किन हार्ने ? : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनाेट गर्दा पक्षधरता विना छनाेट गर्न सुझाव दिनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले मङ्गलबार काठमाण्डौमा गरेको खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पक्षधरता विना नै प्रशिक्षक छनाेट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो । विगतमा जित्न सक्ने खेलाडी छनाेटमा नपरेका गुनासो आएको दृष्टान्त दिँदै उहाँले पदाधिकारी र छनाेटकर्ताहरूलाई तालिमदेखि खेल प्रतियोगितासम्मका खेलाडी छनाेटमा भेदभाव नगर्न सुझाव दिनुभयो । उहाँले गएकाे वर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको भन्दै जुनसुकै खेल पनि पदक पाउने गरि खेल्नुपर्ने बताउनुभयो ।
सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धीको रूपमा लिएको ओलीले स्पष्ट पार्नुभयो । अभ्यासलाई जित्ने तहमा उठाउनु आवश्यक रहेको भन्दै उहाँले राम्रो प्रशिक्षक र आधुनिक प्रविधि प्रयोग गर्न सुझाव दिनुभयो । खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनि चर्चा हुने गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको बताउनुभयो । हार/जितको ठूलो महत्त्व रहेको भन्दै उहाँले नेपाल कहिले पनि नहारेको देश रहेकाले खेल पनि जितका लागि खेल्न आग्रह गर्नुभयो ।
ओलीले भन्नुभयो, लडाइँमा नहार्ने देश यत्रा–यत्रा डल्लासँग किन हार्ने ? खेल भन्या के हो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा बल हान्ने हो, त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्भु र भारत्तोलन, किन हार्ने ? अशान्ति जित र हारका आधारमा हुने भन्दै उहाँले भन्नुभयो, प्रतिनिधि सभा भङ्ग भइसक्यो चुनाव हुन लागिसक्यो, हुनुहुँदैन भनेर कराइरहेका छन्, त्यो जितका लागि हो ।
उहाँले जीतका लागि अति आवश्यक, अपरिहार्य र न्यूनतम आवश्यकता परिपूर्ति गर्ने गरि सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पछिल्लो समय आवश्यक सामान किन्नका लागि नभइ राम्रो देखिएको सामान किन्नका लागि ‘शपिङ’ मा निस्कने चलन देखिएको भन्दै उहाँले भन्नुभयो, चाहिएको कपडा, सामान किन्नका लागि होइन, राम्रो देख्यो उठायो । सरकारले शपिङका लागि होइन, चाहिएको सामान किन्नका लागि सहयोग गर्न सक्छ । गच्छेअनुसारको सहयोग गर्छ । आउँदाे वर्ष पहिलेको बजेटभन्दा बढेर आउँछ ।
नेपालको भूगोलअनुसारको खेल उत्पादन गरि प्रतियोगितामा त्यस्ता खेललाई सहभागी गराउन परिषद्लाई सुझाव दिनुभयो । खर्चको कमी भयो भनेर सहभागिता नै गुमाउने अवस्था आउन नदिनेतर्फ पनि सचेत हुन ओलीले सुझाव दिनुभयो । उहाँले खेल जित्ने गरि तयारी गर्नुको साथै अत्यधिक सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ सङ्क्रमणको जोखिम न्यून हुँदै आएको भन्दै अब अन्य क्षेत्र जस्तै खेलकुल क्षेत्र पनि छिटै पुरानै लयमा फर्कने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्रमा सरकारको सधैँ सहयोगी भूमिका रहने विश्वास दिलाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्