खाजाको पैसा बचाएर राहत सहयोग

काठमाडौँ, २४ भदौ ।
काठमाडौँ स्थित राजधानी क्याम्पस र इनसाइट भिजन कलेजका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर संकलन गरेको रकमबाट बाढी पिडित तथा प्रभाबित व्यक्तिहरूलाई करिब एक लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका छन् ।
बागमती प्रदेश सभा सदस्य (सांसद) राधिका तामाङ (नुवाकोट क्षेत्र नं. १) र नुवाकोट जिल्ला समन्वय समिति (जिसस) प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीको उपस्थीतिमा उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो ।

विद्यार्थीहरूले किताबी ज्ञानमा मात्र सीमित नरहेर सामाजिक उत्तरदायित्व बहन गर्दै आफ्नो दैनिक खाजा खर्चको रकम बचत गरी यो परोपकारी कार्य गरेका हुन् ।

राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सांसद राधिका तामाङ र जिसस प्रमुख राजेन्द्र विक्रम सिंह ठकुरीले विद्यार्थीहरूको यो कार्य निकै सराहनीय र प्रेरणादायी रहेको बताउनुभयो । उहाँहरूले पढाइसँगै अरूको दुःख बुझ्ने, समाजमा परेको समस्यामा हातेमालो गर्ने र जिम्मेवार नागरिक बन्ने पाठ विद्यार्थीहरूले सिकाएको उल्लेख गर्दै यही नै वास्तविक शिक्षा भएको धारणा व्यक्त गर्नुभयो ।

कलेज प्रशासनले पनि विद्यार्थीहरूको यो स्वतःस्फूर्त र मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै खुसी व्यक्त गरेको छ । आवश्यक परेकाहरूलाई प्रत्यक्ष सहयोग पु¥याउने विद्यार्थीहरूको यो सामाजिक भावनालाई आगामी दिनमा पनि निरन्तरता दिइने क्याम्पस परिवारले जनाएको छ














प्रतिक्रिया दिनुहोस्