७ कार्तिक २०७८, आईतबार
Logo
Hotel Yangra Nuwakot Trishuli

आमाको समाजशास्त्र

  • हरिप्रसाद सिलवाल (विद्यावारिधि)
    आमा !
    मेरा असंख्य प्रयासहरु असफल भए ।
    समाचारका टिप्पणीहरु सुन्छु
    विमर्शका बहसमा भाग लिन्छु
    तसलीमाका उपन्यासहरु पढ्छु
    लैङ्गिक अध्ययनका निष्कर्षहरु हेर्छु
    यी सब तिमीलाई बुझ्ने प्रयासहरु
    मेरो समाजले दुस्प्रयासमा परिणत गरिदिन्छ ।
    आमा !
    म तिम्रो जीवनको समाजशास्त्र बुझ्न चाहन्छु
    तिमी जन्मँदा
    कस्तो थियो, हजुरबा र हजुरआमाको मानस धरातल ?
    छिमेकीका कानमा तिम्रो जन्मको समाचार कस्तो र कत्रो बन्यो ?
    कसरी पोखिन्थे
    तिम्रा कन्या, किशोरी र युवती जीवनप्रति समाजका आँखाहरु ?
    तिम्रो प्रसव कालमा खाना, नाना र छानाको अवस्था ?
    त्यो कालमा तिमीले पाउनुपर्ने मायाममताका मनहरु ?
    तिम्रो सुत्केरी व्यथा र सुत्केरी स्याहारका रीतहरु
    वा ती कहालीलाग्दा व्यथाका कथाहरु कस्ता थिए ?
    तिम्रा भावनाका नदी र समाजका पहाडहरु
    ती कति चोटि ठोकिए ?
    ती पहाडहरुलाई छेक्दै तिम्रा मनका भेलहरु कसरी बगे ?
    ती पहाडले पढाएका धर्म, संस्कारका घोचाहरुहरु विभत्सता !
    धेरै बुझ्न खोजेँ
    धेरै छाम्न खोजेँ
    तिमीले भोगेकी अन्ध शासनको बलात्कृत नारी जीवन
    तिमीले भोगेकी छोरी, बुहारी, नन्द, देवरानी, सासू र आमाको जीवन
    म कोखमा आउँदा खुब कमेरे ढुङ्गा खायौ रे आमा किन ?
    मलाई झोलुङ्गामा सुताएर मेला भर्न जाँदा
    दर्कने झरीमा पनि विनाघुम जान्थ्यौ किन ?
    तिमीले खेतका हिलामा धान रोप्दा
    आलीबाट पानीमा रगत किन बग्थ्यो आमा !
    हुन त
    तिम्रो समाजशास्त्रसितै मेरो जन्म भएको छ ।
    मैले बुझ्न नसकेको कुरा
    तिम्रो र मेरो समाजशास्त्र किन फरक छ आमा ?
    आफ्नो बाबुले तिमीलाई छोरीको दर्जामा हेरे ।
    मेरा बाबुले पत्नीको दर्जाका आँखाले हेरे ।
    त्यहाँ लपेटिएको परम्पराको समाजशास्त्र
    नारी र पुरुषको दर्जाको अलग अलग दृष्टिका दराजहरु ?
    तिमी गरिब थियौ आमा
    पेट भर्न, आङ ढाक्न र आराम गर्न ।
    तिमी गरिब थियौ आमा
    औषधी खान, घुम्न जान र स्वतन्त्रताले बोल्न ।
    तिमी निदाउँथ्यौ सधैँ थकानको बोझले
    तर तिम्रो जीवनमा
    सन्तोषको निद्राले कहिल्यै स्पर्श गरेन आमा ।
    यी सब बुझ्दछु आमा
    तर पनि म तिमीलाई बुझ्ने सामथ्र्य गुमाइरहेछु

