लिखुको उपाध्यक्षमा प्रदेश सदस्य देविका मिजार भिड्दै

विदुर । बैसाख ३० गते सम्पन्न गर्नेगरी सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिदै जाँदा नुवाकोटको सदरमुकामसँग जोडिएको लिखु गाउँपालिकामा पनि उमेद्वारहरुको तिब्र प्रतिस्पर्धा चलेको छ । प्रतिस्पर्धाका बीच लिखुको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट देविका मिजारको उमेद्वारी पक्कापक्की जस्तै भएको छ ।
लिखु पालिकाभरिबाट पार्टीको एकमात्र बागमती प्रदेश समिति सदस्य रहेकी नेतृ मिजार पद्मकन्या बहुमुखी क्याम्पसको विद्यार्थी राजनीतिबाट उदाएकी हुन् । त्यसो त उनले भैरम मावि भैरमकोटमा ७ कक्षा पढ्दैगर्दा २०६३ सालबाटै तत्कालिन नेता भोजराज लामिछाने “केशव” को सल्लाहमा अखिल क्रान्तिकारीको राजनीतिमा होमिएकी थिइन् । सानै उमेरदेखि पठनपाठनमा उम्दा रहेकी मिजार अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहँदै आएकी थिइन । मिजारको सहपाठी नेता केशवको छोरा गणेश लामिछाने देविकालाई “सानैदेखि निडर र साहसी भएको” र “विद्यालयको कक्षाकोठामा धेरैचोटी हाउस क्याप्टेन भएको तथा गल्ती गर्ने केटाहरुलाई कुटेको” स्वीकार गर्नुहुन्छ । “राम्रा विद्यार्थीसँग अति मिल्ने र गल्ती गर्नेलाई नछाड्ने उनको बानी थियो” लामिछाने भन्नुहुन्छ ।
पार्टीभित्र बौद्धिक नेतृको छवि बनाएकी युवा नेतृ मिजारको अगाडि अरु नेतृहरुको उमेद्वारी खासै चुनौतिपूर्ण नरहेको लिखुकै विभिन्न नेताहरुले बताएका छन् । “उहाँको उमेद्वारी लगभग पक्कापक्की जस्तै हो” लिखुको एक नेताले भन्नुभयो । पद्मकन्या बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी मिजारले नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक सकाएकी छिन् । तर उनीसँगको प्रतिश्पर्धामा उभिएका अरुपनि कमजोर भने छैनन् । जनयुद्धकालिन नेतृहरु रेखा भण्डारी, सरस्वती नेपाल अधिकारी, शहीद बद्रि ढकालकी पत्नी पार्वती ढकाल पनि उपाध्यक्षको तिब्र प्रतिश्पर्धामा छन् । तर रेखा भण्डारी शिक्षण पेशामा रहेको र ढकाल लिखुमै जागिरमा रहेकोले टिकट आउने सुनिश्चित नभएसम्म जागिरबाट राजिनामा नदिने मनस्थितिमा रहेका छन्
“चारैजना प्रतिश्पर्धी उमेद्वारहरु अब्बल तथा पार्टी र क्रान्तिको लागि आ–आफ्नो क्षेत्रबाट त्याग गरेकै नेतृहरु हुनुहुन्छ, तर अरु नेतृहरुको विभिन्न सीमा भएका कारण त्यसभित्र पनि अब्बलको खोजी हुँदा स्वभाविक रुपमा देविका मिजारको नाम अग्रपंक्तिमा आउँछ” लिखु गाउँपालिकाकै पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भन्नुभयो, “मैले बुझेसम्म हाम्रो लिखुको धर्म दाइपछिको दोस्रो नेतृत्व धनबहादुर कमरेडसँग जनवादी विवाह गरेर लिखुमा आइसकेपछि २०७३ सालको लिखुको पार्टी सम्मेलन (निर्वाचन) मा देविका कमरेडले मतदान अधिकृतको भूमिका बहन गर्नुभएको हो र पद्मकन्या बहुमुखी क्याम्पसको अखिल क्रान्तिकारीको राजनीति हुँदै लिखु गाउँसमितिको सचिवालय सदस्य हुँदै पछिल्लो चरणमा दलित मुक्ति मोर्चाको प्रदेश सदस्य र हाल पार्टीकै बागमती प्रदेश समिति सदस्य हुनुहुन्छ, उहाँमा यदि योग्यता र क्षमता, जुझारुपन र नेतृत्वमा हुनुपर्ने गुणहरु थिएनन् भने युवावयमै त्यहाँ पुग्नुहुन्नथ्यो भन्ने लाग्छ ।”
