२६ माघ २०८१, शनिबार
Logo

मेरो देशको नक्सा

  • विवेक ढकाल

छातिभरी ,

लिपु , लिम्पिया र कालापानी दुख्दा दुख्दै
सुस्ता र सन्दकपुर पोल्दा पोल्दै
कसरी भन्न सक्छु र म
तिमीले भन्दैमा
मेरो माटो- तिम्रै हो भन्न ।

दुखमा अलिअलि
साथ दियौं होला
सुखमा हात पनि त लिएका छौं ।
जब- जब
लक्ष्मणपुर र खुर्दलोटनमा
तिम्रा बुटहरू बज्रिन थाल्छ
यो देख्दादेख्दै
कसरी भन्न सक्छु र म
तिमीले भन्दैमा
ती जंगेपिलरहरू तिम्रै हुन् भन्न ।

मेरो –
सरकार कमजोर हुनसक्छ
दरबार सानो हुनसक्छ
केही गद्दारहरू बिक्न पनि सक्छ
यहिबेला
निस्लोट भै सुतेका इतिहासका पानाहरू
आउ च्यातिदिउँ भनौंला
तिमीले भन्दैमा
मेरा पूर्खाको विरता कसरी सक्छु र च्यात्न ।
र तिमीले भन्दैमा
कसरी सक्छु र म भन्न
टिस्टामा पखालेका
खुँडा र खुकुरीहरू – तिम्रै हुन भन्न ।

Shivapuri rural municipality awareness message jalapanews

सोचेका होलाउ
आश्वासनले ध्यान मोडिने छ
स्वाभिमान पैसामा जोडिनेछ
तर आजसम्म
सित्तैमा – एक ढिको नुन पनि खाएको छैन
सित्तैमा – एक धरो वस्त्र पनि लाएको छैन ।
प्रिय छिमेकी !
तिमीसँग
श्रम साटिन सक्छ – माटो साटिने छैन
पसिना बेचिन सक्छ – स्वाभिमान बेचिने छैन
त्यसैले भनिरहेछु
आऊ च्यातिदिउँ अब
असमान सन्धि र सम्झौताहरू
धोखा र भ्रमका दस्तावेजहरू
ओ छिमेकी !
तिमीले भन्दैमा
कहाँ सक्छु र म
मिचिएको लालपुर्जा सिरानीमा राखेर सुतिरहँन ।
त्यसैले यो बेला मलाई
लगाउनु छ सिमानामा पर्खालहरू
गाउनु छ स्वाभिमानी गितहरू
र बनाउनु छ यो देशको
वास्तविक नक्सा ।।

प्रतिक्रिया दिनुहोस्