१४ मंसिर २०७८, मंगलबार
Logo
Hotel Yangra Nuwakot Trishuli

लघुवित्तको बल्छीमा विपन्न : बैंकबाट दुई प्रतिशतमा पैसा लिएर विपन्नबाट १९ प्रतिशतसम्म ब्याज असुली

नयाँ पत्रिका फलोअप : साहुकारजस्तै डरलाग्दा लघुवित्त

एकै व्यक्तिलाई १६ वटासम्म लघुवित्तले ऋण दिएका छन्, किस्ता तिर्न नसक्नेको उठिबास लगाएका छन् 

गरिबी निवारण अभियानका रूपमा करिब तीन दशकअघि सुरु गरिएको लघुवित्त कार्यक्रमले विपन्नको जीवनस्तर सुधार्ने होइन, उनीहरूलाई उल्टै ऋणको पासोमा पारेको छ । बैंकबाट दुई प्रतिशतसम्म सहुलियत ब्याजदरमा कोष ल्याउने लघुवित्तले विपन्नबाट २४ प्रतिशतसम्म ब्याज उठाउने गरेका छन् । 

pratik books stationery
trishuli web design in nuwakot

बंगलादेशी मोडल पछ्याउँदै नेपालमा ०४९ बाट लघुवित्त कार्यक्रम सुरु गरिएको थियो । गरिब तथा लघुउद्यमीलाई साहुकारको पञ्जाबाट मुक्त गर्न सुरुमा गैरसरकारी संस्था खडा गरी यो अभियान थालिएको थियो । ती संस्थालाई ०५६ बाट लघुवित्तमा परिणत गरियो, तर उनीहरूले गाउँगाउँमा नयाँ साहुकारको रूप लिएका छन् । 

लघुवित्तहरूले वाणिज्य बैंकबाट न्यूनतम दुई प्रतिशतसम्मको सहुलियत ब्याजदरमा पुँजी पाउने गरेका छन् । किनकि, बैंकहरूले कुल कर्जाको पाँच प्रतिशत ऋण विपन्न वर्गमा लगानी गर्नैपर्ने व्यवस्था छ । बैंकहरूले यस्तो लगानी लघुवित्तमार्फत पनि गर्न सक्ने व्यवस्था छ । लघुवित्तको कर्जा लगानीको सबैभन्दा ठूलो स्रोत नै बैंकबाट सहुलियत दरमा पाउने कोष हो । यस्तो रकम बैंकबाट न्यूनतम दुई प्रतिशत ब्याजमा लघुवित्तले पाउँछन् । यसरी बैंक तथा वित्तीय संस्थाबाट लघुवित्तहरूले गत असारसम्ममा एक खर्ब २४ अर्ब रुपैयाँ यस्तो रकम पाएका छन् । त्यस्तै, लघुवित्तहरूले सदस्यहरूबाट ८५ करोड निक्षेप संकलन गरेका छन् । यसरी लघुवित्तले प्रवाह गर्ने कुल कर्जा दुई खर्ब ३५ अर्ब पुगेको छ । 

तर, यसरी सस्तो दरमा लिइरहेको रकम ग्रामीण भेगका विपन्नलाई समूह बनाएर लगानी गरिरहेका लघुवित्त कम्पनीले २४ प्रतिशतसम्ममा लगानी गर्दै आएका थिए । तर, २६ पुस ०७३ मा लघुवित्तको अधिकतम ब्याज १८ प्रतिशतमा हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेपछि अहिले ब्याजदर केही नियन्त्रण भएको छ । अहिले राष्ट्र बैंकले १८ प्रतिशतको सीमामा छुट दिएको छ, पुँजी लागतमा बढीमा नौ प्रतिशतसम्म जोडेर ब्याज लिन सक्ने छुट पनि छ । ‘केही साना संस्थाले सञ्चालन हुनै समस्या भएको बताएपछि अहिले ब्याजदर १८ दशमलव ५ प्रतिशतसम्म पुगेको छ,’ नेपाल लघुवित्त बैंकर्स संघका कोषाध्यक्ष रामहरि दाहालले भने ।