तिमीले मलाई आमाको
जुन माया दियौ
के यो अरुले दिन सक्छ ?
के अन्त कतै भेटिन सक्छ ?
तिम्रो समाजशास्त्र गरिब भएर पनि
मेरा लागि तिमीभन्दा धनी
तिमीभन्दा महान्
तिमीभन्दा सर्वश्व
यो विशाल ब्रह्माण्डमा कहाँ के खोजुँ आमा ?
आमा म तिमीलाई बुझ्न चाहन्छु
तिमीमाथि शासन गरिरहने समाजशास्त्र बुझ्न चाहन्छु ।
मभित्र जिज्ञासा छन् अनगिन्ती
तिमीभित्रको हाँसो खोस्ने के छ आमा समाजमा ?
तिमीभिको मार्मिकता कुल्चने के छ आमा जीवनमा ?
अलिकति बुझेजस्तो लाग्छ–
धनी आमालाई गरिब बनाउने मान्छे पालेको रहेछ समाजले
सुखी आमालाई दुःखी बनाउने मान्छे पालेको रहेछ समाजले
वैज्ञानिक आमालाई अन्धविश्वासी बनाउने ढोङ पालेको रहेछ समाजले
हाँसिरहने आमालाई रोइरहने बनाउने विष खुवाएको रहेछ समाजले
अर्थात् मेरो समाजले मेरी आमालाई कुरुप पार्ने तत्त्वहरु पालेको रहेछ ।
कति आमाहरु छन् संसारमा
सबै आमाका नियत यस्तै हुन् हैन त ?
मेरो यो जुनी र आमाको जुनी
तर तिमीलाई बुझ्न असफल जस्तै छ
मलाई एकपटक फेरि जन्माऊ आमा
अनि त्यतिबेला
मलाई छोरी बनाइदेऊ है आमा !
म छोरी भएर मात्रै
आमाको समाजशास्त्र बुझन् सफल हुनेछु ।
उदेक लाग्छ
मैले त बुझिनँ बुझिनँ
किन नबुझेको होला
एउटी आमाले अर्को आमालाई,
नयाँ आमाले पुरानो आमालाई
पुरानो आमाले नयाँ आमालाई
किन बुझ्दैनन् समाजमा ?
यो बुझमाथिको अबुझपन
यो भावमाथिको अभाव कति छन् कति ?
मेरो समाज आमाहरुबीच तेर्सो परेर खडा छ ।
मेरो समाज बाङ्गो भएर खडा छ आमाहरु बीच
मेरो समाज अन्ध भएर खडा छ आमाहरु बीच
मेरो समाज अँध्यारो चेतना रोप्ने बिउ भएर खडा छ ।
यिनै यिनै तत्त्वहरुले
यिनै यिनै कुतत्त्वहरुले
आमाहरुलाई आमाहरुबाटै अदृश्य बनाउन सक्षम छ ।
अनि एउटा आमाले अर्को आमालाई किन सक्दैनन् बुझ्न ?
आमाको महान्ता ढाक्न र फटाउन
कसरी आयो होला
सासू र बुहारी अनि बुहारी र सासूको समाजशास्त्र ?
अज्ञानताका बीचमा एउटा कुरा थाहा भयो
आमालाई बुझ्न छोरी भएरै जन्मनु पर्छ ।
बुहारी भएर जीवन घिसार्नु पर्छ
आमा भएर बाँच्नु पर्छ ।
साथमा
सन्तानको माया बुझ्न पनि
आमा भएर बाँच्नु पर्छ ।
आमा भएर बाँच्न छोरी भएर जन्मनु पर्छ ।
आमा म जन्मेका सन्तान र नन्जमेका सन्तान दुवैलाई बुझ्न चाहन्छु
समग्र आमाको समाजशास्त्र बुझ्न चाहन्छु
आमा
म तिम्रो समाजशास्त्र बुझ्न चाहन्छु
त्यसकारण मलाई छोरी बनाएर जन्माइदेऊ ।

लेखक आरआर क्याम्पसका साहायक क्याम्पस प्रमुख हुनुहुन्छ ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्