१२ श्रावण २०८१, शनिबार
Logo

ओलीको कदमको सामना गर्छौँ, परिवर्तन बचाउँछौँ’-राजीनामा दिएका मन्त्रीहरू

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयप्रति असन्तुष्टि जनाएर सामूहिक राजीनामा दिएका सात जना मन्त्रीले प्रधानमन्त्री ओलीको कदमको सामना गर्दै परिवर्तनलाई बचाउने बताएका छन् । उनीहरूले यो कदमलाई असंवैधानिक भन्दै उपलब्धि बचाउन सङ्घर्ष र प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

सामूहिक राजीनामा दिँदै मन्त्रीहरूले आवेगमा राजीनामा नगरेको र प्रधानमन्त्री सच्चिनु हुन्छ कि भनेर राजीनामा दिएको बताएका छन् । सिंहदरबारमा रहेको कृषि समितिको हलमा भएको कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले संसद् विघटन गर्ने कदमलाई रोक्न पहल गरेको र यो कदम गैरसंवैधानिक भएको टिप्पणी गर्नुभयो ।

उहाँले देशको राजनीति र पार्टीमा आएको अकल्पनीय सङ्कटमा आफू नागरिकको साथमा रहेको समेत बताउनुभयो ।

त्यस्तै कृषिमन्त्री घनश्याम भुसालले नागरिकले स्थिर सरकार र विकासका लागि मत दिएको र अहिले नागरिकको सपनामा धक्का लागेको बताउनुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

उहाँले संसद् विघटनपछि देश दुर्घटनामा पुगेको बताउनुभयो । मन्त्री भुसालले देशको वामपन्थी आन्दोलनमा समस्या आएको र  यसको सामना गर्ने बताउनुभयो । यसको क्षतिपूर्तिका लागि सक्षम हुने पनि उहाँको भनाइ छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पनि आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीलाई नागरिकको मतको अपमान हुने गरी कदम नचाल्न सुझाव दिएको भन्दै यसले परिवर्तनमा धक्का पुगेको टिप्पणी गर्नुभयो । उहाँले संविधानमा भएका व्यवस्थाहरू बचाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रधानमन्त्रीको कदमप्रति असन्तुष्टि जनाउँदै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पुन, शिक्षामन्त्री पोख्रेल, वनमन्त्री बस्नेत, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय यादव र कृषिमन्त्री भुसालले सामूहिक राजीनामा दिनुभएको हाे ।

प्रतिक्रिया दिनुहोस्