१२ श्रावण २०८१, शनिबार
Logo

सशस्त्र प्रहरी पोस्टमाथि भारतीय पक्षले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते

झापाकाे दक्षिणी भारतीय सीमावर्ती क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिका ५ को डाँगी टोलामा रहेको सशस्त्र प्रहरी पोस्टमाथि भारतीय पक्षकाे नचिनेकाे समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका छन् ।

नेपाल–भारत सीमा क्षेत्रको सशस्त्र प्रहरी पोस्टमाथि शनिबार राति ९ बजेर १५ मिनेट जाँदा झण्डै ५० जनाको घरेलु हतियारधारी समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका हुन् ।
डाँगी टोलको पिलर नम्बर एक सय ५२ को तीन सय मिटर पूर्वमा रहेको अस्थायी सशस्त्र प्रहरी पोस्टमाथि एक्कासी आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गर्नुपरेको सीमा सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रहरी निरीक्षक (इन्सपेक्टर) साइमण श्रेष्ठले बताउनुभयो । झडपमा आक्रमणकारीले भाला, खुकुरी, रड, दाउलगायतका घरेलु हातहतियार प्रयोग गरेका थिए ।
हवाई फायरपछि आक्रमणकारी तितरबितर भएका र भारततर्फ नै भागेकाे प्रहरीले जनाएको छ । भारतीय तस्करले नेपालतर्फ मालसमान लान नपाएर प्रहरीमाथि आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यसअघि पनि झापा गाउँपालिकाको सीमा क्षेत्रमा भारतीय समूहले त्यसरी नै आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्