१५ भाद्र २०८३, सोमबार
Logo

त्रिशुली अस्पतालमा विद्युत् संकट: बिरामी मारमा

त्रिशुली (नुवाकोट) —
नुवाकोटको त्रिशुली अस्पतालमा नियमित विद्युत् आपूर्ति नहुँदा अस्पतालका महत्वपूर्ण तथा ठूला चिकित्सा उपकरणहरू सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको छ। भर्खरै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण विद्युत् संरचनामा पुगेको क्षतिका बीच अस्पतालमा नियमित केन्द्रीय प्रसारणको विद्युत् प्रवाह नहुँदा सिटी (CT) स्क्यान मेसिन र अक्सिजन प्लान्ट लगायतका ठूला उपकरणहरू ठप्प प्रायः बनेका छन्।

पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत जिल्लाका केही क्षेत्रमा विद्युत् सुचारु गरे पनि अस्पतालका उच्च क्षमताका मेसिनहरू चलाउन आवश्यक पर्ने उच्च भोल्टेज र निरन्तरको विद्युत् प्रवाह हुन सकेको छैन। जसका कारण अस्पताल प्रशासनले महँगो डिजेल खरिद गरेर जेनेरेटरमार्फत सेवा सञ्चालन गर्ने प्रयास गरिरहेको छ।

तर, लामो समयसम्म र नियमित रूपमा जेनेरेटर चलाउँदा जेनेरेटरमै विभिन्न प्राविधिक समस्याहरू देखिन थालेका छन्। बजारमा डिजेलको समेत अभाव हुन थालेकाले जेनेरेटरसमेत जुनसुकै बेला बन्द हुन सक्ने अवस्था सिर्जना भएको अस्पताल स्रोतले जनाएको छ। बैकल्पिक ऊर्जाको भरपर्दो स्रोत नहुँदा र जेनेरेटर बिग्रिने जोखिम बढ्दा आकस्मिक सेवा, सघन उपचार कक्ष (ICU) मा रहेका बिरामी तथा जटिल शल्यक्रिया सेवाहरू प्रत्यक्ष प्रभावित हुने जोखिम बढेको छ।

Shivapuri rural municipality awareness message jalapanews

अस्पतालको संवेदनशीलतालाई ध्यानमा राखी यथाशीघ्र नियमित र सुदृढ विद्युत् प्रवाहको व्यवस्था मिलाइदिन स्थानीय नागरिक, बिरामीका आफन्त र अस्पताल प्रशासनले सम्बन्धित पक्ष तथा सरोकारवाला निकायसँग विशेष अनुरोध र जोडदार माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्