त्यस्तै, एकै व्यक्तिलाई डेढ दर्जनसम्म संस्थाले लगानी गर्ने लघुवित्तले कर्जा नवीकरणका नाममा ब्याजलाई समेत सावाँमा जोडेर गरिबलाई झन् गरिबीको दलदलमा धकेल्ने गरेका छन् । कानुनअनुसार ऋणको ब्याज सावाँमा गाभ्न पाइँदैन । तर, लघुवित्त कम्पनीहरूले सोझासीधा ऋणीलाई नयाँ कर्जा जारी गर्ने भन्दै बक्यौता ब्याज रकमसमेत जोडेर सावाँमा जोड्ने गरेका छन् । ‘ब्याज असुल नभए हर्जाना लिन पाइने भए पनि ब्याजलाई सावाँमा जोड्न पाइँदैन,’ राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभाग प्रमुख कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले भन्छन्, ‘तर, कतिपयले सावाँलाई ब्याजमा जोड्ने गरेको भेटिएको छ ।’ 

राष्ट्र बैंकको गत असोजसम्मको तथ्यांकअनुसार एक लाख २८ हजार ऋणीले लघुवित्तलाई समयमै ऋण तिर्न सकेका छैनन् । यसरी भाका नाघेको कर्जा रकम पाँच अर्ब रुपैयाँ पुगेको छ ।

हाल सञ्चालनमा रहेका ८९ लघुवित्त संस्थामा ४४ लाख ऋणी आबद्ध छन् । लघुवित्तहरूले विपन्नहरूको समूह बनाएर सामूहिक जमानीमा ऋण प्रवाह गर्छन् । सामान्यतया कुनै कम्पनीले बनाएको एउटा समूहका सदस्यलाई त्यही कम्पनीले मात्रै ऋण प्रवाह गर्नुपर्ने हो । तर, लघुवित्त कम्पनीहरू नयाँ–नयाँ समूह बनाउने प्रयासमा लाग्नुभन्दा पहिल्यै बनेको समूहलाई ऋण दिने सजिलो धन्दा गरिरहेका छन् । त्यसरी एउटै व्यक्तिलाई १६ वटासम्म संस्थाले ऋण लगानी गर्ने गरेको अध्ययनहरूले देखाएका छन् । राष्ट्र बैंककै ०७५ मा प्रकाशित संघीय संरचनामा लघुवित्तमा पहुँच प्रतिवेदनमा नमुना संकलनको अध्ययनले ६९ प्रतिशत व्यक्तिमा एकभन्दा बढी लघुवित्तले लगानी गरेको फेला पारेको थियो । 

हालै राष्ट्र बैंकले २६ वटा लघुवित्त संस्थामा गरेको स्थलगत निरीक्षणका क्रममा सबैले दोहोरो कर्जा प्रवाह गरेको भेटेको थियो । एउटा ऋणीले एउटा लघुवित्तबाट तीन लाख रुपैयाँसम्म कर्जा लिन सक्छ, ऊ दुई वर्षसम्म लगातार असल ऋणीमा परेको छ भने अर्को संस्थाबाट थप दुई लाख ऋण विनाधितो लिन सक्ने व्यवस्थासमेत छ । यसरी एउटा व्यक्तिले पाँच लाखसम्म कर्जा एकभन्दा बढी लघुवित्तबाट लिन सक्ने व्यवस्था राष्ट्र बैंकले नै गरिदिएको छ । तर, एक दर्जनभन्दा बढी लघुवित्तले एउटै ग्राहकलाई एक करोडसम्म ऋण लगानी गरेका उदाहरण पनि ग्रामीण क्षेत्रमा छन् । ऋणको दोहोरोपना कम गर्न ऋणीसँग अन्य कम्पनीको ऋण लिए/नलिएको सूचना लिनुपर्ने व्यवस्थासमेत गरिएको छ । तैपनि लघुवित्तको संख्यामा भएको वृद्धि र बढ्दो प्रतिस्पर्धाले दोहोरोपना घट्ने होइन, निरन्तर बढिरहेको छ । 

