१२ श्रावण २०८१, शनिबार
Logo

गाउँमा सिंहदरबारको रौनक

जानुका धमला,
नेपालमा नयाँ संविधान घोषणा भएको पनि ५ वर्ष पूरा भयो । स्थानीय चुनाव भएको पनि ३ वर्ष । यही स्थानीय चुनावताका हो गाउँ गाँउमा सिंहदरबार पुर्याउने कुरा नारामा समेटिएको । चुनावपछि गाउँ गाउँमा सिंहदरबार मात्र पुगेन, सिंहदरवारभित्र वर्षौँदेखि मौलाइरहेको विरासत पनि संगै पुग्यो, दुर्गम गाउँमा समेत । सिंहदरबारमा जे जति कुरीति र भ्रष्टाचार शासन गर्नेहरुले गर्थे, अहिले त्यही विरासातले गाउँको सिंहदरबारलाई पनि अछुतो राखेन ।

आज गाउँमा पुगेको सिंहदरबारले जनतालाई के दियो त भन्ने प्रश्न ज्वलन्त रुपमा उठिरहेको छ । महंगो कर, हैरानी बेइमानी र नोक्सानी नै गाउँ गाउँमा पुगेका सिंहदरबारका उपहार हुन् भन्दा खासै फरक पर्दैन अपवाद बाहेक ।
समस्या एक ठाउँमा मात्रै छैन, यत्रतत्र सर्वत्र उस्तै छ केन्द्रीय सरकारदेखि वडा सरकारसम्म । दुई तिहाइको सरकारमा सामेल महासामन्तहरु यस्तोेसंग नालीमा फसे कि अब चाहेर पनि तिनीहरू निस्कन नसक्ने अवस्थामा छन् । केन्द्रमा यति,ओम्नीको राम्रो राजकाज चलेको छ । यतिसंग सरकारको यति प्यार किन होला ? मुलुक ३ वादबाट नराम्रोसंग गुज्रिएको छ ः दोहन,दलाली,दादागिरी । राज्यको सम्पत्ति दोहन नगर्ने, नेताको चाकडी दलाली नगर्ने र राज्य लुट्नको लागि दादागिरी नगर्ने कुनै पनि साधारण मान्छे नेताको नजरमा पर्दैन अहिले । राज्यको प्रत्येक अंगमा कम्युनिष्ट नामधारीहरुकै रजगज छ । तर विकृति र विसंगतिको दोष अरुलाई लगाएर निस्कने प्रयास तिनै रातो झण्डाको मुकुट भिरेका नकाबधारीहरु गरिरहेका छन् ।

अहिले नेकपाको आचरण कम्युनिष्ट भएन भनेर भन्नेहरुप्रति म सहानुभूति राख्छु किनकि कम्युनिष्टको सिद्धात विपरीत छ उनिहरुका लवाइ, खुवाइ, उठबस आदि इत्यादि सबै । चप्पल लगाएर राजधानी छिरेकाहरुको अहिलेको जीवनस्तरलाई नियाल्दा उनीहरूलाई कम्युनिस्ट हुन् भन्न पनि लाज लागेर आउँछ । उनीहरुका छोराछोरीले आर्जन गर्दै गरेको महँगो शिक्षा र उनीहरू बस्ने आलिसान बंगलाबाट पनि उनीहरूको वास्तविक अवस्था प्रष्ट हुन्छ । नेपालमा आफूलाई कम्युनिष्ट भन्नेहरुले राजनीति त श्रमिक र सर्वहारा वर्गको लागि भनेर शुरु गरे तर पृष्ठभभूमि र अहिलेका अवस्थाको जीवनशैलीको बीचमा देखिने ठुलो खाडलले उनीहरूको नियतमा रहेको खोट छर्लङ्ग हुन्छ ।
कर तिर्न सामान्यतया नागरिकहरु हौसिँदैनन् । धनीलाई कस्नु पर्छ भन्नेहरु नै कर छल्न उद्यत हुन्छन् । मार्गरेट थ्याचरले भनेजस्तै नेपाली समाजवादको समस्या भनेको अरुले कमाएको पैसामा गरिने रजाइँ हो । त्यो एक दिन सकिन्छ ।
नेपालमा वडा वडामा स्थापना भएका सरकारहरूले त समाजवादको माला जप्दै जनताको जीवनस्तरलाई बोल्नै नसक्नेगरी किलकिले समाइदिएर कर थोपरी गरिएको रजाइँको पनि अन्त्य सुनिश्चित छ ।
दश वर्ष लामो जनयुद्धको नेतृत्व गरेका नेताहरुले उतिबेला भनेका थिए ः फुटेका गोडाहरुले नरम जमीन खोज्छन् । नरम जमीन पाएपछि चप्पल खोज्छन् । चप्पल पाएपछि जुत्ता, जुत्ता पाएपछि साइकल ,साइकल पाएपछि मोटरसाइकल , मोटरसाइकल पाएपछि कार , कार पाएपछि कार चलाउने ड्राइभर । त्यसपछि घर घडेरी, व्यापार व्यावसाय, सुरासुन्दरी , धूम्रपान,मद्यपान आदि । यस्तैगरी हो नेताहरु बिग्रने भनेर प्रशिक्षण दिने नेताहरुको आजको हविगत देखेर विगतप्रति फर्किन मन लाग्छ । हाँस्छु एक झमट म पनि तिनका हालको हविगत देखेर । साँस्कृतिक क्रान्तिको नाममा लोकगित सुन्न बन्देज थियो । जिन्स पाईन्ट लगाउन , लामो कपाल पाल्न,बास्नादार तेल लगाउन र स्याम्पुले नुहाउन समेत निषेधित गर्नेहरुको ताउर माउर झन् कडा छ अहिले । सामाजिक परिवेशसंग मिल्ने मात्र लुगा लगाउनु पर्थ्यो। कमब्याट ड्रेसमा सजिएर परेड खेलिन्थ्यो ।

