१२ श्रावण २०८१, शनिबार
Logo

जस्तापाताका भरमा जाडो छल्दै

चिसो बढेसँगै माथिल्लो मनाङका बासिन्दा जिल्लाबाहिर झरिसकेका छन् । मनाङका नार्पाभूमी गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका धेरैजसाे मानिस घर कुरुवा राखेर काठमाण्डाै, पोखरालगायत सहरमा पुगिसकेका छन् । 

बाढीले क्षति पुर्‍याएका चामे गाउँपालिका र नासाेँ गाउँपालिकाका मानिस भने जाडोयाममा जिल्लामा नै बसोबास गर्ने गर्दछन् । झनै यस पटक बाढीका कारण घरबारविहीन भएका यहाँका मानिस राहतमा आएका जस्तापाता तथा प्रदेश सरकार र गाउँपालिकाले उपलब्ध गराएको राहत रकमले बगर पन्छाएर बसेका छन् । उनीहरू जस्तापाताको टहरामा दिन काटिरहेका छन् । उनीहरू अहिलेको यो चिसोमा पनि मर्स्याङ्दीकाे किनारमा बगर पन्छाउँदै कष्टकार जीवन बिताइरहेका छन् । 

मनाङको तल्लो क्षेत्र नासो गाउँपालिका–१ सिरानतालमा सात घर थियो । गएकाे जेठ ३१ को रातिदेखि परेको अवरिल वर्षाले मर्स्याङ्दीमा बाढी आउँदा सबै बगायो । स्थानीयवासी राजन गुरुङका अनुसार अहिले कुन ठाउँमा कुन घर थियो भनेर अड्कल गर्न पनि सकिँदैन । जसोतसो मान्छे जोगिए पनि घरबारी सबै बगायो । घर भएको ठाउँ पूरै बगर बनेको छ । पहिलेको ठाउँमा अब अर्को घर बनाउन पनि मिल्दैन ।

भीरपाखाको ओडार र छेलमा बसेर रात कटाएका स्थानीयवासी अहिले कोही तालबजारको छिमेकीकोमा छन् । कोही बेसीसहर आफन्तकोमा छन् । सिरानतालकै दूधजङ्ग गुरुङको परिवार तालबजारमा रहेकाे कविन्द्र गुरुङको घरमा एउटा कोठा भाडामा लिएर बसेको छ । बाढीले डुबाएको कविन्द्रको घरका कोठाबाट बालुवा झिकेर पत्नी र छोरीसहित तीन जनाको परिवार एउटा कोठामा बसेको छ । तालडाँडामा पालमुनि बस्दै आएको परिवार चिसोले सताउन थालेपछि तीन हप्ताअघि मात्रै कविन्द्रको घरमा आएका हुन् । दाताले दिएको पालमुनि बसियो । चिसोले सकिएन । तप्पतप्प चिसो चुहिएपछि डेरा खोजेर बस्यौँ, उहाँले भन्नुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

उहाँका अनुसार हिउँद अगाडि जस्ताको अस्थायी टहरा बनाउने योजना छ । यसका लागि गण्डकी प्रदेश सरकारले दुई लाख रुपैयाँ दिएको छ । हामी घरबारविहीन भएको सात महिना भयो, प्रदेश सरकारले चेक दिएको छ । अब घर टहरा बनाउनुपर्ला, उहाँले भन्नुभयो, चिसो छल्न आफन्तको घरमा कोठा लियौँ । दुई लाख रुपैयाँले घर बन्दैन । टिन जस्तापाताले बार्ने र टिनैको छानो हाल्ने हो । टिनले पनि के जाडो छेकिएला र खै ?

तालबजारकै खिमबहादुर गुरुङको घरमा कोठा लिएर बसेका भीमबहादुर गुरुङले पनि दुई लाख रुपैयाँको चेक बुझ्नुभयो । पत्नी, दुई छोरी र एक छोरा अहिले कोठामा बसेका छन् । मर्स्याङ्दीले घर सबै पुरिएपछि उनी तालडाँडामा विस्थापित भएका थिए । तालडाँडामै टेन्ट लगाएर बसियो । घर र खाद्यान्न सबै बाढीले डुबायो । दाताले दिएको राहत पनि सकियो, उहाँले भन्नुभयो, राहतको पैसाले सानोतिनो टहरा बनाउनुपर्ला । घर बनाउन पछि केन्द्र सरकारले दिने भनेको छ । नासोँ–१ का अध्यक्ष झलकबहादुर गुरुङले पूर्ण क्षतिको सूचीमा परेको तालगाउँका २२ घरधुरीलाई प्रदेश अर्थमन्त्री राम्जी बरालले धारापानीमा आएर दुई/दुई लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएकाे बताउनुभयाे । घर बनाउनका लागि पैसापछि आउँछ भन्नुभएको छ, उहाँले भन्नुभयो, केन्द्र सरकारले दिने हो कि, प्रदेशले दिने हो, त्यो त उहाँले भन्नुभएन । 

