३ श्रावण २०८२, शुक्रबार
Logo

सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्ने निर्णय

नेपाल सरकारले अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्ने निर्णय गरेकाे छ । यस निर्णयले नेपाल र अमेरिका बिचको कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपेको छ। यो निर्णयले दुई देशबिचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। नेपालको परराष्ट्र मन्त्रालयबाट खटाइएका कूटनीतिक कर्मचारी ऋषिराज आचार्य र देवदूत ढकालको टोली क्यालिफोर्नियामा आइपुगेकाे छ।

मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डे, देउराली फाउन्डेसनका संस्थापक माधव मरासिनी, गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरिप्रसाद ओझा, उपाध्यक्ष वासु क्षेत्री, कोषाध्यक्ष तेजेन्द्र बराल र अन्य समाजसेवीहरूले उनीहरूको भव्य स्वागत गरे। कन्सुलेटको स्थापनाले नेपाली डायस्पोराको हित संरक्षण, व्यापार, पर्यटन र सांस्कृतिक आदान–प्रदानलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

सान फ्रान्सिस्कोको कन्सुलेट कार्यालयले क्यालिफोर्निया र वरपरका राज्यहरूमा बसोबास गर्ने नेपाली नागरिकलाई विभिन्न कन्सुलर सेवाहरू प्रदान गर्नेछ। यी सेवाहरूमा पासपोर्ट नवीकरण, भिसासम्बन्धी जानकारी र नेपाली नागरिकहरूलाई आवश्यक पर्ने अन्य प्रशासनिक सहायता समावेश छन्। यो कार्यालयले नेपाली समुदायलाई स्थानीयस्तरमा सहज र प्रभावकारी सेवा प्रदान गरी उनीहरूको दैनिक जीवनमा आउने प्रशासनिक जटिलताहरूलाई समाधान गर्नेछ। यसका अतिरिक्त, कन्सुलेटले नेपाल र अमेरिकाबिचको व्यापारिक सम्बन्धलाई प्रवर्द्धन गर्न, पर्यटनलाई प्रोत्साहन गर्न र सांस्कृतिक आदान–प्रदानलाई विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नेपाल सरकारले यो कन्सुलेटलाई विदेशमा बस्ने नेपाली समुदायको हित रक्षाका लागि प्राथमिकतामा राखेको छ, जसले नेपालको अन्तर्राष्ट्रिय उपस्थितिलाई बलियो बनाउनेछ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्