१२ श्रावण २०८१, शनिबार
Logo

नेपालमा कोरोना भाइरस भेटिएको पुष्टि

नेपालमा पनि एक जना व्यक्तिमा कोरोना भाइरस भेटिएको पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्ने यसबारे जानकारी दिएको हो।

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शंका लागेर नमूना परीक्षणको लागि हङकङ पठाएको थियो।

सो बिरामीको रिपोर्ट हिजो आएको र बिरामीमा कोरोना भाइरसको संक्रमण भेटिएको अस्पतालले पुष्टि गरेको हो।

Shivapuri rural municipality awareness message jalapanews

चीनको हुवान सहरबाट फैलिएको सो भाइरसले हालसम्म चीनमा २६ जनाको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।

दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि यस सङ्क्रमणका बिरामी भेटिएका छन्।

के हो कोरोना भाइरस?

बिल्कुलै नयाँ प्रकारको यो रहस्यमयी भाइरस गत डिसेम्बरमा पत्ता लागेको हो। बिरामीबाट लिइएको भाइरसको नमूना जाँचेर चिनियाँ अधिकारी र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस भनेर पहिचान गरेका हुन्।

कोरोना भाइरस विभिन्न प्रकारका हुन्छन्। यसमध्ये छ प्रकारका भाइरस मात्र मान्छेमा संक्रमण हुने मानिन्थ्यो। यो नयाँ प्रकार पत्ता लागेसँगै यसको संख्या सात पुगेको छ।

नयाँ भाइरसको ‘जेनेटिक कोड’ विश्लेषणबाट यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरू कोरोना भाइरसको तुलनामा धेरै भएको पत्ता लागेको छ। यो कोरोना भाइरसकै एक प्रकार ‘सार्स’ जत्तिकै शक्तिशाली भएको बताइएको छ।

सार्स धेरै खतरनाक कोरोना भाइरस हो। चीनमा सन् २००२ मा ८ हजारभन्दा बढी मान्छे यसबाट संक्रमित थिए। ७७४ जनाको मृत्यु भएको थियो।

यो नयाँ भाइरसको संक्रमण हुँदा सामान्य रूघाखोकीका लक्षण देखा पर्छन्। असर गम्भीर भए मृत्यु पनि हुन सक्छ।

युनिभर्सिटी अफ एडिनबराका प्राध्यापक मार्क वुलहाउसको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ, ‘जब हामीले यो नयाँ कोरोना भाइरस देख्यौं, यसको असर यति धेरै खतरनाक किन छ भनेर बुझ्न खोज्यौं। सामान्य रूघाको लक्षण देखाउने भए पनि यसको असर त्यतिमै रोकिँदैन। यो चिन्ताको विषय हो।’

यो भाइरस कुनै एक प्रजातिको जीवबाट अर्को प्रजातिमा सर्ने अनुसन्धाताहरू बताउँछन्। यसरी सर्दैसर्दै यो मान्छेसम्म पुग्छ। यो कसरी र कस्तो अवस्थामा सर्दै आउँछ भन्नेबारे हालसम्म कुनै जानकारी छैन।

नोटिङ्गम युनिभर्सिटीका जीव वैज्ञानिक जोनाथन बलका अनुसार यो बिल्कुलै नयाँ भाइरस भएकाले धेरै जानकारी लिन सकिएको छैन। जनावरबाट सरेर मान्छेमा आएको उनको अनुमान छ।

यसअघि आतंक फैलाउने सार्स भाइरस पनि बिरालो जातको जनावरबाट मान्छेमा सरेको थियो।

कोरोना भाइरसबाट कसरी बच्ने ? हेर्नुस् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयार पारेको पर्चा

सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस्