९ श्रावण २०८३, शनिबार
Logo

नेपालमा विपद्ले पुर्‍याउने आर्थिक तथा गैरआर्थिक क्षतिबारे पत्रकार अभिमुखीकरण सम्पन्न

काठमाडौं । नेपालमा जलवायु परिवर्तन तथा विपद्का कारण समुदायमा पर्ने आर्थिक र गैरआर्थिक क्षति तथा नोक्सानीबारे पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

विपद् पत्रकारिता सञ्जाल (डीजेएन) को आयोजनामा, प्राक्टिकल एक्सन नेपाल र आईआईडीको सहकार्यमा शुक्रबार काठमाडौंको जमलमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विपद् तथा जलवायु परिवर्तनसम्बन्धी समाचारलाई तथ्यमा आधारित, संवेदनशील र समुदायमुखी ढंगले सम्प्रेषण गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिइएको थियो।

डीजेएनकी अध्यक्ष अमिका राजथलाले जलवायु परिवर्तनको प्रभाव समुदायस्तरमा प्रत्यक्ष देखिन थालेकाले पत्रकारहरूले हानि तथा क्षतिका विषयलाई तथ्यपरक, सन्तुलित र जिम्मेवार ढंगले प्रस्तुत गर्नुपर्ने बताउनुभयो। उहाँले विपद् पत्रकारिताको संस्थागत विकास आवश्यक रहेको उल्लेख गर्दै प्राकृतिक तथा गैरप्राकृतिक विपद्का बहुआयामिक प्रभावलाई सञ्चारमाध्यमले अझ प्रभावकारी रूपमा उजागर गर्नुपर्ने धारणा राख्नुभयो।

Shivapuri rural municipality awareness message jalapanews

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का हानि तथा क्षति विज्ञ उज्ज्वल उपाध्यायले कार्यपत्र प्रस्तुत गर्दै विपद्को असर पूर्वाधार, कृषि, पशुपालन वा सम्पत्तिमा हुने आर्थिक क्षतिमा मात्र सीमित नरही संस्कृति, मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र पहिचानमा समेत दीर्घकालीन प्रभाव पार्ने बताउनुभयो। उहाँले नेपालजस्तो जलवायु जोखिमयुक्त मुलुकमा आर्थिक र गैरआर्थिक दुवै प्रकारका हानि तथा क्षतिको अभिलेखीकरण, तथ्याङ्क संकलन र नीतिगत सम्बोधन आवश्यक रहेको उल्लेख गर्नुभयो।

त्यस्तै, अर्थ जर्नालिज्म नेटवर्कका दक्षिण एसिया संयोजक रमेश भुषालले जलवायुजन्य हानि तथा क्षतिको रिपोर्टिङका चुनौती र अवसरबारे प्रस्तुति दिँदै समाचारलाई घटना केन्द्रित मात्र नभई समुदायमा पर्ने दीर्घकालीन सामाजिक, आर्थिक तथा मानवीय प्रभावसँग जोडेर प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले तथ्याङ्कसँगै समाधानमुखी पत्रकारिता प्रवर्द्धन गर्नुपर्ने र समयसापेक्ष रूपमा एआई लगायतका आधुनिक प्रविधिको उपयोग गरेर समाचार सम्प्रेषण गर्न सकिने धारणा राख्नुभयो।

आयोजकका अनुसार जलवायु परिवर्तनका कारण बढ्दो आर्थिक तथा गैरआर्थिक हानि–नोक्सानीबारे सञ्चारकर्मीको बुझाइ अभिवृद्धि गर्दै समुदायमा सही सूचना प्रवाह गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो। विशेषगरी विपद् तथा जलवायु परिवर्तनका विषयमा सक्रिय पत्रकारहरूको सहभागिता रहेको उक्त कार्यक्रममा विषयविज्ञहरूले विपद्को प्रभावलाई बहुआयामिक रूपमा बुझेर जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्