छाडौ , अरुले के सोच्छन् ?
सम्झना मिश्र,
यस्तो लुगा लगाएर हिँड्नु र ? अरुले के भन्लान् ? घरबाहिर यसरी काम गर्नु र ? आफन्तले देखे लाज लाग्दैन ? पैदल हिँडेर कार्यलय जानु र ? चिन्नेहरुले देख्यो भने के सोच्लान् ?
कुनै संस्थामा काम गर्दै छौ भने के होला कस्तो होला सोच्न थाल्छौ । हामी जब कुनै पनि निर्णयक मोडमा हुन्छौं, स्वविवेकले निर्णय गर्न डराउँछौं । कुनैपनि निर्णय लिइरहँदा हामी आफ्नो मनलाई होइन, अरुको आँखालाई सोध्न थाल्छौं । अरुले के भन्लान् ? के सोच्लान् ? भनेर आफ्नो निर्णयबाट पछि हट्न थाल्छौं । जबकी हामीले आफ्नो लागि कुनै पनि काम गर्दैछौं वा निर्णय लिदैछौं भने त्यसमा आफ्नो विवेकको प्रयोग गर्नुपर्छ । आफुलाई के सहज लाग्छ, के राम्रो लाग्छ, के ठिक लाग्छ ? सोच्नुपर्छ । जब ‘अरुले के भन्छन् ?’ भनेर हामी डराउन थाल्छौं, हामी आफु चाहिँ अप्ठ्यारोमा फस्न पुग्छौं ।
अरुलाई हानी र्पुयाउने, अरुलाई असहज बनाउने, अरुलाई दुःख पुग्ने कुरामा भने सजग हुनैपर्छ । तर, नितान्त आफ्ना लागि लिइने निर्णयहरुमा अरुसँग डराउन वा हच्किनु किन ? अरुले आफ्नो बारेमा के सोच्छन् भन्ने कुरा महत्वपूर्ण होइन । खासमा त हामीले आफुलाई के सोच्छौं ? महत्वपूर्ण कुरा यो हो ।
हामी को हौ ? के हौ ? आफुले आफ्नै मूल्यांकन गर्नु उत्तम हुन्छ । अरुले आफुलाई कसरी मूल्यांकन गर्छन् भनेर सोच्न थालियो भने हामी आफु जस्तो हुनुपर्ने हो त्यस्तो हुँदैनौं । अरुले जस्तो सोच्दछन्, त्यस्तै हुने अभ्यासमा लाग्छौं । र, हरेकको सोंच फरक हुन्छ । हरेकले गर्ने मूल्यांकन फरक हुन्छ । संसारमा सय थरी मान्छे हुन्छन् । उनीहरुले सोचे जस्तो बन्न थाल्नुभयो भने तपाईंले आफ्नोपन गुमाउनुहुन्छ । त्यसैले हामीले लिने कुनैपनि निर्णयमा आफ्नो मन र विवेकको प्रयोग गर्नुपर्छ ।
जस्तो, हाम्रो आयस्रोत सीमित छन् । तर, घरमा कुनै सदस्यको विवाह गर्नुपर्ने भयो । यतिबेला हामीले विवाहको तयारी गर्दा आफ्नो आयश्रोत वा क्रय(क्षमता हेर्दैनौं । बरु, छिमेकी, आफन्त वा फलानोले के भन्छन् ? कसो गर्छन् भनेर सोच्न थाल्छौं ।
हामीले विवाहको लागि त्यही किसिमको तयारी गर्न सक्नुपर्छ, जो हाम्रो आर्थिक हैसियतले भ्याउँछ । अरुलाई देखाउने वा छिमेकीसँग देखासेखी गर्ने चक्करमा लागियो भने हामी ऋणमा डुब्न सक्छौं ।
कतिसम्म भने, हामी आफुले कुनै पहिरन लगाइरहँदा पनि सोच्छौं कि अरुले देखेर के भन्लान् ? उक्त पहिरनले आफुलाई कति सहज लागेको छ ? कति सुहाउँदो लागेको छ ? सोच्दैनौं । केवल सोच्छौं, यस्तो लुगा लगाएको देखेर अरुले के सोच्छन् ?
कुनै सानोतिनो उद्यम वा व्यापार गर्न मन लाग्यो । ठेलामा मम पानिपुरि बेचेर पनि काइदा कमाई हुन्छ । तर हामी यसकारण डराउँछौं कि, अरुले देखेर के भन्छन् ?
कतिपय व्यक्तिहरु सामान्य घरायसी काम गर्न हच्किन्छन् । कुचो लगाउन लजाउँछन् । लुगाफाटो धुन लजाउँछन् । जुठो भाँडा माझ्न लजाउँछन् । किन ?
किनभने उनीहरु सोच्छन, ‘अरुले देख्यो भने के होला के भन्ला???’
यसरी ‘अरुले के सोच्छन् ?’ भन्ने डरले नै हामी धेरै कुरा लुकाउँछौं । गर्नुपर्ने काम गर्दैर्नौं । अरुको सोचाई अनुरुप आफुलाई बदल्ने प्रयत्नमा बुख्याँचा जस्तै बन्न पुग्छौं । अनि न अरुको चित्त बुझाउन सक्छौं, न आफ्नोपन कायम राख्न नै सक्छौ ।
एउटा यस प्रकारको चित्र छ । एक दम्पती खच्चडमा चढेर कतै गइरहेका छन् । बाटोमा रमितेले देख्छन् र टिप्पणी गर्छन, ‘कस्ता निर्दयीहरु, एउटा निर्धो जनवारमा दुई( दुई जना चढेका छन् ।’
बटुवाको कुरा सुनेपछि खच्चडमा चढेकी श्रीमती ओर्लन्छन् । श्रीमान् चढेको खच्चडलाई डोर्होयाउन थाल्छन् । बाटोमा कसैले देख्छन् र भन्छन ‘हेर त, बुढा पनि कस्ता ? आफुचाहिँ आनन्दले खच्चडमा चढेर बुढीलाई हिँडाउने ?’
यस्तो कुरा सुनेपछि श्रीमानले आफ्नी श्रीमतीलाई खच्चडमा चढाउँछन् । र, आफु हिँड्न थाल्छन् । बाटोमा फेरी कसैले उनीहरुमाथि टिप्पणी गर्छन, ‘कस्ती बुढी ? हेर त बिचरा बुढालाई हिँडाएको ?’
यस्तो सुनेपछि श्रीमती पनि ओर्लन्छन् । उनीहरु दुबै खच्चडलाई डोर्होयाउँदै हिँड्छन् । तर, यति गर्दापनि कहाँ अरुको चित्त बुझ्छ र ?
बाटोमा मान्छेहरु गिज्याउन थाल्छन, ‘कस्ता मूर्ख बुढाबुढी ? खच्चड हुँदाहुँदै पनि त्यसमा नचढेर डोर्होयाउँदै हिँडिरहेका छन् ।’
अरुले के भन्छन् ? के सोच्छन् भनेर सोही अनुसार गर्न थालियो भने उही दम्पतीको हालत हुन्छ । त्यसैले अरुले के भन्छन् के सोच्छन् भन्ने कुरा छाड्नुहोस् । तपाईं आफुले के सोच्नुहुन्छ ? मनन गर्नुहोस् । आफ्ना लागि जे सहज, सरल लाग्छ त्यही गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्