नेपाली समाज र बौद्ध जागरण प्रशिक्षण
इतिहासबिद्, संस्कृतबिद् तथा बौद्ध विद्धान बिपेन्द्र महर्जन,
युवा बौद्ध समूहका धर्मानुशासक भिक्षु अश्वघोष महास्थविरको आह्वानमा नेपालका हिमाल, पहाड र तराईका आदिवासिहरूमा सिद्धार्थ गौतमद्वारा प्रतिपादित बुद्धदर्शन र धर्मप्रति पुनर्जागरण अभियान संचालन गरी जनतामा चेतना ल्याउने उद्देश्यले युवा बौद्ध समूहका तत्कालीन अध्यक्ष हर्षमुनि शाक्यको नेतृत्वमा बुद्ध धर्म र दर्शनबारे प्रशिक्षण र विभिन्न कार्यक्रमहरूको आयोजना भएको थियो ।
बौद्ध विद्वान्, भिक्षुगण तथा लामा गुरुहरूसँग पनि युवा बौद्ध समूहको सम्बन्ध सौहार्द्रपूर्ण हुँदै गयो । बुद्ध, बुद्धधर्म र दर्शनबारे छलफलमा मात्र सीमित नभई हिमाल, पहाड र तराईका आदिवासी जनताहरू माझ पनि पुनर्जागरण कार्यक्रम संचालन हुन थाल्यो । कार्यक्रम अनुसार बुद्ध, बुद्धधर्म र दर्शनबारे प्रशिक्षण दिई प्रशिक्षक जन्माउने र सर्वसाधारणहरूमा बुद्ध दर्शनको प्रचार गर्ने कार्यक्रम शुरुमा ध्यानकुटी विहार बनेपा र कीर्तिपुरमा भएको थियो ।
लघु शिविर संचालन हुँदा २–३ दिनसम्म र दीर्घ शिविर चल्दा ५–७ र १० दिनसम्म पनि चलेको थियो । काठमाडौंबाट शुरु भएको बौद्ध जागरण प्रशिक्षण शिविर तथा बौद्ध जागरण शिविर उपत्यकाका बाहिरी जिल्लाहरूमा पनि फैलिदै गयो । बाहिरी जिल्लामा संचालित शिविरहरूमा यस पंक्तिकार पनि प्रशिक्षकको रूपमा भाग लिने सुअवसर पायो । प्रशिक्षकको रूपमा जान अवसर मिलेको जिल्लाको अनुभावबारेमा छोटकरीमा प्रस्तुत गर्न खोजेको छु ।
सर्वप्रथम सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र अन्र्तगतको शेर्मा थाङ गुम्बामा वि.सं. २०५३ साल मंसिर ५ गते चलेको बौद्ध जागरण तथा लामा प्रशिक्षण शिविर लामा गुरु फुर्वा सिङको अगुवाइमा भयो ।
प्रमुख अतिथि तत्कालीन प्र.म. गिरिजाप्रसाद कोइरालाद्वारा उद्घाटन कार्यक्रममा अन्य गन्यमान्य व्यक्तिहरूले पनि मन्तव्य दिनुभएको थियो । भिक्षु फुर्वा सिडे लामाज्यूद्वारा उद्घाटन सभामा धर्मदेशना गर्नु हुँदै बुद्ध धर्म र दर्शनबारे वैज्ञानिक दृष्टिकोणद्वारा व्याख्या गर्नु हुँदा उपस्थित मानिसहरूले नयाँ अनुभव भएको बताएका थिए । बुद्धलाई देवताको रूपमा भक्तिभाव गरे पुग्ने विश्वासमा डुबेका केही मानिसले उहाँको उक्त देशनाप्रति असहमति जनाए । तर बन्द हलको शिविरमा बस्नु हुने र भाग लिनुभएका सबै प्रशिक्षार्थी लामाहरू सकारात्मक रूपले प्रभावित हुनुभएको कुरा हामीले वहाँहरूबाट सुन्न पायौं । हामी बुद्धको सूत्रहरू मात्र पाठ गर्नेमा लागेका तर यो शिविरबाट हामीले जान्न पायौं कि सूत्रहरूको अर्थसहित बुझ्ने र व्याख्या गर्न हामीलाई प्रेरणा मिल्यो । बुद्धको शान्ति, सन्देश र उन्नति प्रगतिको शिक्षा अब जनमानसमा पनि प्रचार गर्न उहाँहरूलाई उत्साहित तुल्याएको कुरा व्यक्त गरे ।
फुर्वा सिङ्गे लामाको अगुवाइमा युवा बौद्ध समूहको तर्फबाट हर्षमुनि शाक्य, देव रञ्जित र मैले भाग लिएको उक्त शिविरमा बुद्ध धर्म र दर्शनको ऐतिहासिक घटनाक्रम, बुद्ध धर्म र मानव समाज, बुद्ध र नेपाल तथा बुद्ध दर्शनको व्यावहारिक पक्षको महत्व आदि विविध विषयहरूमा शिविरमा प्रशिक्षण तथा छलफल भएको थियो ।
हेलम्बुमा मंसिर महिनामा जाडो भैसकेको थियो । जाडोका कारण हेलम्बुको शेर्मा थाङ्ग बस्तीका प्रत्येक घरमा आगो बलिसकेका थिए । आगो बाल्ने चुलो भिन्दै खालको पाएँ । पानी पनि तताउन हुने, आलु उसिन्न हुने र अरू खानेकुरा पनि पकाउन हुने र कोठाभित्र न्यानो पार्ने हिटर जस्तो काम पनि आउने तर धुवाँ चाहिँ बाहिर जाने खालको चुलो थिए ।