‘दुई हजार कर्जा दिँदा पनि दोहोरोपना छ/छैन हेर्नुपर्ने व्यवस्था गरेका छौँ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘धेरै लघुवित्त धेरै ऋणीमा पुगिसकेकाले सबैको नियमन गर्न समस्या भइरहेको छ, देखेसम्म कारबाही गरिरहेका छौँ ।’ 

लघुवित्तहरूले ऋण तिर्न नसक्ने विपन्न ग्राहकलाई संरक्षण गर्न संकलन गरिएको कोषसमेत कर्जा लगानीमै प्रयोग नाफामात्रै बढाएका छन् । लघुवित्त कम्पनीहरूले खुद नाफाको एक प्रतिशत रकम ग्राहक संरक्षण कोषमा अनिवार्य रूपमा जम्मा गर्नुपर्छ । वार्षिक २० प्रतिशतभन्दा माथि लाभांश वितरण गर्दा त्यो सीमाभन्दा बढी जति रकम दिने हो, त्यसको २५ प्रतिशतले हुन आउने रकमसमेत कोषमा राख्नुपर्ने हुन्छ । यसरी लघुवित्तहरूको कोषमा करिब तीन अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको प्रारम्भिक तथ्यांकले देखाएको छ । 

यो कोषको रकम समस्यामा परेका ऋणीको व्यवसाय सुरक्षण तथा पुनस्र्थापना गर्न, ऋणीहरूको सामूहिक हित हुने कार्य गर्न, ग्राहकको क्षमता विकास गर्न, ग्राहकका बालबच्चाको शिक्षा, स्वास्थ्य र पोषणलगायतमा खर्च गर्नुपर्छ । ‘कतिपय संस्थाले यस्तो रकम कर्जाको रूपमा लगानी नै गरिरहेका छन्,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले भने, ‘त्यसैले अघिल्लो वर्ष कोषमा जम्मा भएको रकमबाट कम्तिमा ५० प्रतिशत अर्को वर्ष खर्च गर्नैपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।’ 

तर, लघुवित्त कम्पनीका सञ्चालकहरू भने कोषको रकम कर्जामा लगानी गर्न छाडेको बताउँछन् । ‘विगतमा कोषको यो रकम कर्जा लगानीमा प्रयोग हुने गरेको थियो, तर केही वर्षयता त्यस्तो रकम अलग्गै राखिने गरिएको छ,’ लघुवित्त बैंकर्स संघका कोषाध्यक्ष दाहाल भन्छन्, ‘अहिले भने लघुवित्तहरूले कार्यविधि नै बनाएर त्यस्तो रकम परिचालन गर्न थालेका छन् ।’


नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी भन्छन्–अहिले लघुवित्तहरूको संख्या धेरै भएकाले हाम्रो क्षमताले अनुगमन गर्नसमेत नभ्याउने भएको छ

लघुवित्तहरू गाउँका नयाँ साहुकार भएर निस्किएका छन्, नियन्त्रण गर्न राष्ट्र बैंकले के गर्दै छ ?

गाउँमा साहुकारहरूले ४०/४५ प्रतिशतसम्म ब्याजदर लिने गरेका थिए । धेरैको घरबार जाने गरेको थियो । गाउँमा बैंकहरू नपुग्दा त्यहाँका बासिन्दाको सुविधाका लागि लघुवित्तलाई पठाइएको हो । लघुवित्त संस्थाहरूले पनि सुरुका दिनमा २६ देखि ३० प्रतिशतसम्म ब्याज लिने गरेका थिए । लघुवित्तहरूको अहिले ब्याजदर निकै घटेको छ । राष्ट्र बैंकले नियमन गरेकै कारण बढीमा १८–१९ प्रतिशतसम्म ब्याजदर लिइरहेका छन् । अहिले लघुवित्त कम्पनीहरूको स्रोतको लागत पनि बढेको छ । पहिलेजस्तो सस्तोमा पुँजी पाउँदैनन् । बैंकहरूबाट लघुवित्त संस्थाले १२/१३ प्रतिशतसम्म ब्याजदरमा पुँजी लिनुपरेको छ । त्यसैले, ऋणीलाई पनि केही बढी ब्याजदर परेको हो । समग्रमा लघुवित्तले विपन्नमा वित्तीय पहुँच पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याएका छन् । अहिले बैंकहरूसमेत गाउँगाउँमा पुगेका छन् । इमानदार र धितो हुनेले बैंकहरूबाट समेत कर्जा लिन सक्ने अवस्था छ । 

तर, बैंकबाट कर्जा लिन धितो चाहियो, अनेक प्रक्रिया पूरा गर्नुपर्‍यो, त्यसैको फाइदा लघुवित्तले उठाइरहेका छन् नि ? 

