अनि भुल्छन यी बिर्खेहरुलाई
रुपा थापा
गाउबाट एक मुठ्ठी सपनीको त्यान्त्रो बोकेर
हातमा एउटा नाम्लोसँगै
ऊ जुन दिन शहरमा झरयो
त्यही दिन देखि उसले
येा शहरलाई आफ्नो ठान्यो
कुनै न कुनै दिन यो शहरले पनि
उसलाई आफ्नो ठान्ने आसमा
ऊ चुप चाप उठाइरहयो गर्हुङ्गा ती भारिहरू
सपनी त केवल एक छाक पेट भर्नु थियो
हुर्कदै गरेकि उस्की भुन्टीको लागि
स्कुल व्याग र पोशाक किनिदिनु थियो
शहर झरेपछि उसले बुझयो
यहा त शिक्षाको पनि व्यापार हुदो रहेछ
उसको भुन्टी र उसका साहुका सन्ततिले पढ्ने पाठशालाका
ती कितावहरू फरक हुदा रहेछन
व्यापारको लागि बनेको त्यो पाठशालामा
पैसाका कम्पाउण्डले घेरिएका रहेछन
उसका भुन्टी र मालिकका सन्ततिका बाटाहरू
भारी बोक्दा बोक्दै पाखुरिको बल रित्तिए पछि
विर्खे लड्छ उपचारको आसमा
सरकारी अस्पतालको चौरमा
जीवन भर भारी बोकेर पनि
महङ्गो अस्पतालमा तिर्ने फिस
उसले आफ्नो गोजीमा भर्न नसकेपछि
एक चोटि फिस्स मुस्कुराउँछ
आफ्नै नियतिले थिचेको त्यो गर्हुङ्गो भारिसँग
घुमाउदा घुमाउदै रिक्साका पाङ्गाहरुसँग
भास्सिएका पैतालाका रेखाहरुले
फेरि पनि ठडयाउन सकेन शहरमा
उसले आफ्नो सपनीको महलहरू
हातवाट सल्किदै गएको चुरोटको ठुटोसँगै
यो शहरको धुवाले भरिएका
उसका फोक्सोहरुलाई कहिले पनि
यो शहरले आफ्नो ठानेन
गगन चुम्वि महलमा थपिएको
त्यो कङ्किट जस्तै कहिल्ये सोधेन यो शहरले
उसका धड्किएका ती मुटुका धड्कनहरुलाई
विर्खे दाइ सन्चै छ नि तिमीलाई
बलेको छ नि आगो तिम्रो चुल्हाेमा
फेरि पनि स्वाभिमानी बनेर झुपडीबाट
चुप चाप चिहयाउछन बिर्खे दाइ यो शहरलाई
हामीले बनाएका ती गगन चुम्विमहलहरुले
यो बिर्खेलाई भुलेर के भो त
ती मालिकहरुले हाम्रा सपनीहरुलाई भुलेर के भो त
यो शहरले यो बिर्खेलाई कहिले आफ्नो नठानेर के भो त
भुन्टी तैले कहिले पनि कुल्चिएर नहिड है
यो बिर्खेको सपनीहरुलाई
ती मालिकहरुका बुटले
येा बिर्खेकेा सपनीहरुलाई कुल्चेर हिडे जस्तो
नभुल्नु है भुन्टी तैले
हाम्रा हाड छाला घोटिएर ठडिएका
ती मालिकका महलहरुले सजिलै भुलेपनि
यो बिर्खेका पोखिएका पसिनाका गन्धहरुलाई
बस तिमीले सोध्नु भुन्टी यो शहरलाई
यहा मजदुर र मालिक बीचको खाल्टाहरू
कहिले पुरिन्छ यो शहरमा
अनि ती खाल्टाहरुलाई पुर्नको लागि हिडेका पाइलाहरू
फेरि किन हराउछन
अनि भुल्छन यी बिर्खेहरुलाई
प्रतिक्रिया दिनुहोस्