२५ आश्विन २०८३, आईतवार
Logo

माटोबाट उठेका माटोहरू

रुपा थापा

माटोबाट उठेका माटोहरू

माटोबाट उठेका ती माटोका घैटाहरू

जाे आफूलाई धर्तीकै विवेकशील प्राणी ठान्छन्।

Shivapuri rural municipality awareness message jalapanews

जसकाे हातमा क्षेप्यास्त्र मात्र छैन

तिनका मुटुमा लोभले कहिल्यै नअघाउने

कराैँतीको दाँत पनि छ

र धुवाँभित्र निस्सासि रहेको

येा धर्तीको अन्तिम पुकार पनि छ।

तिनीहरूका अपराध गन्नलाई

कुनै अदालत चाहिँदैन

केवल आफ्नै शव बोकेर

समुद्रतिर बगिरहेका ती नदीहरूलाई निह्याले पुग्छ

समुद्रको पिँधमा थुप्रिएका

ती पलास्टिकका चिहानलाई निह्याले पुग्छ

र सामुन्द्रिक जीव जन्तुका

जालमा अल्झिएका आँखाहरूमा खोजे पुग्छ

तिनीहरूका सभ्यताकाे मुखौटालाई।

म बारम्बार माफी माग्छु र मागी नै रहन्छु

येा धर्तीसँग

अनि हीमाल,नदी, पहाड र ती मौन जीवजन्तुहरूसँग

यस्ताे क्रृर समयमा

मान्छे भएर जन्मिएकोमा मात्र होइन

येा धर्ती माथिकाे अत्याचारमा पनि

मौन भएर बस्ने

तमाम ती अत्याचारीहरूकाे तर्फबाट।

केही खरवपती डायनासाेरहरू

र केही सत्ताका साँढेहरू

जाे पृथ्वीलाई आफ्नाे वृता ठान्छन्

र जन्मिएकाे माटेा

अनि येा धर्ती नै सर्लक्क निलेर

अर्को ग्रहमा भाग्ने

हास्यास्पद अनि काएरताले भरिएका सपनाहरू देखाउँछन्।

तर किन बिर्सन्छन् तिनीहरूले

माटोबिनाको मान्छे त

केवल एक अस्थिपञ्जर हो

अनि पानी बिनाको शरीर

र हावाबिनाको फोक्सो त

केवल केही समय अड्किएकाे

तिनका खाेक्रा अहङ्कारकाे बेलुन न हाे।

ए मान्छे सुन त

तिमी माटोबाट उठेका हाै

र अन्ततः माटोमै फर्किनु पर्छ

त्यसैले धर्ती जित्ने सपना होइन

उसलाई जाेगाएर अनन्त सम्म बाँच्न देउ

हिमाललाई हिउँसँगै हाँस्न देउ

र नदीलाई उसकै बाटेामा बग्न देउ।

येा धर्ती मरे

मान्छे बच्दैन

तर मान्छे हराए पनि

धर्ती त फेरि पनि बाच्न सक्छ।

त्यसैले माटोबाट जन्मिएका ए माटाहरू

यो धर्ती र माटेालाई बचाएर भन

यो धर्ती तिम्रो मात्रै होइन

येा धर्ती तमाम ति जिवजन्तु र वनस्पतीकाे पनि हाे।

याद राख्नु

माटोबाट उठेर हिडेका हामी

अन्ततः माटोमै फर्किनेछौँ।

तर प्रश्न यही छ

हामी फर्किंदा भविष्यका लागि

कस्तो धर्ती छोडेर जादैछौँ?

र भविष्यले हामीलाई सम्झिँदा

माटो सम्झनेछन् कि

माटोको अन्तिम चिहान?

प्रतिक्रिया दिनुहोस्