बाढीपीडित सञ्चालक, शिक्षक र विद्यालयलाई प्याब्सनको ६४ लाखभन्दा बढीको राहत सहयोग, विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले गत भाद्र १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सञ्चालक, शिक्षक, कर्मचारी र क्षतिग्रस्त विद्यालयहरूका लागि ६४ लाख रुपैयाँभन्दा बढीको ठूलो आर्थिक राहत सहयोग उपलब्ध गराएको छ ।
बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेका नुवाकोट र आसपासका क्षेत्रका पीडितहरूलाई मलम लगाउने उद्देश्यले प्याब्सनले उक्त राहत रकम वितरण गरेको हो ।
सञ्चालक र शिक्षक–कर्मचारीलाई नगद सहयोग
प्याब्सनका अनुसार बाढीका कारण आफ्नो परिवारका सदस्य गुमाएका, बेपत्ता भएका तथा घरबारविहीन हुन पुगेका २५ जना विद्यालय सञ्चालक एवं गुठियारहरूलाई प्रतिव्यक्ति नगद रु. ७५,००० (पचहत्तर हजार) का दरले राहत उपलब्ध गराइएको छ ।
यसैगरी, बाढीबाट प्रत्यक्ष प्रभावित बनेका ५८ जना संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई राहतस्वरूप प्रतिव्यक्ति नगद रु. ६०,००० (साठी हजार) का दरले आर्थिक सहयोग प्रदान गरिएको छ ।
क्षतिग्रस्त विद्यालयलाई २० लाख राहत
बाढीका कारण भौतिक संरचनामा पूर्ण रूपमा क्षति पुगेका दुईवटा विद्यालयहरूलाई पुनर्निर्माणमा सहयोग पुगोस् भनी प्याब्सनले प्रतिविद्यालय १० लाख रुपैयाँका दरले कुल २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। यसरी राहत पाउने विद्यालयहरूमा नुवाकोटको उत्तरगया पब्लिक इङ्गलिस स्कुल र त्रिशूली सामुदायिक बोर्डिङ स्कुल रहेका छन् ।
प्याब्सन नुवाकोटद्वारा २०० विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था
यसैबीच, प्याब्सन नुवाकोटले बाढीबाट विद्यालय भवन र शैक्षिक सामग्री पूर्ण रूपमा नष्ट भएका उत्तरगया पब्लिक इङ्गलिस स्कुल बेत्रावती, मोडर्न ट्रिनिटी, रामचन्द्र आधारभूत लगायतका विद्यालयका करिब २०० जना विपन्न तथा प्रभावित विद्यार्थीहरूका लागि विशेष प्याकेजको घोषणा गरेको छ।
ती विद्यार्थीहरूलाई तत्कालका लागि आवश्यक पाठ्यपुस्तक, स्टेशनरी र विद्यालय पोशाक (ड्रेस) लगायतका सम्पूर्ण सामग्रीहरू निःशुल्क उपलब्ध गराई निर्वाध रूपमा अध्ययन गर्ने वातावरण मिलाइएको प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले बताउनु भयो ।
साथै अध्यक्ष अधिकारीले विपद्को यस कठिन घडीमा राहत संकलन, व्यवस्थापन तथा वितरण कार्यमा सक्रियताका साथ सहयोग र सहजीकरण गर्नुहुने प्याब्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष, विपद् व्यवस्थापन समिति, विभिन्न प्रदेश तथा जिल्ला समितिहरू र देशभरका सम्पूर्ण प्याब्सनिष्ट महानुभावहरू प्रति आभार प्रकट गर्दै खुसी ब्यक्त गर्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्