालक समेत छन् ।
दुप्चेश्वर प्रहरी चौकीका अनुसार पछिल्लो एक वर्षमा जम्मा ९ वटा मात्रै मानिस हराएको उजुरी मात्रै दर्ता भएको छ ।
यसरी हेर्दा एउटै टोलको १३ जना हराएको जानकारी समेत त्यहाँको प्रहरीले पाउन सकेको छैन । दुप्चेश्वर गाउँपालिकाको बिभिन्न वडाहरुमा ४ दर्जन बढीको संख्यामा महिला तथा बालिका हराएको स्थानीयहरूको आँकलन छ ।
साउन १२ र १५ गते मात्रै सेराङ भन्ने टोलबाट ५ जना महिला तथा बालबालिका हराएका छन् । उनीहरुलाई प्रहरीले खोजिरहेको छ । तर अहिलेसम्म उनीहरूको अवस्था अज्ञात छ । पारिवारिक स्रोत र स्थानीयहरूका अनुसार उनीहरुलाई यौनधन्दाको लागि दलाल मार्फत भारत लगिएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
डेढ वर्ष अगाडिको तुलनामा अहिले गाउँबाट हराउनेको संख्या अत्याधिक रहेको छ । यसरी हेर्दा दुप्चेश्वर गाउँपालिकामा मानिस हराएर गाउँ नै रितो हुने अवस्था आएकोमा स्थानियहरु चिन्तित छन् ।
गत १० महिनामा दुप्चेश्वर गाउँपालिकाको सेराङ भन्ने एउटा टोलबाट मात्रै १३ जना हराइरहेका छन् भने बिगत देखी नै अत्याधिक बेचबिखनको शिकार हुने घ्याङफेदी, राउतबेसी लगायतका अन्य थुप्रै भूभागबाट महिला हराइ रहेको स्थानीयहरूको भनाइ छ तर यसको लेखाजोखा भने कसैसंग छैन ।
गाउँमा विवाह गरेर आफ्नै श्रीमानले समेत आफ्नी श्रीमतीलाई यौन धन्दाको लागि भारत लैजानेहरूको सङ्ख्या पनि बढेको छ । त्यस्तै तिनै श्रीमतीहरुको कन्ट्याक्टबाट उनका साथीहरू, बहिनीहरू, दिदीहरूलाई समेत उतै लोभ प्रलोभन तथा विभिन्न कुराले आकर्षण गरेर भारततिरै तान्ने काम पनि हुने गरेको स्थानिय निमा नेम्बा तामाङ बताउछन् ।
त्यस्तै छोरी तथा बुहारीहरू घरबाट हराउँदा समेत घरपरिवारले प्रहरीमा उजुरी दिन आउँदैनन् उनीहरुले समर्थन गरेर, सहयोग गरेर आफ्नै मिलोमतोमा आफ्ना छोरी बुहारीहरुलाई पैसाको लागी बेचिरहेको हुन सक्ने स्थानियहरुको अनुमान छ ।
यसरी पारिवारिक मिलोमतोमा बेचिएकाहरू करिब ३ देखि पाँच वर्षभित्रमा गाउँ प्रवेश गर्ने, उनीहरूको जीवनशैली देखेपछि अन्य बालबालिका तथा महिलाहरू प्रभावित हुने गरेका छन् । यसरी प्रभावित भइसकेपछि उनीहरुमा पनि फर्केर आएकाहरूमा जस्तै राम्रो हुने, राम्रो लगाउने, मिठो खाने, गर गहना लगाउने जस्ता रहरले भारत गएर फर्केर आएकाहरूको कन्ट्याक्टबाट भारततर्फ जाने गरेको खुल्न आएको छ ।
श्रीमानले श्रीमती बेच्न,े दिदीले बहिनी बेच्ने, बहिनीले दिदी बेच्ने, बाआमाले छोरी बेच्ने, ससुरा सासुले पनि बुहारी बेच्ने यस्तो परिपाटी शेराङ, करेजुङ, घ्याङफेदी, शिखरबेशी लगाएतका स्थानको लागि नौलो भने होइन । संघीयता भन्दा पहिला वा राजतन्त्रको समय भन्दा पहिला वा त्यो भन्दा पनि धेरै अघिदेखि एउटा नकारात्मक छाप छ । यहाँका चेलिबेटी बेचिन्छन् भनेर ।
त्यो एक समय थियो जहाँ बिवाह योग्य पुरुषले बिवाहको लागी केटी नपाउने । सोही समय फेरी दोहोरीने हो कि भन्ने चिन्ताले स्थानिय समुदायलाई पुन तरंगित तुल्याएको छ ।
त्यो बेलादेखिको यस्तो घटनाक्रम दुप्चेश्वर गाउँपालिकाको सेराङ,करेजुङ, घ्याङफेदी शिखरबेसी लगायतको स्थानमा अहिले पनि छ । पछिल्लो डेढ वर्षको मानव हराएको घटना हेर्दा यो पछिल्लो १० वर्ष यताकै उच्च दर हो ।
