११ कार्तिक २०७८, बिहीबार
Logo
Hotel Yangra Nuwakot Trishuli

स्कुल पठाउने उचित उमेर

अक्षराम्भ गराउने सांस्कृतिक दिन श्रीपञ्चमी र नयाँ शैक्षिक सत्र सुरु हुने समय नजिकिँदै गर्दा अभिभावकलाई आफ्नो बच्चा विद्यालय पठाउने बेला भयो कि भएन भन्ने प्रश्नले सबैभन्दा बढी सताउने गर्छ। सहरीकरण र विकाससँगै हाम्रो जीवनशैली, भोगाइ, सोचाइ र बालबालिकाको लालनपालन गर्ने तरिकामा जे–जस्ता परिवर्तन आएका छन्, तिनले पनि अहिलेका आमा–बुवालाई आफ्ना बालबालिकाको भविष्यप्रति बढी चिन्तित बनाएका छन्। उनीहरू कसरी आफ्ना नानी÷बाबुलाई शारीरिक, मानसिक र भावनात्मक हिसाबले स्वस्थ र सशक्त अनि शिक्षामा सफल र सक्रिय बनाउन सकिन्छ भन्ने होडबाजीमै लागेको पाइन्छ। अहिले नेपालजस्ता विकासशील देशमा जसरी आमा–बुवाले आफ्नो बच्चा ‘पहिलो, राम्रो र छिटो’ हुने अपेक्षा राख्छन्, त्यसले छिटो विद्यालय पठाउने होडबाजी नै चलेको देखिन्छ। प्रतिस्पर्धाबीच जुन किसिमले आम रूपमा मानसिक स्वास्थ्यको सचेतना बढेको छ, त्यसले बच्चालाई कसरी राम्रोसँग हुर्काउने, बढाउने र पढाउने भन्ने कुरामा अभिभावकको चासो पनि उत्तिकै बढेको छ। प्रस्तुत लेखमा आफ्ना बालबालिकालाई कलिलै उमेरमा विद्यालय पठाउने अभिभावकको हतारोबाट फाइदा उठाउँदै विद्यालयले समेत भर्ना गरिदिने प्रवृति र त्यसले बाल मनोविज्ञानमा पार्ने प्रभावका विषयमा चर्चा गरिएको छ। साथै बालबालिकालाई विद्यालय पठाउने उपयुक्त उमेर र प्रारम्भिक सिकाइबारे पनि यहाँ समेटिएको छ।

पढाउनै हतार

pratik books stationery
trishuli web design in nuwakot

सुरु गरौं– देखेको एउटा सन्दर्भबाट। भक्तपुरको एउटा विद्यालयमा एक बाबुले डेढ वर्षको बच्चा भर्ना गर्न ल्याउँदा विद्यालयले ‘बच्चा २ वर्ष नपुगेसम्म धेरै सानो हुन्छ’ भनेर भर्ना गर्न मानेन्। तर, नजिकैको अर्को विद्यालयले भर्ना लियो र डेढ वर्षकै उमेरमा ती बालक नियमित विद्यालय जान थाले। डेढ वर्ष, विद्यालय जाने सही उमेर हो ? अभिभावक भन्छन्, ‘हामी दुवै जना काम गर्छौं, त्यसैले घरमा कसैको निगरानीमा छाड्नुभन्दा विद्यालय ठीक हुन्छ।’ विद्यालयको भनाइमा पनि ‘प्लेग्रुपमा बस्ने हो, पढाइलेखाइ गर्नु पर्दैन, त्यसैले फरक पर्दैन।’ तर, मनोविज्ञानले भन्छ– ‘बालबालिका करिब ५ वर्ष नपुगेसम्म एउटै स्थान वा विषयमा केन्द्रित भएर ५ मिनेट पनि बसिरहन सक्दैनन्।’

बालबालिकालाई ४ वर्ष नपुगेसम्म घरकै सदस्यबीच स्वतन्त्र रूपले रहन दिएर वा शिशु स्याहार केन्द्रमा राखेर, त्यसपछि  मात्र औपचारिक शिक्षा सुरु गर्ने प्रणाली विकास गर्न सक्यौं भने हामी आगामी पुस्तालाई सही शिक्षा दिएर साँच्चै स्मार्ट हुने बाटोमा लान सक्छौं।

