डा. सैयदको पहलमा तारकेश्वरका बाढीपीडितलाई जस्तापाता र फम हस्तान्तरण, पुनर्वासमा राहत

त्रिशुली, नुवाकोट ।
भदौ १० गते आएको विनाशकारी बाढी, पहिरो र नदी कटानका कारण घरबास गुमाएका नुवाकोटको तारकेश्वर गाउँपालिकाका पीडित नागरिकहरूको पुनर्वासका लागि जस्तापाता र फम सहयोग गरिएको छ ।

समाजसेवी डा. मनोर दिन सैयदको विशेष पहल र नेतृत्वमा आएको टोलीले शनिबार प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारहरूलाई सामग्री हस्तान्तरण गरेको हो।
बाढी र कटानबाट अति प्रभावित तारकेश्वर गाउँपालिका वडा नम्बर २ र ४ का घरबारविहीन परिवारहरूलाई पुनर्वासमा थोरै भए पनि योगदान पुर्याउने उद्देश्यले कुल ६०० थान जस्तापाता तथा फम वितरण गरिएको छ। राहत सामग्रीहरू तारकेश्वर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष शिवप्रसाद पनेरु, वडा नम्बर ४ का वडाध्यक्ष हरि पौडेल, वडा सचिव चन्द्रनिधि घिमिरे र स्थानीय युवाहरूको प्रत्यक्ष रोहबरमा पीडितहरूलाई हस्तान्तरण गरिएको थियो।

विपद्को समयमा नुवाकोटबासीका लागि डा. सैयदको यो सहयोग पहिलो भने होइन। बाढीले आक्रान्त पारेको नुवाकोटका विभिन्न क्षेत्रमा यसअघि पनि उहाँले खाद्यान्न, आवश्यक औषधि एवं लत्ताकपडाहरू विभिन्न होल्डिङ सेन्टरहरूमा पुगेर निरन्तर हस्तान्तरण गर्दै आउनुभएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। जस्तापाता र फम पाएपछि अस्थायी टहरा निर्माण गरि पुनर्वास गर्न बाढीपीडितहरूलाई ठूलो राहत मिलेको छ।













प्रतिक्रिया दिनुहोस्