१२ श्रावण २०८१, शनिबार
Logo

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला एउटा बिशेष अदालतले गरेको छ ।
इस्लामाबाद विशेष अदालतले देशद्रोह र संविधानको अवहेलना गरेको अभियोगमा उनलाई मृत्युदण्डको सजायँ सुनाएको हो । अदालतको तीन सदस्यीय बेञ्चले बहुमतको आधारमा फैसला सुनाएको हो ।
मुशर्रफलाई सन् २००७ को नोभेम्बर ३ मा संकटकाल घोषणा गरेकामा देशद्रोहको मुद्दा चलाइएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । अदालतको फैसला अघि मुशर्रफले एक भिडियो सन्देशमार्फत आफ्नो अवस्थाबारे जानकारी लिन जाँच आयोगलाई आग्रह गर्दै आफुमाथि लगाइएको आरोपको खण्डन गरेका थिए ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले सन् २०१३ मा आफ्नो पार्टी पाकिस्तान मुस्लिम लीग दोस्रो पटक सत्तामा आएपछि मुशर्रफविरुद्ध मुद्दा दायर गरेका थिए ।
इस्लामाबादको विशेष अदालतले सन् २०१४ को मार्च ३१ मा पूर्व सेनाध्यक्षसमेत रहेका मुशर्रफलाई देशद्रोहको मुद्दामा अभियुक्त बनाएको थियो । भारतसँगको कारगिल युद्धमा सेनाको संलग्नताको विषयले शरीफ र मुशर्रफबीच विवाद थियो ।
मुशर्रफ एक पटक मात्र विशेष अदालतमा उपस्थित भएका थिए । सन् २०१६ मा मुद्दा चलिरहेको अवस्थामा स्वास्थ्यमा समस्या आएको भन्दै मुशर्रफ दुबई गएका थिए । उनको त्यहीं उपचार भैरहेको छ ।
सन् १९९८ मा सेना प्रमुख नियुक्त जनरल मुशर्रफले सन् १९९९ को अक्टोबरमा रक्तपातविहीन सैन्य विद्रोह गरेर सत्ता आफ्नो हातमा लिएका थिए । सन् २००१ को जुनमा जनरल मुशर्रफले सेना प्रमुखमा रहँदै आफैलाई राष्ट्रपति घोषणा गरेका थिए ।
सन् २००२ को अप्रिलमा एक विवादास्पद जनमत संग्रह गरेर मुशर्रफ पाँच वर्षसम्म राष्ट्रपति बनेका थिए । सन् २००७ को चुनावपछि उनी फेरी राष्ट्रपति बने । तर चुनावलाई सर्वोच्च अदालतले चुनौति दियो ।
यसपछि उनले मुलुकमा संकटकाल घोषणा गरे र प्रधानन्यायाधीश इफ्तिखार चौधरीलाई हटाई नयाँ प्रधानन्यायाधीश नियुक्त गरे । नयाँ प्रधानन्यायाधीशले चुनावलाई वैधानिकता प्रदान गरेपनि सन् २००८ मा उनले राष्ट्रपति पदबाट राजीनामा दिए ।
सत्ताधारी दुई पार्टीले महाअभियोग लगाउन सहमति गरेपछि उनले राजीनामा दिएका थिए । यसपछि उनी चार वर्ष बेलायत र दुबई निर्वासनमा गएका थिए । सन् २०१३ मा स्वदेश फर्केर निर्वाचनमा सहभागी हुन खोजे पनि उनलाई सामेल हुन दिइएन ।

प्रतिक्रिया दिनुहोस्