नव निर्बाचित दुप्चेश्वरका जनप्रतिनिधीहरुलाई मेरो सुझाव
किरण प्रकाश कुइकेल- सिन्धुपाल्चोक जिल्लाको मेलम्ची देखि रसुवा जिल्लाको गोसाईकुण्ड क्षेत्र आसपास सम्म जोडिएर रहेको दुप्चेश्वर गाउँपालिका नुवाकोट जिल्लाको उत्तर पूर्वी भेगमा पर्दछ ।
१३२.६२ वर्ग कि.मि. क्षेत्रफलमा फैलीएको यस गाउँपालिकामा करिब २२ हजार जनसंख्याको बसोबास रहेको छ, भने स्थानीय तह निर्वाचन २०७९ मा यहाँ १७,३७५ जना मतदाता रहेकोमा १२,४०० को आसपासमा मत खसेको थियो । जसको नतिजा समेत सार्वजनिक भैसकेको छ । गाउँपालिकाका विभिन्न पदहरूमा निर्बाचित जनप्रतिनधिहरुको शपथ ग्रहण एबं पद बहाली पनि भइसकेको छ ।
स्थानिय जनमत आफ्नो पक्षमा हुँदा हुँदै पनि गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका एजेण्डा हाम्रो हो, भन्ने माओवादीले विविध कारणले पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा हार व्यहोरेको यस पालिकामा अहिले माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष सहित बहुमत वडामा प्यानल सहित जीत हाँसिल गरेको छ ।
यसरी कार्यपालिका स्पष्ट बहुमतमा रहेको दुप्चेश्वर गाउँपालिका टिमले के कस्ता कार्यहरू गर्न उपयुक्त हुन्छ होला भन्ने विषयमा मैले आफ्ना केही धारणाहरू तल बुँदागत रुपमा राख्न चाहन्छु । आशा छ यी सुझावहरु गाउँपालिकाको विकासको हितमा नै हुनेछ ।
१. स्थानिय रोजगार वृद्धिको लागि सम्भब हुँदा सम्म मानवीय श्रम परिचालन मार्फत सडक निर्माण तथा मर्मत गरी दिगो एबं हरित सडक सञ्जाल निर्माण र प्रवर्द्धन ।
२.यसै पनि सानो भूभाग समेटेर रहेको समुन्द्रटार बजार भित्रको सडकलाई मापदण्ड अनुसार विस्तार गर्दा बढी नै भौतिक संरचना हटाउनु पर्ने एबं जमिन जति सडकमा पर्न जाने कुरालाई ध्यानमा राखी तादी खोला तर्ने पक्की पुलको मुखबाट गोल थुम्का भिर मुनिको सडक जोड्ने गरी नयाँ ट्राक निर्माण र सोही ट्रयाकलाई गंगटे–लब्धु –गोल्फुभञ्ज्याङ सडकको रुटमा पारी पक्की गर्ने र बजार भित्रको सडकलाई सहायक सडकको रूपमा राखी भित्री बजारलाई कोर सिटीको रूपमा विकास गर्ने ।
३.सर्वाधिक चासोको विषयमा रहेको दुप्चेश्वर मन्दिर अगाडि १ कि.मी. खोला खुल्ला राख्ने विषयमा ग.पा.ले सर्वदलीय खुल्ला सार्वजनिक सुनुवाई गरी धारणा बनाई कार्यान्यवन गराउने ।
४. काठमाडौंको सुन्दरीजलबाट सुरु भइरहेको (गोसाइँकुण्ड ट्रेल)को वैकल्पिक रूपमा समुन्द्रटार–गोल्फु–गोसाईकुण्ड, समुन्द्रटार–घ्याङफेदी–गोसाईकुण्ड, समुन्द्रटार–राहुचुली–गोसाईकुण्ड पदमार्ग (हाइकिङ रुट) निर्माण, प्रचार–प्रसार र प्रवर्द्धन गरी पर्यटक भित्राउने ।
५.पशुपालन एबं तरकारी–फलफूल उत्पादनमा पालिकलाई आत्मनिर्भर बनाउन अनुदान सहयोग,उत्पादन सहकारी, उपभोक्ता सहकारी गठन गरी उत्पादित वस्तुहरूको बजारीकरणका लागि टेवा पुर्याउने र उत्पादित चीज वस्तुको पालिकाद्वारा न्युनतम समर्थन मूल्य कायम गरी कृषक वर्गको संरक्षण गर्ने ।
६.स्थानीय तहमा नै सीटीईभीटीले दिने जस्तै विभिन्न तालिमहरुको व्यवस्था गरी स्थानीय श्रम शक्तिको दक्षता बढाउन मद्दत गर्ने ।
७. शिखरबेशिको धान, कंडिनीको आलु, निगालोको टुसा, जस्ता उत्पादनहरुको प्याकेजिङ्ग, ब्राण्डिङ गर्नमा मद्दत गरी अधिक अर्थोपार्जनमा टेवा पुर्याउने ।
८. शिक्षा, स्वास्थ्य सेवाको गुणस्तर वृद्धिकोलागि आवश्यक योजना तयार एबं कार्यान्वयन ।
९. पालिकाभर कार्यरत कर्मचारी, शिक्षक एबं अन्य सेवारत कर्मचारीको दक्षता बढाउन तालिम एबं परामर्शको व्यवस्थापन ।
१०. खेलकुद क्रियाकलाप सञ्चालन एबं अन्य ठूला खुल्ला कार्यक्रम गर्नका लागि स्टेज सहितको कम्तीमा एउटा खेलकुद मैदान निर्माण ।
११. प्राकृतिक श्रोतको संरक्षण एबं प्रयोगका लागि पालिका नीतिको निर्माण गर्ने ।
प्रतिक्रिया दिनुहोस्