अध्यक्ष चन्द्र घलेले गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको सङ्ख्या ४४ रहेकाेमा ३९ जनाले दुई लाख रुपैयाँका दरले राहत पाएको बताउनुभयो । पाँच जनाको भने केही कागजात अपुग भएको भन्दै नपाएको उहाँले बताउनुभयो । उहाँका अनुसार क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन भन्दै त्याे रकम दिएको हो । घरबारविहीन भएको सात महिना भयो । जनता भोकै छन्  कि, नाङ्गै छन् कि भनेर वास्ता नगर्ने भनेर गुनासो गरेँ । नियम, प्रक्रियाले गर्दा ढिलो भयो भन्ने कुरा मन्त्रीबाट आयो, अध्यक्ष घलेले भन्नुभयो । उहाँका अनुसार केन्द्र सरकारले पाँच लाख रुपैयाँ दिने भन्ने कुरा छ । तर कसरी दिने भनेर प्रस्ट छैन । केन्द्रले ६० प्रतिशत, प्रदेशले ३० र स्थानीय तहले १० प्रतिशत रकम पुनर्निर्माणका लागि दिने भन्ने थियो, उहाँले भन्नुभयो, दुई लाख रुपैयाँ के भनेर दिएको हो, प्रस्ट छैन । प्रदेशले फेरि दिन्छ वा दिँदैन, त्यो पनि प्रस्ट छैन ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार प्रदेश सरकारबाट ७४ लाभग्राहीका लागि एक करोड ४८ लाख रुपैयाँ बजेट आएको थियो । प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार एक लाख र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप एक लाख गरी दुई लाख रुपैयाँ आएको बताउनुभयो । उहाँका अनुसार यो रकम निजी आवास पुनर्निर्माणका लागि प्रदेश सरकारको विशेष राहत हो । सङ्घीय र स्थानीय सरकारको रकम आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जनाकारी दिनुभयो । 

बाढीपहिराे पीडितको पुनर्स्थापना तथा घर पुनर्निर्माणका लागि हो । प्रदेश सरकारबाट अर्काे रकम आउँछ वा आउँदैन, यसै भन्न सकिँदैन, उहाँले भन्नुभयो । मन्त्री बरालले भने विशेष प्याकेजका रूपमा बाढीपीडितलाई त्याे क्त रकम प्रदान गरिएको बताउनुभएको थियो । नासोँ गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङका अनुसार तालगाउँको सबै घर डुबानमा परेका छन् । सिरानतालको सात घरसहित झन्डै ६० घर डुबानमा परेको उहाँले बताउनुभयो  । नासोँ गाउँपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत गोविन्दबहादुर रानाभाटका अनुसार गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिराले क्षति पुर्‍याएकाे छ । यसमा पूर्ण क्षति भएका ४४ घर छन् । आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन् । आंशिक क्षति न्यून जोखिमका २३ घर छन् । यी घर मर्मत गरेर बस्न सकिन्छ । 

उहाँका अनुसार वडा नं १ को तालमा मात्रै ५८ घरमा क्षति पुगेकामा २३ घरमा पूर्ण क्षति छ । १५ घर आंशिक क्षति तर उच्च जोखिममा छन् । १३ घर आंशिक क्षति छन् । आठ घरमा सामान्य क्षति छ  । तालका १५ घर परिवार अरूकोमा आश्रय लिएर बसेका छन् । ६ परिवार अन्यत्रै सरेका छन् । नासोँ–३ धारापानीका १४ परिवार आफन्तकोमा आश्रय लिएका छन् । पूर्ण क्षति नभए पनि आफ्नो घरमै बस्न नसकेका, लामो समयसम्म अन्यत्रै बस्न बाध्य भएका र आफ्नो घरमा बस्दा पनि मर्मत गरी बस्नुपर्नेलाई राहतमा नसमेटेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्