१२ श्रावण २०८१, शनिबार
Logo

यस्तो हुनेछ एमाले महाधिवेशन मञ्च

नेकपा एमालेको आसन्न १० औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरु भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ ।  

एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्साङ्कन गरिएको छ । एक सय जना अतिथि रहने गरी आकर्षक मञ्च निर्माण गरिने जनाइएको छ । केन्द्रीय सदस्य श्रेष्ठले भन्नुभयो, ‘१६ फिट अग्लो मञ्च निर्माण गर्दैछाैँ ।’

निर्माण गर्न लागिएको मञ्च चार खण्डमा हुने छ । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्ड केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहने उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार ७२ कलाकारले एकै पटक प्रस्तुति दिनसक्ने गरी मञ्च निर्माण गरिने छ । त्याे मञ्च आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो हुनेछ । उहाँले भन्नुभयो, ‘नारायणी नदीको पुलबाट र गैँडाकोट तर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरी मञ्चको ढाँचा गरेका छौँ ।’ उद्घाटन सत्रमा कार्यक्रमस्थल सहित विभिन्न ठाउँमा गरी २० ठाउँमा डिस्प्लेमार्फत प्रदर्शन गर्ने योजना रहेको जनाइएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

एमालेले १० औँ महाधिवेशनमा पाँच लाख मानिस सहभागी गराउने जनाउँदै आएको छ । नागरिकले सहभागिताअनुसार सहजै उद्घाटन कार्यक्रम हेर्न सक्नेछन् । केन्द्रीय सदस्य श्रेष्ठले भन्नुभयो, ‘बगरमाथि पनि भव्य मञ्च बनाउन सकिने सन्देश दिनेछौँ ।’ अहिले कार्यक्रमस्थलमा भएका खाल्डाखुल्डी पुर्ने र व्यवस्थापनको काम भइरहेको छ । 

मञ्च व्यवस्थापनका लागि पाँच सय स्वयंसेवक परिचालन गरिने छ । नदी किनारलाई आकर्षक बनाएर १० गते बिहान मूल आयोजक समितिलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । आउँदा दिनमा यो क्षेत्रमा ठूला कार्यक्रम गर्न मिल्ने गरी किनारलाई व्यवस्थित गरिने उहाँले जानकारी दिनुभयो । 

मञ्च व्यवस्थापनका क्रममा ठाउँ–ठाउँमा सेल्फी प्वाइन्ट बनाइने छ । एमालेको महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म यहाँ हुँदैछ । नारायणी नदी किनारमा उद्घाटन र सौरहामा बन्द सत्रकाे कार्यक्रम छ । बन्द सत्रमा झन्डै दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्