पहिला ललाई फकाई प्रलोभन देखाई जागिर लगाई दिने नाममा गाउँ गाउँमा, टोलटोलमा दलालहरू पुग्ने गर्थे तर अहिले गाउँमा कुनै मान्छे आउँदैनन् । सामाजिक सञ्जाल मार्फत फकाउने, कन्ट्याक्ट गर्ने काम हुन्छ र एकपछि अर्को गर्दै महिलाहरु बेपत्ता हुन्छन् ।
यसरी गएका महिलाहरू गाउँमा फर्किदा ठूलो शानका साथ फर्कने गर्छन्
स्थानिय समुदायले फर्कनेहरु राम्रा भएका, धेरै धन कमाएका, गहना लगाएका ,राम्रो कपडा लगाएका, उनीहरुले ल्याएको कोसेलीको प्रशंसा गर्ने, परिवारलाई सुख दिएकोमा स्याबासी दिने गर्छन् । त्यस्तैगरी आफ्ना छोरी बुहारी पनि कसरी पठाउने भन्ने चिन्ताले उनिहरुलाई पिरोल्छ ।
यो कार्य गलत हो, गैरकानुनी हो । निकट भविष्यको लागि निकै घातक छ । यसले युवा शक्ति पलायनल मात्रै गर्दैन गाउँ बिकाश र देशको अर्थतन्त्रमा समेत क्षतिपुग्छ भनेर सम्झाउनेहरुलाई बेचबिखन प्रभाबित समुदायले स्थानीय नेता हो भने निर्वाचनमा भोट नदिने, बाटो कुरेर बस्ने कुटपिट गर्ने समेतका घटनाहरु स्थानीय स्तरमा घट्ने गरेको स्थानीय अगुवा नेमा निङमा तामाङले बताए ।
साउन १७ गते स्थानिय तामाङ समुदायको महिलाहरु र जालपा न्यूज बिचको संवादमा महिलाहरु किन गाउँ छाडेर भारत लाग्छन ? भन्ने प्रश्नमा महिलाहरु भन्छन् “कृषि गरौं, पशुपालन गरौँ, यसो केहि काम गरौ भन्यो , दुख धेरै हुने, आम्दानी नहुने, लाउन खान गार्हो । सायद छिटै धनि हुने भएर गएको हो थुप्रै छ गएको तर हामी जान्न यहि दुख गर्छु” ।
स्थानिय महिलाहरुले जालपा न्यूजसंगको संवादमा भारत हिडेका तर स्थानिय सरकार तथा बिभिन्न संघसंस्थाले उद्धार गरि गाउँ लेराएकाहरु खुशी हुनुको साटो सरकार र स्थानिय संघसस्थाले गरिखान नदिएकोमा दुखेसो र आक्रोश पोख्छन् ।
सोमले तामाङ भन्छन् “सम्झाउनु भनेको यहाँ गाली दिनु जस्तै हो । आफूलाई जोखिममा डाल्नु जस्तै हो । यसैले यहाँ आउने सचेत नागरिक र संघ संस्थाहरुलाई बेचबिखन विरुद्धका अभियानहरू सञ्चालन गर्न निकै कठिन छ ”।
अझ रोचक कुरा के छ भने बेचबिखन विरुद्धका सडक नाटक देखाउने केहि बालिकाहरु नै केही दिनमै हराउँछन् । उनीहरुलाई सकारात्मक शिक्षाको साटो कसरी दलालसँग कन्ट्याक्ट गर्न सकिन्छ कस्ता मान्छेले दलालसँग कन्ट्याक्ट गरिदिन्छन् र कुन बाटो प्रयोग गरेर जान सकिन्छ भन्ने नकारात्मक ज्ञान सिक्ने अबसर बनेको छ ।
दलालसँग कन्ट्याक्टमा जानेहरू पनि घरपरिवारले शङ्का नै नगरोस् भन्ने तरिकाले उनीहरू हराउने गरेका छन् उनीहरु बजारमा नुन किन्न जान्छु तरकारी किन्न जान्छु । खेतबारीको लागि मल किन्न जान्छु, छोराछोरीको लागि किताब किनेर लेराउँछु ,कापी किनेर लेराउँछु, भनेर घरबाट निस्किएर उतैबाट बेपत्ता हुने गरेका छन् । यसरी हराएकाहरुको मात्रै उजुरी दर्ता हुने गरेको छ, तर पारिवारिक मिलेमतोमा गएकाहरूको उजुरी प्रहरीमा दर्ता नै नहुने भइहाले पनि परिवारबाट गाउँबाट भागेको वा भगाइएको पाँच छ दिन पछाडि मात्रै प्रहरीमा रिपोर्ट आइपुग्ने गरेको समुन्द्रटार प्रहरीले बताएको छ ।
तर स्थानियहरुको अनुसार उजुरी दर्ता गर्न ढिलो गर्ने र खोज तलाशमा तत्कालै कुनै पनि कदम नचाल्ने हुँदा केही स्थानीयहरू भने जिल्ला प्रहरी कार्यालय नुवाकोटमा समुद्रटारमा खबरै नगरी आउने गरेका छन् ।