“जनयुद्धकालमै आफ्नो पाँचजना अंकलहरु कुनै न कुनै रुपमा माओवादी आन्दोलनमा लाग्नुभएको थियो । काईलो अंकल पार्टीको अन्य जिम्मेवारीमा हुँँदा ठाईँलो अंकल त जनमुक्ति सेनामा काम गरी शक्तिखोरमा सेना समायोजन हुँदा बहिर्गमित हुनुभएको हो” नेतृ मिजारले भन्नुभयो, “परिवारमा माओवादी आन्दोलनको गहिरो छाप रहेकोले मैले पनि शान्तिप्रक्रिया पछि तुरुन्तै ०६३ सालदेखि अंकलहरुकै सल्लाहबमोजिम अखिल क्रान्तिकारीको सदस्यता लिई राजनीतिमा होमिएकी हुँ र पछि विवाह पनि जनवादी ढंगको गरेँ ।”
पार्टीको जिल्ला नेतृत्वहरु मूलतः हितबहादुर तामाङ, विमला सुवेदी र पुष्प लामिछानेहरुप्रति अनुग्रहित रहेकी मिजार मुख्यगरी उहाँहरुको सद्भाव र पार्टीका विभिन्न तहका नेता कार्यकर्ताहरुको सुभेच्छा, साथ र सहयोगको कारण आफू यस स्थानमा पुगेको बताउँनुहुन्छ । “म मैले टेकेको जमिन कहिल्यैपनि विर्सन्नँ, मेरो धरातल भुल्दिनँ, मेरा श्रद्धेय तथा सहयोगद्धा कमरेडहरुले देखाउनुभएको बाटोमा म अविच्छिन्न र अविचलित रुपमा हिड्ने नै हो” उहाँ भन्नुहुन्छ, “पद पाउनैपर्छ भन्नेपनि छैन, ममात्र योग्य छु, अरु केही होइनन् भन्ने घमण्ड पनि मसँग छैन, अरु दिदीहरु आ–आफ्नो ठाउँमा योग्य र क्षमतावान हुनुहुन्छ, पार्टी र क्रान्तिलाई ठूलो योगदान दिनुभएकै छ तर उहाँहरुको केही सीमाहरु, बाध्यता र विवसतासमेत भएको भन्ने बुझेकी छु र मलाई दलित समुदायबाट हुर्केबढेकी, पार्टीलाई समेत योगदान गरेकी र पार्टीको नीति पनि समानुपातिक समावेशी सिद्धान्तलाई बुझेर एउटा असल बहिनी र सहयोद्धा सम्झेर उपाध्यक्षमा सहयोग गर्नुहुन्छ भन्ने मैले विश्वास लिएकी छु ।”
उपाध्यक्ष पदमा माओवादीले उठायो र जित्नुभयो भने गाउँपालिका विकासको लागि तपाईँको योजना के के छन् त ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, “उपाध्यक्ष पदमा रहेर लिखुका जनतालाई धेरै राहत र विकास दिन सकिन्छ भन्नेमा विश्वस्त छु म, किनभने उपाध्यक्षले नै सबैको राय सल्लाह र परामर्शमा बजेट प्रस्तुत गर्नुपर्ने दायित्व संविधान र कानूनले स्पष्ट किटान गरेको छ । न्यायिक समितिको संयोजकको भूमिकाबाट पनि गाउँ–समाजका देवानी प्रकृतिका झैझगडा मिलाउने ठूलो अवसर हुन्छ । विकास निर्माणका गतिविधिहरुको निरन्तर अनुगमन गर्ने काम पनि हुन्छ । यसरी हेर्दा उपाध्यक्ष पदमा रहनेले स्थानीय तहको अर्थमन्त्रीको भूमिका, अनुगमनको हिसावले हेर्दा गृहमन्त्रीको भूमिका र न्याय सम्पादनका दृष्टिले न्यायाधीसको भूमिका खेल्नुपर्ने हुन्छ र यो धेरै ठूलो भूमिका हो भन्ने मलाई लाग्छ ।”
