१२ श्रावण २०८१, शनिबार
Logo

सामाजिक सञ्जालले बालबालिकामा पार्ने : सकारात्मक र नकारात्मक प्रभाव

–चिरञ्जीवी नेपाल

कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरू आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो वेवसाइट एवं इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधन हो । यो समूदायमा आधारित सामग्री आदानप्रदान गर्ने सञ्चार च्यानल भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो ।

फेसबुक, युट्युब, भाइबर, ट्वीटर, आदि सामाजिक सञ्जालका उदाहरण हुन् । यो खासगरी कम्प्युटर (ल्यापटप वा डेस्कटप) र मोबाइल (स्मार्टफोन वा ट्याब्लेट) जस्ता उपकरणमा इन्टरनेट जडान गरी प्रयोग गरिन्छ । यसको प्रयोगको दायरा धेरै फराकिलो छ । हरेक व्यक्तिले हरेक क्षेत्रमा प्रयोग गर्न सकिने सरल प्रविधि भएकाले यो अहिले मानिसको जीवनसाथी जस्तै बनेको छ । विशेषगरी वर्तमान समयमा बालबालिकाहरू पनि सामाजिक सञ्जालबाट प्रभावित छन् । कानुनी रूपमा अठार वर्ष उमेर नपुगेका व्यक्तिलाई बालबालिका भनिन्छ ।

कुनै पनि कुराको फाइदा र बेफाइदा हुन्छ । सदूपयोग गरे राम्रो नतिजा आउँछ भने दूरुपयोग गरेमा दूष्परिणाम देखा पर्छ । सामाजिक सञ्जालले गर्दा बालबालिका जाँगरिला, सिर्जनशील र रचनात्मक बन्दै गएको पनि देखिन्छ । यतिखेर नेपालमा बालबालिका प्रायःको हात र साथमा मोबाइल भएको र सबैले आफ्नो क्षमता, योग्यता र दक्षताअनुसार फाइदा उठाइरहेको र आइ.टी तर्फ आकर्षण बढ्दै गइरहेको देखिन्छ । पछिल्लो समय कोरोना भाइरसले गर्दा विश्वभरका सतप्रतिशत विद्यार्थी बालबालिकाहरू विद्यालयको पठनपाठनबाट वञ्चित हुन पुगे । अझै पनि कतिपय बालबालिकाहरू त्यही चपेटामा छन् । यस्तो अवस्थामा पनि घरमै बसीबसी आफ्नो पठनपाठनलाई सुचारू गर्न सहयोग गर्नु सामाजिक सञ्जालले बालबालिकालाई पारेको सकारात्मक पक्ष हो ।

Shivapuri rural municipality awareness message jalapanews

ज्ञानका भोका विद्यार्थीहरू तथा बालबालिकाका लागि सामाजिक सञ्जालका साधनहरू निकै प्रभावकारी सावित भएका छन् । विभिन्न सफ्टवेयर मार्फत आफ्ना कक्षाकार्य र गृहकार्यहरू ठीकसँग समयमा नै सम्पन्न गर्न सक्षम बनाइदिएको छ । सामाजिक सञ्जालबाट विद्यार्थीहरूले अथाह ज्ञान र जानकारी पाउन सक्दछन् ।
बालबालिकालाई शैक्षिक गतिविधिमा आवश्यक पर्ने महत्वपूर्ण कागजात, फोटो एवं भिडियो तुरुन्तै आदानप्रदान गर्न पनि यसको प्रयोग गरिन्छ । आफ्ना विचार भावना राख्न सजिलो हुने, सारा विश्वलाई एउटै गाउँँमा ल्याउन सहयोग पुग्ने भएकाले पनि बालबालिकाका लागि सामाजिक सञ्जाल पठनीय बन्न पुगेको छ । अध्ययन अनुसन्धान एवं लेखन कार्यमा सघाउ पुग्ने माध्यमका रूपमा पनि सामाजिक सञ्जाललाई लिन सकिन्छ ।

