१२ श्रावण २०८१, शनिबार
Logo

नेपालमा कोरोनाबाट पहिलो मृत्यु

नेपालमा कोरोना भाइरसका कारण  एक जनाको ज्यान गएको पुष्टि भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार उहाँ १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर सुत्केरी हुनुभएको थियो । आमाछोरा दुवैको स्वास्थ्य सामान्य थियो र २५ गते डिस्चार्ज भएर घर फर्कनुभएको थियो ।

तर उहाँलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको ३ दिनपछि उहाँको निधन भएको हो।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उहाँको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उहाँको रिपोर्ट पोजेटिभ नै आएको छ ।  मन्त्रालयले कोभिड १९ सँग सम्वन्धित थप परीक्षणपश्चात नेपालमा कोभिड १९ बाट मृत्यु भएको पहिलो घटना भएको पुष्टि भएको जनाएको छ ।

यसैबीच थप दुई जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा २ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । ३६ जना निको भएका छन् ।

उज्यालोबाट

प्रतिक्रिया दिनुहोस्