१२ श्रावण २०८१, शनिबार
Logo

जापानको सहयोगमा निर्मित सुलक्षणा माविको सुविधासम्पन्न विद्यालय समुदायमा हस्तान्तरण

रामहरि गजुरेल

विदुर, भुकम्पका कारण क्षतिग्रस्त बनेको विदुर नगरपालिका–९ आँगापुटारस्थित सुलक्षणा माविको सुविधासम्पन्न विद्यालय समुदायमा हस्तान्तरण गरिएको छ । जापान सरकारको ४ करोड ४१ लाख ऋण सहयोगमा नेपाल सरकारले निर्माण गरेको १९ कोठे अत्याधुनिक भवनको एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।
समुदायलाई हस्तान्तरण गरिएसँगै केही दिनअघि उक्त आधुनिक विद्यालयको उद्घाटन प्रदेश नं. ३ का माननीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा र विदुर नगरपालिकाका नगर प्रमुख सञ्जु पण्डितले संयुक्त रुपमा गर्नुभएको थियो । जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख विरेन्द्रजंग थापाले नवनिर्मित विद्यालयको साँचो सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुजन मगरातीलाई हस्तान्तरण गर्नुभएको हो । अत्याधुनिक भवनसँगै अपाङ्गमैत्री, प्रविधिमैत्री तथा वालमैत्री सुविधा र विषेशतासहितको विद्यालयको उद्घाटन गर्दै माननीय सांसद् खतिवडाले आधुनिक भौतिक संरचनाको गुणस्तरसँगै विगतकोभन्दा अबको शिक्षा गुणस्तरिय हुने आशा व्यक्त गर्नुभयो ।
त्यसका लागि शिक्षा कार्यालय, स्थानिय निकाय र सरकारले नियमित रुपमा सामुदायिक विद्यालयको निरन्तर अनुगमन एवं नियन्त्रण हुनु जरुरी हुनु आवश्यकता रहेकोमा जोड दिनुभयो । ‘सबै सुविधाको उपलब्धता भएर मात्रै विद्यालयको शिक्षा आधुनिक र गुणस्तरिय बन्दैन’, सांसद खतिवडाले भन्नुभयो–‘त्यसका लागि अभिभावक, स्थानिय तह र सरकारी स्तरबाट नियमित अनुगमन, नियन्त्रण र आवश्यकताहरुको परिपुर्ति गर्दै जानुपर्दछ ।’ तबमात्रै हामीले चाहेअनुसारको समयअनुकुल प्रतिष्पर्धी शिक्षा हाम्रा बालबालिकाले प्राप्त गर्न सक्ने उहाँको दाबी छ ।
विकसित मुलुकहरुमा सरकारी विद्यालयमा अध्ययन गर्ने अवसर पाएसम्म नीजि विद्यालयमा विद्यार्थी जाँदै नजाने गरेको उल्लेख गर्दै सांसद खतिवडाले पहिलो प्राथमिकता सरकारी हुनुपर्ने बताउनुभयो । ‘सरकारी विद्यालयमा हामी जनताकै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी परेको हुँदा सबैले आफ्ना विद्यार्थीहरु पढाएर सामुदायिक विद्यालयलाई थप जिम्मेवार र विकसित बनाउन सकिनेछ’,– सांसद् खतिवडाको सुझाव छ । हरेक नागरिकले आफ्ना बालबालिकालाई बोर्डिङ स्कुलको भन्दा माथिल्लो स्तरमा बालमैत्री वातावरणमा व्यवहारिक सिप र सिकाईसहित पढाउन अभिभावक पनि आफैँ जागरुक बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विद्यालय हस्तान्तरण समारोहमा विदुर नगरपालिकाका नगर प्रमुख सञ्जु पण्डितले सरकारी विद्यालयमा पढाउनुमा नै विद्यार्थी र अभिभावकको हितमा रहेको बताउनुभयो । ‘अझ यो समाज र राष्ट्रको कल्याणमा पनि यो हुनु आवश्यक छ’, नगर प्रमुख पण्डितले सामुदायिक शिक्षा र महत्वबारे स्पष्ट पार्दै भन्नुभयो–‘धरासायी बनिरहेको सामुदायिक शिक्षालाई जिम्मेवार र विकसित बनाउन पनि सरकारी विद्यालयमा विद्यार्थीलाई भर्ना गरी पढाउन म अनुरोध गर्दछु ।’ निजीभन्दा सामुदायिक विद्यालय उच्च गुणस्तरिय बनाउन आधारभूत र माध्यामिक तहलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।

