१८ जेष्ठ २०८०, बिहीबार
Logo
final gp koirala advert

मेरो देश

रुपा थापा ,

बाले आफ्नो भागको जमिनलाई टुक्रा टुक्रा पारेर
मलाई अंशबण्डामा दिएको त्यो एक टुक्रा जमिनको
फगत एउटा लालपुर्जाको
चुत्थो एक टुक्रा कागज मात्र होइन देशको नक्सा

कहीं कत्तै साहु महाजनको ढुकुटिमा
सुटुक्क बन्धकि राख्न मिल्ने
आमाको गलाको निर्जीव त्यो तिलहरि हैन देशको लालपुर्जा
जुवाडेहरुले जुवाको खालमा दाउमा राखेर हार्न मिल्ने
कुनै निर्जीव बस्तु हैन देशको स्वाभिमान

भर्खरै अक्षर सिक्दै गरेका
स्याना स्याना नानी बाबुहरुले
गल्ती अक्षरहरू लेख्दा इलेजरले मेटिने
सिसाले लेखिएको मधुरो त्यो अक्षर हैन
इतिहासका स्वर्णिम पानामा
स्वर्ण अक्षरले लेखिएका देशका ती अक्षरहरू

Shivapuri rural municipality awareness message jalapanews

बाघले घेरावन्दिमा पारेको बाघचालको खेलको
त्यो निरीह बाख्रा हैन देशको सीमाना
कहिले काही मात्रै उम्लिएर कराइबाट अगेनिमा पोखिने
त्यो सेतो दुध होइन देशको राष्ट्रियता
यो त विरहरुले पोखेको त्यो रातो रगत हो
जुन समयसँगै अँझै गाढा बन्दै जान्छ

मेरो गाउको दर्जि दाजुले
राष्ट्रियताले ओतपोत भएको गीत गाउदै
सिलाउदै गरेको मेरो देशको झण्डाहरू
मैले सजिलै फ्याल्न मिल्ने मेरो आङको च्यातिएको
त्यो थोत्रो कपडा हैन मेरो देशको झण्डा

आऊ अब फेरि पल्टाउ एक पल्ट देशको नक्सालाई
खिच्नु छ एक पल्ट फेरि
विरहरुको रगतले सिचेका ती सीमारेखाहरुलाई
बलियो बनाउनु छ अँझै सीमानाका साक्षि
ती जङ्गे पिल्लरहरुलाई

मेरो हातबाट हराएको त्यो स्यानो सियोको
केवल एउटा स्यानो टुक्रो होइन मेरो देशको जमिन
न त हली दाइको हलोबाट हराएको त्यो फालि नै हो
मेरो देशको जमिनको टुक्रा
न त काक्रा झै चिरा चिरा पारेर बाड्न मिल्ने
मेरो बारिमा फलेको त्यो काक्रो नै हो
मेरो देशको जमिनको टुक्रा

कसैले जन्माएर बेवारिसे छाडिदिएको
जो कोहीले पनि काखी च्याप्न सक्ने
कुनै नवजात शिसु होइन मेरो देश
यो त मेरो मुटु हो
जहा बसेको छ सिङ्गो मेरो देश अनि मेरो देशको नक्शा

प्रतिक्रिया दिनुहोस्