प्लेग्रुप नै भनिए पनि धेरैजसो विद्यालयले बालबालिकालाई निश्चित ‘अनुशासन’मा राख्छन्। प्लेग्रुप अथवा साना बालबालिकालाई खेलाउन मात्रै राखिने समूहकी शिक्षिका अभिभावकले महिनौं प्लेग्रुपमा पठाउँदा पनि आफ्ना बच्चाले पढ्न÷लेख्न पटक्कै नजानेको गुनासो गर्ने गरेको अनुभव सुनाउँछिन्। यस हिसाबले प्लेग्रुप नै किन नहोस्, अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउनुको अर्थ पढ्न÷लेख्न जानोस् भनेरै हो। त्यसैले चाँडो स्कुल पठाउने चलन जे जसरी आएको भए पनि यसले हाम्रो ‘स्मार्ट’ पुस्ताका बालबालिकालाई फाइदाभन्दा बढी हानि नै पु¥याइरहेको छ।

हामी प्रविधिमा निकै चासो राख्ने कलिला बालबालिका छिट्टै ठूलो र स्मार्ट भएको महसुस गर्छौं र विद्यालय पठाउन हतार गर्छौं। त्यसो त अहिलेका बालकालिकालाई स्मार्ट पुस्ताकै रूपमा लिइन्छ। स्मार्टलाई कसरी परिभाषा गर्ने भन्नेचाहिँ फरक विषय हुन सक्छ। विशेषगरी सहरीकरण हुँदै जानु, सानो परिवारको संख्या बढ्दै जानु र आमाबाबु दुवै व्यस्त हुने कारण पनि हाम्रो समाजमा बालबालिकालाई छिटो विद्यालय पठाउने होडबाजी सुरु भएको हो। तर, यसरी कलिलै उमेरमा विद्यालय पठाउँदा उनीहरूको मानसिक विकासमा क–कस्ता असर पर्छन् भन्ने विषयमा ध्यान पुगेको देखिँदैन।

जीवनका प्रारम्भिक वर्षहरूमा बालबालिकामा अत्याधिक मात्रामा शारीरिक, मानसिक र भावनात्मक परिवर्तन भइरहेका हुन्छन्। यस्ता परिवर्तन जन्मिनु अघिदेखि वयस्क हुँदासम्म भइरहने भए पनि बालबालिका ५ वर्ष नपुग्दासम्म अत्यधिक हुन्छ। त्यसैले त्यो उमेरको चञ्चलता उनीहरूको शारीरिक विकासका लागि अत्यावश्यक अभ्यास हो। त्यो उमेरमा सिक्ने शैली पनि फरक हुन्छ। उनीहरू नक्कल गरेर आफ्नै गतिमा सिक्न खोज्छन् र त्यसैअनुसार व्यवहार देखाउँछन्। अनुशासनका नाममा एकै स्थानमा लामो समय बस्न लगाउने वा बालबालिकाको प्राकृतिक व्यवहार नियन्त्रण गर्दा उनीहरूले सकारात्मक र गुणात्मक अनुभव प्राप्त गर्न सक्दैनन्। उमेर ८ वर्ष पुग्दासम्म मस्तिष्कको विकास भइरहेको हुन्छ, जुन त्यसपछिका वर्षमा निखारिने मात्रै हुन्छ। यसले गर्दा जीवनका सुरूवाती वर्षहरूमा भोगेका गुणात्मक अनुभवका आधारमा जीवनको उत्तराद्र्धको गुणस्तर निर्धारण हुने मनोवैज्ञानिकहरूले पुष्टि गरेका छन्।

हालै हार्वड मेडिकल स्कुलमा गरिएको एक अध्ययनको निष्कर्षमा भनिएको छ– ‘जब बालबालिकाले आफ्नो विकासस्तर वा सिकाइ आवश्यकता र संस्कृतिसँग मेल नखाले शैक्षिक अनुभव प्राप्त गर्छन, त्यसले उनीहरूलाई अपर्याप्तता, चिन्ता र भ्रमजस्ता नराम्रा असर पु¥याउन सक्छन्।’ यसलाई थप प्रस्ट्याउनुपर्दा उमेर र क्षमताअनुसारको सिकाइ मात्रै बालबालिकालाई आवश्यक हुन्छ। उमेरअनुसार  सिक्न सक्ने क्षमता हुन्छ र सिकाइ आवश्यकता त्यो उमेरमा आवश्यक पर्ने सीप हुन्छ। त्यसैले त धेरै विकसित मुलुकमा बच्चाको स्कुल जाने न्यूनतम उमेर नै तोकिएको हुन्छ र उनीहरूको आफ्नै शैली, रुचि, व्यवहार र क्षमताअनुसार सिकाउने परिपाटी हुन्छ।

कति उमेरमा विद्यालय पठाउने ?