स्थानिय सरकार भन्छ –
गाउँपालिका अध्यक्ष शंकर बहादुर थापाले स्थानीय सरकारलाई यो विषय निकै चुनौतीपूणर् र पेचिलो बनेको बताए । यसरी गाउँमा मिलेमतोमा हराउने बालबालिका तथा महिलाहरू रोक्न सरकारलाई थप चुनौति रहेको बताउदै उनले जिबीकोपार्जनसंग महिलालाई जोडेर गरिने कार्यहरुलाई थप प्रभावकारी बनाउने तथा स्थानिय स्तरमा रहेका संघसंस्थाहरुसंगको सहकार्यमा सचेतना मुलक तथा संन्देश मुलक कार्यक्रमहरुको आयोजनालाई थप प्रभावकारी बनाएर नियन्त्रणको प्रयास गर्ने बताए ।
दुप्चेश्वर गाउँपालिकाको उपाध्यक्ष माकुरी तामाङका अनुसार अब गाउँमा तथा बेचबिखनको जोखिम रहेको टोलहरूमा पालिकाबाट कर्मचारी खटाएर कुन टोलमा कति उमेर समूहका महिला तथा बालिकाहरू छन् त्यसको रेकर्ड राख्ने कार्य यसै वर्षबाट सुरु गर्र्ने बताएका छन् ।
विगत लामो समयदेखि मानव बेचबिखन विरुद्ध काम गरिरहेका गाउँपालिका उपाध्यक्षमा तामाङले महिला सशक्तिकरणको लागि विद्यालयमा बाल शिक्षाको लागि र जीविकोपार्जनको लागि धेरै कामहरु गरेको तर सरकारको योजनामा नागरिकहरु काम गर्न तयार नभएको बताउछन् ।
गाउँमा भएको धार्मिक स्थलमा दैनिक झन्डै ६-७ सय भन्दा धेरै तथा कहिलेकाहीँ हजारौं र लाखौंको संख्यामा धार्मिक पर्यटकहरू आउँदा समेत त्यहाँ खाने बस्ने फुल बेच्ने नागरिकहरूको अभावै छ । जीविकोपार्जन कै अभावले मात्रै नागरिकहरू गाउँ छोडेर भारततर्फ नलागेको स्थानीय सरकारको दाबी छ । उनीहरु भन्छन् हामीले जीविकोपार्जन गर भनेर कुखुरा, बाख्रा, उद्योग व्यवसाय, माटो परीक्षण गरेर सोही माटो अनुसार बिउभिजन र बिरुवा वितरण गरेका नागरिकहरू कै परिवारबाट छोरी बुहारी र आमा हराइरहेकी हुन्छिन् । उनीहरुको सोच परिवर्तन गर्नुपर्ने चनौति थपिएको छ । जिविकोपार्जनमा स्थानिय सरकार नागरिकहरुलाई सघाउन तयार रहेको स्थानीय सरकार प्रमुख शंकर बहादुर थापा बताउछन् ।
त्यस्तै गाउँपालिकाका नि बर्तमान उपाध्यक्ष अन्जु आचार्यले आफू उपाध्यक्ष पदमा बहाल रहदा मानव बेचबिखन कम गर्न निकै लागी परेको बताए । नि बर्तमान उपाध्यक्ष आचार्यको अनुसार दुप्चेश्वरमा सचेतनाको अभावले मात्रै नभइ धेरै कमाउने लालचाले गर्दा बर्षेनी दर्जनौ छोरीचेली बेचिएको बताए । जोखिमयुक्त क्षेत्रका बालबालिकाहरुलाई छात्रबृद्धी र महिलाहरुलाई जीविकोपार्जनको क्षेत्रमा सघाउदा समेत लाभान्वीत परिवारबाट छोरी चेली हराउने गरेको आचार्यको भनाइ छ ।
आफू बहालवाला उपाध्यक्ष हुदा बर्षमा करिब १५ जना बढी छोरीबुहारीहरुलाई नाकाबाट उद्धार गरेको उनको भनाई छ । मानव बेचबिखनको समस्या दुप्चेश्वरमा बिकराल रहेको बताउदै उनले न्यूनिकरणमा आफुले सकेको गरि रहेको र आगामी दिनमा पनि महिला हित र संरक्षणको क्षेत्रमा लागी रहने आचार्यले प्रतिबद्धता जाहेर गरिन । आचार्यले बेचबिखनको समस्या तामाङ समुदायमा अत्याधिक रहेको र दलित र क्षेत्रि समुदायमा समेत केही प्रतिशत रहेको बताए ।
पछिल्लो समय भारत जानेहरुमा ५० प्रतिशत भन्दा बढी महिला तथा बालिकाहरू छिटो धनी हुने अभिलासा बोकेर आफू खुसी तथा पारिवारिक सरसल्लाहमा गएको पुष्टि हुँदै गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्