कविता – म दलीत !
–वैरागी जेठा
अँगालो हाल्छ ,पसिनाको भेलले
अनगिन्ती सपनाका माला उन्दै
हजारौँ विचारहरु सिउँदै फाटेको यात्रामा
म दलीत हूँ !
दूरदर्शक आँखाहरुले
कैल्यै चिनेर पढेन
मेरा पूर्खाहरुलाई ।
आफूले आफूलाई वर्गमा विभाजीत गरेर
नदीझैँ युग बगिरह्यो
मेरो पुर्खा रित्याउदै
चेतनाका रेल गुडिरहे
म जन्मिदै ,वर्ग विभाजन भएको हो
कुनै कसैले निमार्ण गरिएको हैन
मेरा वर्गको ब्रम्हाण्ड
एउटा बाहुन हो ।
प्रकृतिको शासनले वर्ग र्सिर्जीत भएको
सुन्दर दलीत म !
बुझ्दै छु ,दलीतको अर्थ
अनुसन्धानमा खटिएको छु
एउटा पोखरीमा ।
उसले हेपेर भन्दै गयो
सधैँभरी घृणाको स्वरमा
दलीत वर्गमा झुण्डाइदियो
मेरा पुर्खाहरुले सहँदै गए
शाकहरुले निमार्ण गरेको
एक दलीत म ।
वर्ग सिर्जना गराएर
खण्डित गर्दै , आ आफना शैलिका परिभाषाहरुले
दलीत घोषणा गरे
डरलाग्दो विभेदका पहाडहरु उभ्याइए
म कुनै दलीत हैन
किन भने आफूले आफूलाई हेप्न सक्दिन
उनीहरुले दलीत भनिरहे
मेरो पुर्खा र मैले सहिरहेँ
म शब्दको परिभाषा खोज्दै
टाकुरा चढिरहे छु
दलीत किन भएँ ।
मेरा वर्गका गाना बजिरहँदा
यस शहरमा
सुन्दर दलीत भएको छु
समाज अध्ययन गरिहँदा
मेरा मालिकहरुले बनाएका रहेछन
मलाई दलीत ।
दलीत हुन पाएकोमा निकै गौरव छ
दुःख विछ्याएर, आँसुमा काँटी ठोकी रहेछु
गाउँ शहरका बजारमा ।
आफूले आफूलाई बुझ्न नसकेर
म दलीत बनेको छु ।
दूर गाउँबाट झरिरहेका
चिरविरे दाइका कथाहरुसँगै
मेल खान्छ मेरा जीवनहरु
विचारको दलीत
साँस्कृतिक दलीत
चेतनाकोदलीत
व्यवहारको दलीत
मलाई लाग्छ
म दलीत हुँदै होइन
प्रश्नहरु शैलुड.झैँ उठ्छन् ।
मन टालेर
आङ्ग छोपिरहेछु
काम नपाएकाहरु समाज शास्त्री भएका छन्
घरको साँचो बुझाएर , मालिक बन्नेहरु
म ,हाम्रो वर्गलाई दलीत बनाएर
वायुमण्डल झैँ फैलिरहेछन्
हाम्रै वंशजको पसिना पिएर
कामरेडका लागि सलामी गर्दै
म दलीत भएको छु
जीवनको वाउन्नौ सिँढीमा
आजकल दलीत शब्दले
मलाई घोचिरहेछ , चिमोटी रहेछ
मेरो चेहरालाई गाली गरीरहेछ
कोरोनाको महामारीलाई नीच मारेर
मेरो वर्ग
हिजो जहाँ थियो त्यहीँ छ
नयाँ समाजको आँगनमा
म दलीत ,भएर उभिएको छु ।
प्रतिक्रिया दिनुहोस्