विभिन्न विकसित देशको विद्यालय जाने उमेर फरक–फरक छन्, तर धेरैजसोमा भएको मान्यता भनेको बालबालिका कम्तीमा ४ वर्ष पूरा नगरी किन्डरगार्डेन जान योग्य हुँदैनन्। अझ डेनमार्कमा त ६ वर्ष नपुगी विद्यालयमा भर्ना गर्न पाइँदैन र हालै त्यहाँ गरिएको एक अध्ययनले त्यो उमेरलाई ७ वर्ष बनाउन सुझाव दिएको छ। विद्यालय जाने सही उमेर देशको शैक्षिक प्रणालीसँग जोडिएको हुन्छ। धेरैजसो विकसित देशमा १ वर्षको शिक्षापछि कक्षा १ बराबरको पढाइ सुरू हुन्छ।

हाम्रोमा नर्सरी र केजी गरी कम्तीमा २–३ वर्षपछि मात्रै कक्षा १ मा पु¥याउने चलन छ। विद्यालय व्यवस्थापन र शिक्षक÷शिक्षिकाका अनुभवमा बालबालिकालाई नर्सरी पढ्नुअगाडि कम्तीमा २÷३ महिना भए पनि खेल्ने समूहमा राख्नैपर्छ। किनभने हिजोआज धेरै बच्चा डेढदेखि २ वर्षसम्मको उमेरमा विद्यालय आउन सुरु गर्छन्। उनीहरू ६ महिनादेखि १ वर्षसम्म खेल्ने समूहमा बस्छन् र विद्यालयको वातावरणसँग घुलमिल भइसकेका हुन्छन्। नर्सरी पुगेपछि त पढ्न÷लेख्न नै सुरु गर्नुपर्छ।

वास्तवमा मन्टेस्वरी, किन्डरगार्डन वा प्रिस्कुल भनिने ‘अर्ली स्कुलिङ सिस्टम’मा पढाउने र लेखाउनेभन्दा पनि दैनिक जीवनमा चाहिने सीप र सामाजिक व्यवहार सिकाउनुपर्ने हो। झन् दुःखलाग्दो कुरा त के छ भने हाम्रो समाजमा नर्सरीलाई औपचारिक विद्यालय प्रवेशका रूपमा लिइन्छ। सुरुको कक्षा नर्सरी भनेपछि त्यसमा २ वर्षदेखिका बालबालिका पढाइन्छ र धेरैजसो अवस्थामा विभिन्न उमेरका बालबालिकालाई एकै कक्षामा राखेर एउटै तरिकाले पढाउने चलन छ। जब हामी विभिन्न उमेर समूहका बालबालिकालाई एकै स्थानमा राखेर पढाउन थाल्छौं र हामीले सिकाएका सबै बालबालिकाले एकैनासले जान्नुपर्छ भन्ने मान्यता राख्छौं, साथै कसैले पढ्न÷लेख्न नसकेमा चञ्चल वा बदमास वा छुकछुकेको संज्ञा दिन्छौं, तब हामी उनीहरूलाई अन्योलको वातावरण दिइरहेका हुन्छौं र उनीहरूको प्राकृतिक सिकाइ प्रक्रियामा बाधा पुर्‍याइरहेका हुन्छौं।

यसरी साना कक्षामा फरक उमेर समूहका बालबालिका हुनु भनेको ठूलो अन्तर हो। किनकि २÷३ वर्षको अवस्थामा १/२ महिनाको फरक पनि विकासक्रमका हिसाबले ठूलो फरक पार्ने अवधि हुन्छ। यसरी हेर्दा ३ वर्षको उमेरमा विद्यालय जानु र साढे ३ वर्षको उमेरमा विद्यालय जानुले उसको सिकाइमा निकै फरक पार्छ। त्यसो त एउटै उमेर समूहमा पनि बालबालिकाका बानी, स्वभाव र सिक्ने तरिका फरक–फरक हुन सक्छन्। तर, जे भए पनि सानो उमेरमा बालबालिकाले सही रूपमा कक्षा १ पुग्न आवश्यक मानिने शिक्षा हासिल गर्न लामो समय लाग्छ र त्यहीअनुरूप बालबालिकाले लगभग उही कुरा अथवा १ वर्षमा सिक्न सकिने कुरालाई २/३ वर्ष लगाएर सिक्छन्।

यसरी बनाउने स्मार्ट पुस्ता

प्रारम्भिक शिक्षाबारे गरिएका धेरै अध्ययनले सही उमेरमा विद्यालय जान सुरु गरेका बालबालिकाको शैक्षिक प्रगति चाँडै विद्यालय भर्ना भएका बालबालिकाभन्दा राम्रो भएको देखाएको छ। शैक्षिक प्रगति भन्नाले पढाइ, लेखाइ र सोचाइ, अनि निर्णय गर्ने क्षमता हुन्, सामाजिक सीप भने होइन। शैक्षिकस्तरमा राम्रो प्रदर्शन गर्न विकसित मुलुकहरूमा ६ वर्ष टेकेपछि कक्षा १ बराबरको विद्यालय पढाइ सुरु गर्ने चलन छ। प्रिस्कुल भने त्यही उमेरमा मिल्ने गरी १ वा २ वर्ष राख्ने गरिन्छ। ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई भने शिशु स्याहार केन्द्रमा मात्रै राखिन्छ।