विशेष परिस्थिति भन्दा बाहेक अन्य कपडा लगाउन पनि बन्देज जस्तै थियो । विगतमा फर्किएर एक झमट रमाउनुको मज्जा पनि छुट्टै छ । यस्तो भनेर म जस्तै लाखौँ कार्यकर्तालाई प्रशिक्षण दिने मेरा नेता कमाण्डरहरु यतिखेर मौन बसेर सत्य बोल्ने अधिकार गुमाएका भीडले झैँ सत्ताको चाकरी गरिरहेको अवस्था हो यो । सत्ताको स्वादमा रमाउनुको मज्जा बुझेर स्वर्णिम सपनामाथि लात मारेको अवस्था हो । हाम्रो गौरवशाली गौरवगाथा त नयाँ महाराजा बन्न पो रहेछ । आफन्त, सन्तान गुटियारहरुलाई पोस्न पो रहेछ ।
यो पटक आफ्नै गृहजिल्लातिर फर्केर हेर्छु र सम्झन्छु । तादी र त्रिशुली खोलामा क्रसरको पाइलो परेको करिबकरिब गणतन्त्रको घोषणा भएपछि हुनुपर्छ । यी खोलामा संचालन भएका क्रसरले कतिलाई घाटा पुर्याएको होला तर धेरै कमिसनखोर नेतालाई भने नाफा नै भएको छ । क्रसरतन्त्रको मनोमानीमा केही नेताहरुले चुनाव खर्च पनि जोहो गरे । यो हप्ता यही क्रसर सेरोफेरोमा ठूलो रहस्य सहितका मतहरु पनि बाहिरिए । अहिलेसम्म गुमनाम भएका क्ररसरका लुट, झुट र यर्थाथका कथाहरुलाई बाहिर ल्याउन सहयोग गर्ने कार्यक्रम त्यो होला भनेर सायदैले अनुमान गरेका थिए होलान् । यो पटक नुवाकोटमा स्थानीय सत्ताको क्षेत्राधिकारमाथि प्रशासनले हस्तक्षेप गरेको भनेर ठुलो चिन्ता जाहेर भयो । यही छलफल अदालतको आदेश ठूलो कि जनप्रतिनिधिहरुको चाहना भन्ने विषयले गरम रुप लिँदा जिल्लाका बडा कम्युनिस्टहरूको लाज छोप्ने वस्त्र नराम्ररी च्यातियो ।

Shivapuri rural municipality awareness message jalapanews

दृश्य २०७७।६।५ गतेको नदी तथा खनिजजन्य पर्दाथको उत्खनन, व्यवस्थापन तथा उपयोग सम्बन्धी जिल्लास्तरीय समन्वय बैठकको हो । यो बैठकमा माननीय हिरानाथ खतिवडा, बिदुर नगरपालिकाका मेयर सन्जुु पण्डित,नुवाकोट नेकपा जिल्ला सचिवालय सदस्य बुद्धि प्रधान लगायतका गन्यमान्यहरूको राम्रै उपस्थिति थियो । अदालतको आदेश पालना गर्दै प्रमुख जिल्ला अधिकारीले क्रसर उद्योगीहरुलाई नियमन गराउन खोज्दा नुवाकोट जिल्लाका जनप्रतिनिधीहरुबाट झंकनाथ ढकालमाथि अनर्गल आरोपहरु लगाए र सरुवाको धम्की समेत दिए । नुवाकोटमा भएको यो एउटा प्रतिनिधि घटना मात्रै हो । यो घटनाको दृश्य हेर्दा सत्ताको टाट्नोमा घाँस खाएर मैमत्त भएका साँढेहरुलाई ढकालको काम गराइले राम्रै नत्थी लागेको अनुमान गर्न सकिन्छ ।

