१२ श्रावण २०८१, शनिबार
Logo

दोहोरो प्रेममा अनमोलः ‘क्याप्टेन’ गीत रिलिज

शुक्रवारबाट दोस्रो सातामा प्रदर्शन आरम्भ गरेको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को तेस्रो गीत इन्टरनेट रिलिज भएको छ । ‘सक्दिन कि बाँच्न’ बोलको गीतमा अभिनेता अनमोल दोहोरो प्रेममा छन् । अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीको प्रेममा उनी हराएका छन् । फिल्मको सस्पेन्स खुल्ने डरले निर्माण टिमले यो गीत लुकाउँदै आएको थियो ।
सार्वजनिक गीतमा सुमन केसी र दिपा लामाको स्वर, दिग्गज धौरालीको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र नवराज उप्रेतीको छायांकन छ । यो गीतलाई फिल्ममा निर्देशक दीवाकर भट्टराईले कथाअनुसार स्थान दिएका छन् । फिल्म नहेरेका दर्शकलाई भने गीतले अनमोलको जोडी उपासना हुन् वा प्रियंका ? भन्नेमा कन्फ्यूज बनाउँछ ।
पहिलो हप्ता राम्रो कमाई गरेको फिल्मले प्रदर्शनको तीन दिनमा मात्र २ करोड ४० लाख छापेको थियो । यो फिल्मले घरेलु बजारमा ६ करोड ग्रस कलेक्सन गरेताको खण्डमा मात्र निर्माताको लगानी सुरक्षित हुन्छ । हलसम्म पुग्दा फिल्ममा निर्माताको १ करोड ८० लाख खर्च भएको छ । यो फिल्मको कथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् । निर्माता भुवन केसी हुन् ।

प्रतिक्रिया दिनुहोस्