२८ आश्विन २०८१, सोमबार
Logo

दशैँका लागि चिनियाँ व्यापारीले रसुवागढी नाकासम्म नै भेडा–च्याङ्ग्रा ल्याइदिए

यसपालिको दशैँका लागि चिनियाँ व्यापारीले रसुवागढी नाकासम्म नै भेडा–च्याङ्ग्रा ल्याइदिएका छन् । दशैँ नजिकिँदै गएको र नाकाबाट मानिसको आवतजावत रोकेका कारण व्यापारीले नाकासम्म नै भेडा–च्याङ्ग्रा ल्याइदिएका हुन् । यसपालि झन्डै डेढ सय भेडा–च्याङ्ग्रा आएको पशु क्वरेण्टीन कार्यालय रसुवाले जनाएको छ । 

दशैँकै लागि आएका भेडा–च्याङ्ग्रा उतै महँगो परेकाले यस पटक मूल्य वृद्धि हुने कार्यालय प्रमुख डाक्टर विकास धौवन्जारले बताउनुभयो । ‘व्यापारीले खरिद गर्दा नै एउटा भेडा–च्याङ्ग्राको २६ हजार परेको बताएका छन्’, उहाँले भन्नुभयो, ‘यस कारण पनि यता बिक्री गर्दा महँगो पर्न जान्छ ।’ अहिले आएका भेडा–च्याङ्ग्रा सानो भएको र सबैको एउटै मूल्य हुँदा बिक्रीमा समस्या आउने व्यापारीले गुनासो गरेको उहाँको भनाइ छ । मूल्य बढेकाले अब थप भेडा–च्याङ्ग्रा नआउने कार्यालयले जनाएको छ । 

चीनको स्वशासित क्षेत्र तिब्बतबाट प्रत्येक वर्ष भेडा–च्याङ्ग्रा आयात हुँदै आएको छ । लामो समयदेखि रसुवागढी नाका हुँदै भेडा–च्याङ्ग्राको आयात हुँदै आएको छ । सुरुमा एउटा भेडा–च्याङ्ग्रा सात सय रुपैयाँमै आउँथ्यो । अहिले मूल्य बढ्दै जाँदा आयातमा पनि कमी आएको छ । 

कोभिड–१९ महामारी सुरु हुनुअघि नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडा–च्याङ्ग्रा खरिद गर्दै आएका थिए । 

Shivapuri rural municipality awareness message jalapanews

वि.सं. २०७० सालमा २ सय २, २०७१ मा १ सय ८०, २०७३ मा २ सय ५०, २०७४ सालमा ५५, २०७५ मा ४ सय ७० र २०७६ मा २ सय ९० वटा भेडा–च्याङ्ग्रा आयात भएको थियो । वि.सं. २०७० अघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडा–च्याङ्ग्रा आयात हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्