३ कार्तिक २०८३, सोमबार
Logo

तारकेश्वर गाउँपालिकामा पहिलो पटक ‘बाइक स्लो रेस’ प्रतियोगिता सम्पन्न, दाङसिङका रूपेश न्यौपाने प्रथम

नुवाकोट।
नुवाकोटको तारकेश्वर गाउँपालिकामा पहिलो पटक अनौठो र उत्साहजनक खेल ‘बाइक स्लो रेस’ (ढिलो मोटरसाइकल कुदाउने) प्रतियोगिता सम्पन्न भएको छ। ढाँडाखर्क युवा क्लबको आयोजनामा भएको उक्त प्रतियोगिता पालिकाभरिमै पहिलो पटक आयोजना गरिएको आयोजकले जनाएको छ।

दर्शकहरूको निकै उत्साहजनक उपस्थिति रहेको उक्त प्रतिस्पर्धामा तारकेश्वर गाउँपालिका–१, दाङसिङका रूपेश न्यौपाने प्रथम हुन सफल भएका छन्। प्रथम स्थान हासिल गरेसँगै उनले नगद ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

त्यसैगरी तारकेश्वर गाउँपालिका–६, भमरा निवासी रवि रिमाल द्वितीय र सोही वडाका शेखर रिमाल तृतीय भएका छन्। द्वितीय र तृतीय हुने विजेताहरूले क्रमश: नगद ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

Shivapuri rural municipality awareness message jalapanews

स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको यस प्रतियोगितालाई स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूबीच आपसी सद्भाव, एकता र लुकेका प्रतिभा प्रस्फुटन गराउने एउटा महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ।

ढाँडाखर्क युवा क्लबका सचिव सुरेन्द्र अधिकारीका अनुसार क्लबले आगामी दिनमा गाउँपालिकाका सबै वडाहरूलाई समेटेर यस्ता कार्यक्रमहरूलाई अझ व्यवस्थित, विस्तृत र प्रभावकारी रूपमा अगाडि बढाउने योजना बनाएको छ। साथै, क्लबका गतिविधिलाई थप व्यवस्थित र संस्थागत बनाउन आवश्यक विधि तथा विधानअनुसार अघि बढ्ने तयारी भइरहेको समेत सचिव अधिकारीले जानकारी दिनुभयो।

आगामी दिनमा स्थानीय युवाहरूलाई खेलकुद तथा सामाजिक गतिविधिमा जोड्दै पालिकाभरिका प्रतिभाहरूलाई उचित अवसर प्रदान गर्ने उद्देश्यका साथ क्लबले आफ्ना गतिविधिहरू विस्तार गर्दै लैजाने आयोजकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्