१२ श्रावण २०८१, शनिबार
Logo

अब देशसँग कुनै गुनासो छैन’: कोरोनाभाइरसका कारण चीनबाट उद्धार गरिएका नेपालीको एक महिनाको अनुभव

कोरोनाभाइरस प्रभावित चीनको वुहान शहरबाट शनिवार राति १० बजे नेपाल उडेका नेपालीहरूले आइतवारको सूर्योदय भक्तपुरको खरिपाटीबाट देखे।

‘जैविक युद्धभूमि’बाट फर्किएको ठान्ने तिनैमध्येका एक सौरभ लुइटेलले स्वदेश फर्कँदाको अनुभूतिलाई शब्दमा व्याख्या गर्न नसकिने बताउँछन्।

आइतवार बिहान उनले बीबीसी न्यूज नेपालीलाई भने: “मलाई अब कुनै गुनासो छैन।”

“त्यहाँ बसेर उद्धार भइदिओस् भन्ने कामना गरिरहे पनि गरिब देशले गर्न सक्ने वा नसक्नेमा हामी ढुक्क थिएनौँ।

Shivapuri rural municipality awareness message jalapanews

उनका अनुसार देश फर्कन पाएकोमा १७५ जना नेपालीहरू यति धेरै खुसी थिए कि विमान उड्दा र अवतरण गर्दा सबैले अनायसै लामो ताली पिटेका थिए।

नेपाल वायुसेवाको विमानमा सबैका कुर्सीमा बदाम, केक, केरा र जुस राखिएका थिए।

त्यो देखेर समेत धेरैका आँखा निकैबेर रसाएको लुइटेल बताउँछन्।

‘फिल्मी सङ्कट’को केन्द्रमा

यसअघि मानिसमा कहिल्यै नदेखिएको कोरोनाभाइरसको सङ्क्रमण रोक्न भन्दै झन्डै तीन साताअघि उनी बसेर पढिरहेको सहर अचानक बन्द गरियो।

त्यो समय चिनियाँ नव वर्ष समेत पर्ने वसन्त पर्व सुरु हुने बेलाको छेकोमा थियो।

करौडौँ चिनियाँहरू पारिवारिक पुर्नमिलका लागि यात्रा गर्न सुरु गर्दै थिए।

मानिसहरू आफ्ना व्यावसायिक कर्मलाई थाँती राख्दै रमाउन थालिसकेको त्यो समय नेपालीले मनाउने दशैँ झैँ हुन्थ्यो।

लुइटेलले सुनाए: “त्यसबेला सरकारी बिदा मात्र नभएर सामान्य पसलहरू समेत बन्द हुने हुँदा हामीले समेत कम्तीमा १० दिनका लागि खानेकुरा किनेर राखेका थियौँ।”

तर सहरको स्वभाविक शून्यता अहिले महिना दिन पुग्न लाग्दा झन् अनिश्चिततातर्फ मात्र गइरहेको देखिएको उनले बीबीसीलाई सुनाए।

सुपरमार्केटहरू समेत खुलेनन्। खानेपानीको समस्या हुन थाल्यो।

लुइटेल भन्छन्: “समय अगाडि नै नबढेजस्तो हुने। अझ उद्धार हुने आश्वासन पाएर पर्खनुको पीडा त झनै कठिन हुँदो रहेछ।”

त्यसबीचमा अन्य देशहरूले आफ्ना नागरिकलाई फिर्ता लैजान थाले।

समाचारमा प्रकोपबारे झन् त्रासदीपूर्ण र अन्यौलग्रस्त समाचार देख्दा अत्तालिने मनोवैज्ञानिक समस्या पनि पीडादायी भएको लुइटेलको अनुभव छ।

आशा

फेब्रुअरी २४ सम्म वुहान र आसपासका विश्वविद्यालमा बिदा दिइएको छ। त्यसपछि नयाँ सूचना आउने बताइएको छ।

लुइटेल चीनको वुहानमा कृषिमा स्नातकोत्तर गर्दै छन्।

थुप्रै विश्वविद्यालयले सङ्कट लम्बिने भन्दै अझै ‘केही समय’ अनलाइनबाट कक्षाहरू सञ्चालन गर्ने बताउन थालेको लुइटेल बताउँछन्।

“मुख्य कुरा घरबाट बाहिर निस्कने माहोल नै नभएपछि बाँकी कुरा गौण हुँदा रहेछन्। वुहान फिल्ममा मात्र देखिने भूतका सहर जस्तो बनेको छ।”

नेपाल फर्कन खोजेपनि वुहानमै अवस्था सुध्रिएका कि भन्ने आशा समेत धेरैले गरेका थिए।

तर प्रतिकूलताहरू बढिरहेपछि ती सबैले एउटै आवाजमा ‘घर फर्कने’ इच्छामात्र पोखिरहे।

कुनै बेला त्यसमा आक्रोश मिसियो, कुनैबेला भावना र कुनैबेला घुर्की।

“सबैतिरबाट बिग्रिएको अवस्थामाझ हामीलाई घरमात्र आफ्नो हुनसक्थ्यो,” लुइटेल भन्छन्।

यस सङ्कटले आफूलाई जीवनमा धेरै कुरा सिकाएको लुइटेल बताउँछन्।

घर फर्कने बस चढेपछि

प्रकृतिको अगाडि मानिसहरू कति कमजोर छन् र आशावादी हुनुको शक्ति कति धेरै छ भन्ने बोध उनलाई भयो।

“दिनभर कोठामा थुनिएर बस्दा दिमागमा यस्तै कुरा मात्रै त खेलिरहे।”

सङ्कटमा सबैको स्वर समेत एउटै हुँदो रहेछ।

काठमाण्डू उत्रिएसँगै सबैले आफ्ना परिवारसँग ‘अब चिन्ता नलिनु’ भन्दै फोन गरेको उनले सम्झिए।

खरिपाटी बास

खरिपाटीमा आइतवार उनीहरूको रगत र खकारको नमूना परीक्षण हुने बताइएको छ।

त्यहाँ दम्पतीहरूलाई एउटा कोठा र अन्यलाई एउटा कोठमा तीन जनालाई राखिएको छ।

सुरक्षाकर्मीको नेतृत्वमा त्यहाँ उनीहरूको स्याहार भइरहेको छ।

उनले आइतवार बिहानको ब्रेकफास्ट खाएपछि भने: “खाना तयार पारेर छाडिदिनुहुन्छ तर कोही देखिनुहुन्न। त्यो ठिक छ। सबैको जीवन मूल्यवान छ।”

एक्लिएर बस्दा मन भुलाउन भन्दै क्वारन्टीनमा इन्टरनेटजस्ता थुप्रै सुविधाहरू राखिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड छ।

इन्टरनेट सुस्त भए पनि लुइटेललाई अब त्यस्ता कुरामा गुनासो छैन।

“मैले आशावादी हुन सिकेको छु, सकारात्मक हुन सिकेको छु।”

बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्