२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

साउदीमा बालुवामा तरकारी फलाएकाे देखेपछि गाउँ फर्केर तरकारी खेती

धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बन्नुभएको छ, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी अरबमा बस्नुभएका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गर्नुभएको हो ।  

छ महिना खान नपुग्ने उहाँको परिवारले अहिले तरकारी खेतीबाटै वार्षिक पाँच लाख रुपैयाँ आम्दानी लिन थालेको छ । यसका साथै तामाङले ३० जनालाई रोजगारीसमेत दिनुभएको छ । साउदी अरबको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “बालुवामा पाँच फिट माटो राखेर तरकारी लगाउँदा हुँदोरहेछ ।” 

त्यहाँको तरकारी बजारमा काम गर्दाको अनुभवलाई यहाँ प्रयोग गर्दा राम्रो मुनाफा हात पार्न सफल भएको तामाङले बताउनुभयो । सिलढुङ्गा तरकारी सङ्कलन तथा आलु बीउभण्डारका अध्यक्षसमेत रहनुभएका उहाँ भन्नुहुन्छ, “सिँचाइका लागि सम्भावना भए पनि सम्बन्धित निकायमा माग गर्दा सुनुवाइ भएन ।” 

तामाङ तरकारीमा रासायनिक मलको सट्टा जैविक विषादी बनाएर प्रयोग गर्नुहुन्छ । रासायनिक मल प्रयोग गरेको तरकारीले दीर्घकालीन रोग बढाउने बुझेपछि उहाँले त्यसको बदलामा जैविक विषादी प्रयोग गर्न थाल्नुभएको हो ।  झारबाटै विषादी बनाएर तरकारीमा छर्कने गर्नुभएको छ । रासायनिक विषादी रोगको कारण भन्ने थाहा भएपछि यसको प्रयोग गर्न छाडेको तामाङले बताउनुभयो । 

Shivapuri rural municipality awareness message jalapanews

गएकाे वर्षदेखि उहाँले रासायनिक मल प्रयोग पूर्णरुपमा छाडेर जैविक विषादी प्रयोग गरेर तरकारी फलाइरहनुभएको छ । गाउँघरमै पाइने तीतेपाती, उरेलुलगायत झारपातबाट सजिलो तरिकाबाट तामाङ विषादी बनाइरहनुभएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्