देश सम्झेर

आफ्नै पखेरामा
पाखुरा बजार्ने रहर नभएको होइन
आफ्नै माटोमा
पसिना रोप्ने जाँगर नभएको होइन
उबेला,
बा ले बन्दकीमा लिएको ऋण तिर्न
प्रियसीको च्यात्तिएको चौबन्दी फेर्न
र सन्ततीको भबिस्य बोकेर
परदेशिएको- ऊ
आज देश सम्झेर -परदेशमा
भनिरहेछ, सरकार !
मर्नै परेपनि मलाई
मेरै माटोमा लगिदेउ ।
यतिखेर
संसार आतंकित छ कोरोनाले
रोजगारी गुमेको छ
अधुरै छ परिवारको चहानाहरू
आखिर ऋणको भारि त छँदै छ
यहि दुखमा
यहि पीडामा
यहि संकटमा
छिमेकी नाङ्गो हस्तक्षेप गर्छ
यो बेला
बेस्सरी दुखेको सिमानाको घाउ लिएर
बस्नै सक्दैन -ऊ
देश सम्झेर- परदेशमा
र त भनिरहेछ सरकार
मर्नै परेपनि मलाई
मेरै माटोमा सहिद हुनदेउ ।
सरकार !
यो उस्को मात्र बाध्यता होइन
यो उस्को मात्रै समस्या होइन
रेमिट्यान्सको झोलामा घुटुक्क थुक निलेर
तिमीले-
कहिल्यै सिकाएनौ
विकास र निर्माणका मुलहरू फुटाउन
स्वरोजगार र आत्मा निर्भर बन्न
र सिकाएनौ आफ्नै खुट्टाले हिंड्न
हो त्यसकै परिणाम भोग्दै छ आज-देश ।
थाहा छ
यो बेला बेस्सरी देश दुखेको छ
चारैतिर छ सन्त्राश र त्रशित छ मानव सभ्यता
र पनि
कत्ति डराएको छैन ऊ- रोगसँग
कत्ति डराएको छैन ऊ- भोकसँग
त्यसैले फेरि पनि ऊ
भनिरहेछ सरकार !
यो बेला
म र लाखौं परदेशिएका म हरूलाई
लैजाउ आफ्नै देश र राख सिमानाको क्वारेन्टाइनमा
आखिर
देश दुखेर परदेशमा
बाँचिरहँनु भन्दा मलाई
मेरै माटोमा मर्न देउ ।।
विवेक ढकाल – लिखु १ ढिकुरे,नुवाकोट
प्रतिक्रिया दिनुहोस्