अहिले गाउँगाउँमा बैंक पुगेका छन् । बैंकहरूले दलित, एकल महिला, विपन्न वर्ग, अपांगता भएका व्यक्तिहरूमा सहुलियत ब्याजदरमा कर्जा जारी गर्छन् । लघुवित्तले भने विनाधितो कर्जा जारी गर्नुपर्छ । कर्जा बिग्रिए संस्था नै डुब्ने हुन्छ । जोखिमको भार पनि ब्याजमा पर्छ । लघुवित्तहरू गाउँगाउँमा सञ्चालन हुने भएकाले उनीहरूको सञ्चालन लागत धेरै हुन्छ । दुर्गममा काम गर्ने लघुवित्तका कर्मचारी सुरक्षा अभावमा लुटिएका घटनासमेत छन् । यी विविध कारणले कर्जाको ब्याजदर बैंकहरूको भन्दा केही बढी हुन्छ नै ।

एउटै व्यक्तिलाई धेरैवटा लघुवित्तले लगानी गरिरहेका छन्, ऋणीले थेग्नै नसक्ने ऋण दिएको देखिन्छ । यो प्रवृत्ति किन नघटेको हो ? 

लघुवित्तको मुख्य विकृति उच्च ब्याजदर होइन, एकै व्यक्तिमा दोहोरो÷तेहोरो कर्जा लगानी हो । अहिले लघुवित्तको संख्या निकै बढेको छ । त्यसैले तिनीहरूबीच प्रतिस्पर्धा पनि तीव्र भएको छ । ग्राहकको संख्या बढाउन आफ्ना कर्मचारीलाई ‘टार्गेट’ नै दिन थालेका छन् । यसले ऋणीको दोहोरोपना बढेको छ । त्यसैले लघुवित्तको संख्या घट्नुपर्छ । मर्जर गरेरै भए पनि लघुवित्तको संख्या १५/२० मा सीमित पार्नुपर्छ । 

राष्ट्र बैंकले प्रभाव मूल्यांकन नगरी अनुमति दिँदा लघुवित्तको संख्या ८९ पुगिसकेको छ, राष्ट्र बैंक संख्या बढाउन किन लागेको ?

वित्तीय कारोबार गरिरहेका गैरसरकारी संस्थालाई लघुवित्तमा परिणत गर्नैपर्ने बाध्यता थियो । यहीबीच अन्य केही संस्थाको समेत आवेदन पर्‍यो । हामीले ४० संस्थाको आवेदन अस्वीकार गर्‍यौँ । अझै पनि सात संस्था अनुमति प्रक्रियामा छन् । यो प्रक्रिया सकिएपछि संख्या घटाउन थप नीति अँगाल्नेछौँ । 

ग्राहक संरक्षण कोषको रकम ऋणीको व्यवसाय पुनरुत्थानमा होइन, थप कर्जामा लगानी गर्ने परिपाटी पनि रहेछ, यो नियन्त्रण गर्न कठिनाइ किन भएको हो? 

अहिले लघुवित्तहरूको संख्या धेरै भएकाले हाम्रो क्षमताले अनुगमन गर्नसमेत नभ्याउने भएको छ । यस्ता संस्थामा यही कारण विभिन्न समस्या आइरहेका छन् । बैंकहरूको समेत शाखा बढेकाले कर्मचारीले लघुवित्तहरू सबैको नियमन गर्न सकिरहेका छैनन् । नमुना लिएर अनुगमन गर्नुपरिरहेको छ । हामीले देखेसम्म यी संस्थामा हुने गरेका नकारात्मक गतिविधिलाई कारबाही गरिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस्