१२ श्रावण २०८१, शनिबार
Logo

लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व सङ्कलन

रसुवा -रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेसँगै राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ । कोभिड–१९ का कारण लामो समयसम्म नाकाबाट आयात–निर्यात कम हुँदा प्रभावित भएको राजस्व सङ्कलन अहिले भने बढेको हो । 

रसुवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व सङ्कलन भएको छ । कार्यालयले साउनदेखि चैतसम्ममा पाँच अर्ब १३ करोड १७ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा पाँच अर्ब ६४ करोड ९९ लाख १५ हजार रुपैयाँ सङ्कलन गरेको छ । पछिल्लो समय चिनियाँ पक्षले आयात बढाएका कारण राजस्व सङ्कलनमा वृद्धि भएको कार्यालयका सूचना अधिकारी भरतराज अधिकारीले बताउनुभयो । 

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण २०७६ माघ १५ देखि २०७७ जेठ २२ सम्म रसुवागढी नाका बन्द भएको थियो । अहिले एकतर्फी रूपमा नाका सञ्चालन भइरहेको छ । 

आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव २०७३/७४ मा दुई अर्ब ९२ करोड १८ लाख दुई हजार, आव २०७४/७५ मा चार अर्ब ५९ करोड २३ लाख १९ हजार, २०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार, आव २०७६/७७ मा आठ अर्ब २७ लाख ७७ हजार र गएको आर्थिक वर्ष २०७७/७८ मा तीन अर्ब ५४ करोड २७ लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्क छ ।

Shivapuri rural municipality awareness message jalapanews

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, विद्युतीय सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामान आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुढा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातका लागि अनुमति दिएको छैन ।

चीनले रसुवगढीलाई अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दुरी पार गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्