आफ्ना छोडी पराईलाई अपनाउनु पर्ने रैछ र पो म नारि ।जन्मघरमा कुनै अधिकार नहुंदो रैछ र पो म नारी

देबि काफ्ले-
अर्काको दैलोठेलो पोत्नु रैछ र पो म नारी
अर्काको पटुकीले कम्मर बांधेर उभिनु पर्ने रैछ र पो म नारी
अर्काको सापटी सिन्दुरले जीवन बांध्नु पर्ने रैछ र पो म नारी
अर्काको सुनको हतकडीले बांधिनु पर्ने रैछ र पो म नारी।
धरतीको नाममा संसारिक बाधा झेल्न पर्ने रैछ र पो म नारी
जन्मनै नपाई गर्भमै तुहिनु पर्ने रैछ र पो म नारी
बालापन देखि नै बाबाको अधिनमा बस्नु पर्ने रैछ र पो म नारी
यौन पिपासुका गिद्धे नजरको सामना गर्नु रैछ र पो म नारी
संस्कारको ठेक्कापट्टा मेरै थाप्लोमा रैछ र पो म नारी
रजस्वलाको रगतले पापको भारी बोकाएको रैछ र पो म नारी
बलात्कृत पिडामा पुरूषार्थ बचाईदिन पर्ने रैछ र पो म नारी
बा,दाजुभाई ,लोग्ने,छोराको कस्टडीमा बस्नु पर्ने रैछ र पो म नारी
आफूलाई छोडेर अर्कालाई सम्हाल्नु रैछ र पो म नारी
जन्मदाता छोडेर अन्नदातालाई सम्हाल्नु रैछ र पो म नारी
कैले सरस्वती कैले लक्ष्मीको रूप धारण गर्नु रैछ र पो म नारी
दुष्टहरूको नाश गर्न काली बन्नु पर्ने रैछ र पो म नारी
चुल्हो चौको डोको नाम्लोसंगै खरवारीमा लडीबुडी गर्नु रैछ र पो म नारी
तर अब त देशकै मुहार फेर्न आन्दोलित हुनु पर्ने रैछ र पो म नारी।
हिजो एउटा घर हांक्नु थियो म नारी थिएं
अब सिंगो देश हांक्नु छ त्यसैले म नारी।।।।
प्रतिक्रिया दिनुहोस्