नेतृ मिजार आफ्नो अध्ययनपनि समाजशास्त्र र कानून भएकोले समाजको विविध सवालहरुलाई सुक्ष्म रुपमा केलाउन र उक्त सवालको सम्बोधन ठीक ढंगबाट गर्न आफू सक्षम रहेको बताउनुहुन्छ । “स्रोतको आँकलन गरी सवालहरुको सम्बोधन गर्न यथोचित बजेट विन्यास गर्न र आएका मुद्दाहरुउपर न्यायिक निरुपण गर्न सक्षम छु” उहाँ भन्नुहुन्छ, “मेरो अध्ययनको पृष्ठभूमी, मेरो समन्वयकारी भूमिका, गाउँपालिका विकासको स्पष्ट मार्गचित्र, नेतृत्व कौशल, निडरता जस्ता कुराहरुले गर्दा उपाध्यक्ष पदमा मेरो उमेद्वारी अब्बलहरुमध्ये पनि अब्बल छ भन्ने लागेको छ ।”
नेतृ मिजारसँग गाउँपालिकाको विकासका लागि स्पष्ट मार्गचित्र समेत रहेको छ । “पाँचवर्षमा धेरै गर्न सकिन्छ, उपलब्ध साधन स्रोतहरुलाई अधिकतम लागतप्रभावी बनाउने, पारदर्शी र परिणाममुखी ढंगबाट परिचालन गर्ने, यहाँको समथर कृषि फाँटहरु, ढुङ्गा, बालुवाजन्य खनिजहरु, पर्यटकीय क्षेत्रहरु, जलस्रोत, मानव संशाधन, युवा जनशक्ति आदिको उचित परिचालन र व्यवस्थानबाट जनताले अनुभूत गर्ने किसिमले काम गर्न सकिन्छ । यसका लागि सबैको साथ, सहयोग आवश्यक छ । औपचारिक अनौपचारिक समन्वय, सल्लाह र उचित परामर्शको माध्यमबाट सबैले “हाम्रो हो र हामीले गरेको हो” भन्ने अपनत्व बोध हुनेगरी, संविधान र कानूननले दिएको अधिकार प्रयोग गर्दै संयुक्त राष्ट्रसंघले लिएको र नेपालले अंगिकार गरेको १७ वटा दीगो विकास लक्ष्यलाई समेत टेवा पुग्नेगरी काम गर्न सक्छु भन्ने लागेको छ ।”
“लिखु र तादी जस्ता कञ्चन पानी बग्ने खोलामा अहिले शहर बजारबाट उत्पादित फोहर त्यहाँ फाल्ने गरेको देखिन्छ, त्यसको सरसफाई गरी वातावरण र पर्यावरणको संरक्षण गर्ने र जलचरहरुको समेत रक्षा गर्नुपर्ने दायित्व हामीसँग छ । भौतिक विकास र मानवीय विकास गर्नुपर्ने दायित्व हामीसँग छ ।” नेतृ मिजार भन्नुहुन्छ, “यस गाउँपालिकाबाट प्राथमिक देखि उच्च शिक्षा लिने बालबालिका तथा विद्यार्थीहरुलाई उनीहरुको इच्छा र पढाइको गुणस्तर हेरी छात्रवृत्ति दिने र लिखुबाट प्रत्येक वर्ष कम्तिमा २ जनालाई लोकसेवाको परीक्षाबाट शाखा अधिकृतमा नाम निकाल्ने गरी तयारी गराउने र शिक्षक सेवा आयोगबाट लिने परीक्षाका लागि पनि तयारी गर्ने गरी यस गाउँपालिकाले योजना गर्नुपर्ने खाँचो छ । “जबसम्म मानवीय विकास हुँदैन, तबसम्म भौतिक विकासले मात्र काम गर्दैन” भन्ने मूलभूत मान्यतालाई आत्मसात गरी गाउँमा महिला, दलित, जनजातिलाई विगतमा भएका विभेद र आगामी दिनमा हुनसक्ने विभेदबाट मुक्तिका लागि संवैधानिक तथा कानूनी अधिकारबारे विभिन्न गोष्ठी तथा अन्तरक्रियाहरु सञ्चालन गर्नुपर्ने आवश्यकता समेत छ ।”
प्रतिक्रिया दिनुहोस्