२४ मंसिर २०८२, मंगलवार
Logo

दैविक शक्ति बोकेको दुप्चेश्वर महादेव;चिताएको पुरा हुने जनविश्वास

दुप्चेश्वर महादेव मन्दिरमा मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको अवसरमा लाग्ने मेला सनिबार देखी सुरु भएको छ । पुष १० गतेसम्म चल्ने यस मेलामा विशेष गरी धान्यपूर्णिमाको अघिल्लो दिन चतुर्दशीका साँझ अर्थात भोली सोमबार देखि बत्ती बालेर रातभर जाग्राम बस्ने चलन छ ।
आफूले चिताएको पुरा हुने, सन्तान प्राप्ति हुने, बोल्न नसक्ने बालबालिका बोल्ने, वस्तुभाउ व्याउने जनविश्वासले दुप्चेश्वर महादेवको दर्शन र पुजा आराधना गर्न भक्तजनको घुँइचो लाग्ने गरेको छ ।


मुख्यतः सन्तान नहुने दम्पतिहरू सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । सन्तानमा पनि छोराको रहर गर्ने दम्पतीहरू यहाँ आउने गरेका छन् । विश्वास र श्रद्धाका साथ दुप्चेश्वर महादेवसंग पुत्र वर माग्दा प्राप्त हुने विश्वास सदिऔंदेखि रहिआएको छ ।


अनकण्टार चिसो पहरामा अवस्थित देवाधिदेव श्री महादेवको दर्शन र पुजाका लागि नुवाकोट बाहेक काठमाडौं उपत्यका, धादिङ, रसुवा, गोर्खा, मकवानपुर, रामेछाप, काभ्रे, सिन्धुली, बारा, चितवन लगायतका थुप्रै जिल्ला तथा भारतबाट समेत श्रद्धालु भक्तजनहरू आउने गरेका छन् ।
मार्ग शुक्लपक्षको धान्यपूर्णिमामा यस दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने जात्रा भर्न आउने अधिकांश दम्पतिहरूको एउटै कामना भनेको सन्तान प्राप्ति कै हुन्छ । त्यस बाहेक अन्य भाकलका लागि पनि यहाँ भक्तजनहरूको भिड र आस्था रहेको छ ।


सन्तान नभएकाहरूले सन्तान पाउने, विवाह नभएकाहरूले लगन जुराइ माग्ने र पुराभए पछि दर्शन गर्न आउने भक्तजनहरूको अनुभव सुन्न पाइन्छ । गोठमा थारा गाईभैसी हुनेहरू गाई भैसी ब्याओस् भनी भाकल गर्न आइपुग्छन् र महादेवलाई दाम्लो चढाएर फर्किन्छन् । यहाँको जात्रामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री समेत हुने गरेको छ ।

Shivapuri rural municipality awareness message jalapanews


त्यस्तै, परम्परागत उपचार विधि र दैविक शक्ति रहेको मानिने धामी–झाँक्रीहरू आफ्नो विधि अनुसार श्री महादेबबाट आफ्नो मन्त्र शिद्ध गर्न पनि यहाँ आउने गरेका छन् । जात्राको समयमा भजनकीर्तन र विभिन्न किसिमका नाचगान चल्ने गरेको छ । व्यापार व्यवसायका लागि स्थानिय तथा बाहिरी ब्यापारीहरुको घुइचो लागेको छ ।


मेला चुस्त बनाउनको लागी बाटो सरसफाई, सौचालय, प्राथमिक स्वास्थ्य उपचारको ब्याबस्था, शान्ती सुरक्षाको लागी सुरक्षाकर्मी ब्याबस्थापन गरिएको छ । दुप्चेश्वर मन्दिर बत्तीद्धारा झिलीमिली बनाइएको छ भने कालो बजारी नियन्त्रणको काली स्टलहरुमा मुल्यसुची समेत टाँस गरिएको दुप्चेश्वर बिकाश कोषका प्रचारप्रसार संयोजक भुपेन्द्र केसीले बताउनु भयो ।


यसपटक मेलामा आउने भक्तजनहरु र पर्यटकहरुलाई थप सहज बनाउनका लागि सवार साधन पार्किङलाई थप ब्यवस्थित बनाइएको संयोजक भुपेन्द्र केसीले बताउनु भयो ।

किम्वदन्ति अनुसार स्थानीय बासे तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुर भिरमा शिवलिङ्गमाथी गाईले चारवटै थुनबाट बलिन्द्र धारा दुध चढाइरहेको भेटिएको पौराणिक कथनलाई चाँहि धेरै जनाले सुनाउने गरेका छन् ।


त्यो धान्यपूर्णिमाका दिन रहेकोले त्यसबेलादेखि आजसम्म सोही अवसरमा विषेश पुजाआजा र जात्रा लाग्दै आएको हो । पछि कसैले शिवजीलाई पूर्णिमाको दिन होइन चतुर्दशीका दिन पूजा जुर्छ र त्यस पूजाले शिवजी खुसी हुन्छन् भनेपछि यो पर्व हाल चतुर्दशीका दिन साँझबाट सुरु भएर पूर्णिमाका दिन सकिने प्रचलन रहिआएको छ ।


अर्को पौराणिक कथन अनुसार समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष पिएर रन्थनिएका श्री महादेवले गोसाइँकुण्ड जाँदा यही मार्ग प्रयोग गरेका थिए । त्यसबेलामा अहिलेको दुप्चेश्वर महादेव रहेकै स्थानमा विश्राम लिएको जनश्रुती छ ।


पर्यटनको गन्तव्यको रुपमा विकास भएको यस जात्रामा खासगरी तामाङ र शेर्पा जातीका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ । जात्रामा शेर्पा जातीहरू ढ्याङ्ग्रो बजाउँदै झाँक्रीको भेषमा महादेव खुसी पार्न रातभर झाँकी प्रदर्शन गर्छन् । तामाङ सेलो, साइगोले लगायतका तामाङ लोकसाँस्कृतिक गीत, नृत्य अनि झ्याउरे भाकाका गीत गाउँदै जात्रा भर्न जानेहरूको लर्को यसको अर्को आकर्षण हो ।

प्रतिक्रिया दिनुहोस्