त्यसका लागि विदुर नगरपालिकाले नितिगत रुपमै बालबालिकालाई नर्सरीदेखि कक्षा ५ सम्म निशूल्क र अंग्रेजी माध्याममा पढाउने कार्यक्रम घोषणासमेत गरिरहेको जानकारी दिनुभयो ।
यसै अवसरमा शिक्षा विकास तथा समन्वय ईकाई नुवाकोटका प्रमुख अर्जुन बहादुर श्रेष्ठले गुणस्तरिय र सबै सुविधासहितको भवन समुदायले पाएसँगै शैक्षिक गुणस्तरमा पनि सुधार हुने आशा व्यक्त गर्नुभयो । ‘नीजी विद्यालयको भन्दा बढी सुविधा र शिक्षा दिन सकेमा सामुदायिक विद्यालय फस्टाएर जानसक्छ’, प्रमुख श्रेष्ठले भन्नुभयो–‘त्यसका लागि शिक्षकले अझ बढी मेहनत गर्न सक्नुपर्दछ ।’
जिल्ला आयोजना कार्यानवयन इकाईका प्रमुख विरेन्द्रजंग थापाले करौडौँको लागानीमा बनेको विद्यालयको संरक्षण गर्न स्वयं विद्यालय र समुदायको दायित्व रहेकोले यसलाई जोगाएर उपयोग गर्न अनुरोध गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुजन मगरातिले भौतिक संरचना र सुविधा विद्यालयले प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै विद्यालयलाई शैक्षिक गुणस्तरमा पनि नयाँ उचाई पु¥याउने बताउनुभयो । तर, विद्यार्थी भर्ना अभियानका समयमा विद्यार्थी भर्नाका लागि अभिभावकहरुलाई सामुदायिक शिक्षाप्रति बुझाउन र सम्झाउन कठिन भएको स्मरण उल्लेख गर्दै समयअनुसारको गुणस्तरिय शिक्षा दिलाउने र सिकाउने प्रतिबद्धता जनाएपछि अभिभावकहरु विद्यार्थी भर्ना गर्न तयार भएको बताउनुभयो । ‘हामीले घर घरमा पुगेर अभिभावकहरुलाई यस विद्यालयमा विद्यार्थी भर्ना गर्न ल्याउनुस् भनेर धेरै जेडबल ग¥यौँ’, निजीका विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा भर्नाका लागि ल्याउन धेरै चुनौतिहरु सामना गर्नुपरेको उल्लेख गर्दै अध्यक्ष मगरातिले भन्नुभयो–‘हामी तपाईंका बालबालिकालाई अनुसाशित बनाउँनेछौँ, नैतिक शिक्षा सिकाउँनेछौँ, आज्ञाकारी बनाउनेछौँ र अहिले आधुनिक भन्ने शिक्षा के हुन्छ । त्यो सबै दिन तयार छौँ भनेर हात जोडेर अनुरोध गरेपछि हामी सफल हुन सक्यौँ ।’ उहाँका अनुसार यस शैक्षिक सत्रमा ६५ जना विद्यार्थी भर्ना गराउन विद्यालय सफल भएको छ ।
हाल २ सय २० जना विद्यार्थीहरु अध्ययनरत रहेको यस विद्यालयमा १९ कोठे आधुनिक भवन बनेसँगै सबै सुविधाहरु उपलब्ध छन् । करिब २ रोपनी क्षेत्रफलमा निर्मित विद्यालय हातामा तारवारसहितको सुरक्षित कम्पाउण्ड निर्माण गरिएको छ भने ४८ वटा कम्प्युटरसहितको कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, खेलकुद र मनोरञ्जनात्कम सुविधासहितको बालबालिका कक्ष, तीनवटा खानेपानीका धारा, सुविधायुक्त सौचालय र वाथरुम लगायतका सुविधाहरु उपलब्ध छन् । वातावणमैत्री यस विद्यालयमा विद्यालयका कक्षाकोठादेखि किचेन र सौचालयसम्म वालमैत्री र अपाङ्गमैत्री छन् ।

प्रतिक्रिया दिनुहोस्