सामाजिक सञ्जालमा बढ्दै गएको विकृति, विसङ्गति हेर्दा दिक्क लाग्दो अवस्था पनि छ । भनिन्छ जुनमा पनि दाग हुन्छ त्यस्तै सबै विषयका सकारात्मक वा नकारात्मक दुवै पक्षहरू रहने गर्दछ्न् । बालबालिकाका लागि वरदान सावित सामाजिक सञ्जाल नकारात्मक पक्षले गर्दा अभिसाप पनि बन्न सक्दछ । यसको अत्यधिक प्रयोगले गर्दा मानसिक तनाव घटाउने होइन, बढाउने गर्दछ । बालबालिकामा मानसिक तथा शारीरिक दूष्परिणाम ल्याउन सक्छ । अति सर्वत्र वर्जयेत भनिन्छ । नेपाली उखानै छ, ‘गुलियो चिनी पनि बढी खाएमा तितो हुन्छ । सामाजिक सञ्जालमा बढी समय खर्च गर्ने बानीले बालबालिकाका नेत्रमा समस्या देखा पर्दछ । सामाजलाई हानी नोक्सानी विषयवस्तु अश्लील भिडियो तथा फोटो खिचेर अपलोड गर्ने र ती त्यस्ता सामग्रीहरूले उनीहरूमा नकारात्मक सोचाइ पैदा गर्नसक्छ । अध्ययन अनुसन्धानको साधनभन्दा मनोरञ्जनको साधनको रूपमा प्रयोग गर्ने बानीले बालबालिकालाई यसले नकारात्मक प्रभाव पारिरहेको छ ।

बालबालिकाको जीवन माटो हो भनिन्छ । उनीहरूले सामाजिक सञ्जालबाट निकै राम्रा ज्ञान वर्द्धक उत्कृष्ट कुरा सिकेर आफ्नो जीवनलाई सार्थक पनि बनाउन सक्दछन् । विषझैँ फैलिएको सङ्क्रामक महामारी रोगजस्तो बनेको निष्कृष्ट कुराहरू सिकेर, देखेर, पढेर जीवनलाई निरर्थक पनि बनाउन सक्दछन् । यो ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भनेजस्तो बालबालिकाको ध्येय, ध्यान र दृष्टिकोणमा भर पर्ने कुरा हो ।

बालबालिका भन्नाले निक्कै सानो उमेरका केटाकेटीहरू हुन् । भनिन्छ बालबालिकाहरु भविष्यका कर्णधार हुन् । उनीहरूको सर्वाङ्गिण विकास बिना देश विकासको परिकल्पना गर्नु निरर्थक हुन्छ । बालबालिका देशका भावी निर्माता हुन् । देशका भावी निर्मातालाई गुण र दोष छुट्याउन नसक्ने उमेरमा सामाजिक सञ्जालको नकारात्मक पक्षका कारणले दूष्परिणाम ल्याउनु उनीहरूका लागि न्यायोचित हुँदैन । तसर्थ उनीहरूलाई सामाजिक सञ्जालको प्रयोगमा निगरानी गर्दै यसका सबल पक्षहरूमा मात्र जोड दिलाउनुपर्छ । सामाजिक सञ्जाल जीवन पद्धति नै बनेको अवस्थामा यसलाई जीवनोपयोगी बनाउन सबै तह र तप्काबाट कोसिस गर्नु पर्दछ । समयले दिएको अवसरलाई सही उपयोग गर्नु र गराउनु आजको आवश्यकता हो ।

(लेखक चिरञ्जीवी नेपाल पत्रकारिता र नेपाली विषयमा स्नातकोत्तर विद्यार्थी एवं बूढानीलकण्ठ–१३ स्थित पिक प्वाइन्ट एकेडेमीका शैक्षिक संयोजक एवं नेपाली विभाग प्रमुख पनि हुन् ।)

प्रतिक्रिया दिनुहोस्