सरकारी नेकपाका देशैभरिका दोस्रो र तेस्रो तहका नेताहरू यतिखेर गुटको फेरो समातेर स्वार्थको स्वाद चाख्ने काम गरिरहेका छन् । नुवाकोट पनि यसको अपवाद छैन । चुनावताका कोही माननीयहरुले आफनो ऋण तिरिदिने सर्तमा पार्टीका इमान्दार कार्यकर्तालाई पाखा लगाएर चैतमा उदाएकाहरुलाई टिकट प्रदान गरेको कुरा पनि सर्वविदितै छ । यसले पनि नेताहरु कति भ्रष्ट छन् भन्ने कुराको झल्को दिन्छ । यही क्रसरको कथा बोकेर कोही नुवाकोटका नेताहरु झलनाथ,माधब नेपाल र प्रचण्ड भएको ठाँउमा किन पुगेको होला प्रष्ट छैन र भनेको यो दौडधुप उदेश्य के को लागि भनेर लाज मान्नु पदैन भनेको जनप्रतिनिधी भए पछि ।

लुटपाट, भ्रष्टाचार र अपराधमा कुनै पक्षधरता हुँदैन , राजनीतिको चाहिँ हुन्छ भनिन्छ । जिल्लाका टोले चन्द्र शमशेरहरुको हर्कतले त्यही देखायो । उनीहरूले आफूलाई राजनीतिकर्मीको रुपमा नभै अपराधकर्मीको रुपमा प्रस्तुत गरेरै छाडे । वर्षको तीन महिना बाहेक नदीजन्य पदार्थको उत्खननमा कहिले रोक लगाइएको छ ? नदीजन्य कच्चा पदार्थको अभावले कुन चाहिँ आयोजना रोकिएको छ ? अनि जनताले चाहिँ कति सहुलियत पाएको छ ? मापदण्ड पुर्याएर क्रसर संचालन गर्न कहाँ र कहिले रोकिएको छ ? सत्ता र शक्तिको आडमा तिघ्रा देखाएर लुट्न पल्केकाहरुले जनप्रतिनिधिको आवरणमा प्रदर्शन गरेको हर्कत सुहाएन । गाउँ गाउँका सिंहदरवारका चन्द्र शमशेरहरु ! न्यायोचित मूल्य निर्धारण गर्नेगरी बहावलाई असर नपर्नेगरी बाँध बाँधेर वर्षामा कच्चा पदार्थ भण्डारण (संकलन) गर्ने , ढुंगा तथा बालुवा भएका तर उत्पादन र बसोवासका लागि अयोग्य स्थलहरुको पहिचान गरी आवश्यक कानुनी प्रक्रिया पुर्याएर उत्खनन र प्रशोधन गर्नेगरी आवश्यक ऐन कानुन बनाएर व्यवस्थित गर्न सक्छौ भने गर । सक्दैनौ भने चुपचाप बस । जथाभावी गर्ने क्रसर उद्योगमाथि प्रशासनले चालेको उचित कदमको विरुद्धमा यस्ता हर्कत नदेखाऊ ।

अन्त्यमा, आम नागरिक सचेत नभइकन कुनै पनि देश विकास र परिवर्तनको चरणमा प्रबेश गर्दैन । जबसम्म सचेत नागरिकहरुले राज्य र शाषकहरुबाट भएको अन्यायको पक्षमा आवाज उठाउने हैसियत राख्दैनन्, तबसम्म नेता नामका लुटेराहरुले यस्तै क्रसरले नदी दोहन गरे जसरी नै देश र जनतालाई दोहन गरिरहन्छन्, त्यसैले राम्रो कामको प्रशंसा र नराम्रो कामको खुलेर विरोध गरौँ । तिन बादका नाईकेहरुलाई बेलैमा चिनौ । स्थानिय जनप्रतिनिधिहरुको सम्पत्ति र आर्यश्रोतबारे सचेत ढंगले आवाज उठाउ । उनीहरुले प्रयोग गरेको आर्थिक सहजताबारेमा खोजतलास गरौ । राजनितिलाई अवधारण बनाएर कुनै पनि बन्द ब्यापारमा जनप्रतिनिधिहरुले घुसाएको स्वार्थ छानबिन गर्न सम्पत्ती शुद्धिकरण गर्ने बारे सार्वजनिक बहसको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्