सामान्य अभ्यासमा ३ वर्षको शिक्षापछि कक्षा १ मा राखिने हुदाँ चाँडै सुरु गरे पनि हाम्रा बालबालिका विकसित मुलुकमा भन्दा ढिला कक्षा १ मा पुग्छन्। यसर्थ कामकाजी अभिभावकका लागि बालबालिकालाई विद्यालय पठाउनुभन्दा शिशु स्याहार केन्द्र राम्रो विकल्प हुन्छ। तर, शिशु स्याहार केन्द्रमा बालबालिकालाई रेखदेख गर्नेहरूले प्रारम्भिक बाल्यावस्थाबारे तालिम लिएको हुनुपर्छ। विद्यालयमा खेल्ने समूहमै बालबालिका राखिदिँदा पनि त्यहाँ स्वतन्त्रसँग खेल्ने विषयमा भन्दा अनुशासन र पढाइमा जोड दिँदा बालबालिकालाई फाइदाभन्दा बढी हानि पु¥याइरहेका छौं।

नेपालको सहरी क्षेत्रमा भएका मोन्टेस्वरी विधिमा सञ्चालन गरिने भनिएका विद्यालय प्रिस्कुल नै हुनुपर्ने हुन्, तर धेरै विद्यालयको अभ्यास हेर्दा तिनले औपचारिक शिक्षामै प्राथमिकता दिएको देखिन्छ। साना बालबालिकालाई प्लेग्रुप भनेर राखिए पनि पढाइलेखाइसमेत सुरु गरिन्छ र त्यसमै जोड दिएको देखिन्छ।  शिक्षक/शिक्षिका र अभिभावक पनि सानै उमेरमा पढन÷लेख्न जान्ने र ज्ञानी बनाउन चाहन्छन्। त्यसैले अभिभावकले बालबालिकालाई दिन सक्ने सबैभन्दा राम्रो उपहार भनेको ती वर्षमा उनीहरू खुसी र सन्तुष्ट हुने खालका क्रियाकलाप  गरिदिएर वा गर्न दिएर सकारात्मक अनुभव बटुल्न दिने हो। यसमा सबैभन्दा महत्वपूर्ण भूमिका अभिभावक र परिवार, अनि त्यसपछि शिक्षक/शिक्षिका र साथीहरूको हुन्छ।

सानैमा विद्वान् बनाउने रहरमा कलिलो उमेरमै विद्यालय पठाएर अनुशासन र पढाइ÷लेखाइमा जोड दिदाँ उनीहरूको प्राकृतिक विकासक्रमसँग अमिल्दो हुन जान्छ र त्यो भनेको उनीहरूका लागि नकारात्मक अनुभव हुन जाने सम्भावना धेरै बनाउनु हो। लामो समयसम्म एकै स्थानमा एकाग्र हुन प्राकृतिक कारणले नसक्ने उमेरमा बालबालिकालाई एउटा बन्द कोठाभित्र राख्दा उनीहरूले सहज र प्राकृतिक रूपमै सिक्न सक्ने कुराहरूलाई समेत हामी असहज र अप्ठेरो  बनाइरहेका हुन्छौं। बालबालिकालाई ५ वर्षको उमेरसम्म सहयोगात्मक सम्बन्ध र सकारात्मक अनुभव दिनु अत्यावश्यक छ, जुन घरबाट सुरु भएर विद्यालयसम्म पुग्छ। त्यसैले बालबालिकालाई ४ वर्ष नपुगेसम्म घरकै सदस्यबीच स्वतन्त्र रूपले रहन दिएर वा शिशु स्याहार केन्द्रमा राखेर, त्यसपछि  मात्र औपचारिक शिक्षा सुरु गर्ने प्रणाली विकास गर्न सक्यौं भने हामी आगामी पुस्तालाई सही शिक्षा दिएर साँच्चै स्मार्ट हुने बाटोमा लान सक्छौं। सबै बालबालिका एकैनासका हुँदैनन्, फरक–फरक क्षमताका हुन्छन्। त्यसकारण आफ्ना बच्चालाई ‘पहिलो, राम्रो र छिटो’ बनाउनेभन्दा पनि सकारात्मक अनुभव दिएर विद्यालयका लागि तयार पार्नु उचित हो।

मनोपरामर्शविद् तारा अधिकारी

प्रतिक्रिया दिनुहोस्