दुप्चेश्वर महादेव मन्दिर प्राङ्गणमा रेस्लिङ प्रतियोगिता हुने

नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर प्राङ्गणमा रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद र पर्यटन प्रवर्द्धनका लागि खेलकुद” भन्ने मुख्य नाराका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको नेपाल रिङ रेस्लिङ नुवाकोट जिल्ला सङ्घले जानकारी दिएको छ।
नयाँ वर्ष २०८३ को अवसर पारेर हुने उक्त प्रतियोगितामा राष्ट्रियस्तरका चर्चित रेस्लरहरूको सहभागिता रहने जनाइएको छ। प्रतियोगिताले खेलकुदको विकाससँगै धार्मिक तथा पर्यटकीय क्षेत्र दुप्चेश्वरको प्रचार–प्रसारमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा चर्चित रेस्लरहरू नुवाकोटे टाइगर, साइन, डेविड, चट्टान, किङरोबर्ट, उर्गेन, ठागु, तनु, आकृति, सुजल एक्स हिरो, सिजेवर्ल्ड, लगायत नेपालका एक दर्जनभन्दा बढी रेस्लरहरूको महाभिडन्त हुने आयोजकले बताएको छ।
प्रतियोगितामा विभिन्न विधाका खेलहरू समावेश गरिनेछन्। हेभी वेटतर्फका ( पुरुष) विजेताले गोल्डेन बेल्ट र नगद रु ७५ हजार साथै महिला च्याम्पियनसिप विधाका विजेताले बेल्ट र नगद र ५० हजार प्राप्त गर्नेछन्।
त्यसैगरी पुरुष ट्याक्टीम हार्डकोर विधाका विजेताले नगद ६० हजार प्राप्त गर्नेछन् भने त्रिपल थ्रेड विधाका विजेताले मेडल र नगद रु २५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।
यस कार्यक्रमले स्थानीयस्तरमा खेलप्रति आकर्षण बढाउनुका साथै मनोरञ्जन प्रदान गर्ने र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ।













प्रतिक्रिया दिनुहोस्