हेलम्बु स्याउ खेतीको नामुद ठाउँ भए तापनि स्याउ खेती फस्टाउन सकिरहेको थिएन । एउटा कारण बाटोघाटोको अप्ठ्यारो र अर्को स्याउमा फुल फुलेर स्याउ गेडा लाग्ने वेलामा असिनाले झार्ने । एग्रिकल्चर विषयमा मलाई पनि केही ज्ञान भएको नाताले असिनाबाट बचाउन निगाँलोको भाटाबाट जाली बनाई छोप्न सल्लाह दिएँ । जंगलमा निगालो प्रशस्त पाइन्छ त्यसलाई उपयोग गर्न सकिन्छ भन्ने सुझाव दिएँ ।
त्यहाँका मानिसहरूको मुख्य खाना आलु, कोदो र कद्दु रहेको देखें । अरू खानामा चामलको भात पनि हो । तर चामल खेती गर्ने जमिन बेसीमा रहेछ । चार पाँच घण्टा हिँडेर पनि नपुग्ने । हामी त्यहाँ बसुन्जेल आलु खाएर एक दुई छाक टारेका थियौं अरू वेला चाउचाउ र अन्य खानेकुरा खायौं ।
हामी मेलम्ची बजारदेखि हेलम्बुसम्म हिँडेरै गएका थियौं । दिनभर उकालो ओरालो हिडेर जाँदा बाटामा लालीगुराँसको जंगल भएर जान पायौं । बाटो उकालो भए तापनि रमाइलो रहेछ । गुरु फुर्वा सिङे लामाले हामीलाई बाटो देखाउँदै लानुभएको थियो । ठाउँठाउँमा स–साना बस्तीमा टुरिस्ट होटल, लज पनि देख्यौं । टुरिस्टहरू गोसाइकुण्ड गई त्यहाँबाट हेलम्बु भएर काठमाडौं आउने गर्दा रहेछन् ।
दोलखा जिल्लाको श्यामा गा.वि.स. पर्ने क्षेस्लुङ गुम्बा ढुङ्गेमा वि.सं. २०५४ साल कार्तिक २४ गतेदेखि ३० गतेसम्म ७ दिनको बौद्ध जागरण तथा लामा प्रशिक्षण शिविर संचालन भएको थियो । उक्त शिविरको उद्घाटन गुम्बाको चौरमा तत्कालीन सांसद वाङडी लामाद्वारा भएको थियो । उक्त उद्घाटन सभामा गुरु ङामो बोस्योर लामाज्यू, भिक्षु जतिल (कान्छा लामा), क्याप्टेन रणबहादुर गुरुङ, हर्षमुनि शाक्य, जनक नेवा र मैले पनि मन्तव्य दिएको थिएँ ।
उद्घाटन कार्यक्रम पछि बौद्ध जागरण तथा लामा प्रशिक्षण शिविर गुम्बाको हलभित्र चलेको थियो । त्यहाँ जम्मा ४५ जवान लामाहरूले शिविरमा भाग लिएका थिए । यो शिविर हिमाली बौद्धकुल परम्परा संस्थाद्वारा प्रायोजित थियो ।
भिक्षु ङामो बोस्योर गुरु र भिक्षु जतिलद्वारा बुद्ध धर्म र शील समाधि प्रज्ञा र प्रतित्य सम्मुत्पात बारे प्रशिक्षण दिनुभएको थियो । हर्षमुनि लगायत युवा बौद्ध समूहतर्फबाट जाने हामीले बुद्ध दर्शन र शिक्षा व्यवहारमा उतार्न सके विश्वमै अशान्ति नाश भै शान्ति र समृद्धि पलाउन सक्ने विषयहरूमा केन्द्रित भै शिविरमा छलफल गरेका थियौं ।
ढुङ्गे बस्ती समुद्र सतहबाट करिब २५०० मिटर उचाईमा रहेछ । धूपी र सल्लाका रूखले ढाकिएको घना जंगलमा लेकाली डाँडामा चौरीगाई गोठहरू छन् । यहाँका मानिस मंंगोलियन ढाँचाका हुन् । यहाँ अति चिसो छ । यहाँका मानिसहरूको मुख्य जीविका गर्ने पेशा चौरी गाई पाल्नु, आलु खेती र डल्लो मुला रोप्नु नै देखिएको छ । अरू काममा घरेलु चिज बनाउने र छुर्पी (दुरुख्वो) बनाउने, आलुको मस्यौरा बनाउने रहेछ । अति चिसो भएका कारण मकै पाक्न ८–९ महिना लाग्दो रहेछ । चैत्र र वैशाखमा छरेको मकै कार्तिक–मंसिरमा बल्ल पाक्दो रहेछ । कदू, कोदो र गहँुको पनि खेती हुन्छ ।
यहाँका मुख्य खानेकुरा गहुँको पानीरोटीमा आलु मस्यौरा मिसाएको अति मिठो लाग्यो । हामीले धेरै पटक त्यस्ता पानीरोटी खायौं । जिरीबाट चाउचाउ ल्याएर पनि यहाँका मानिसहरूले खाने गर्दछन् ।
यहाँ चौरी गाईको निम्ति मोटो दुबो (घाँस) जंगलमा प्रशस्त देखें । चौरीगाईको दूध अति बाक्लो हुन्छ । मैले त पिउन नै सकिन । यहाँ बढी भएको दूध चिज बनाउने कारखानामा लैजाने रहेछ । जिरीको आसपासको जंगलमा चिज बनाउने कारखानाहरू छन् ।
यहाँ बस्ने घर सबैजसो सल्लो रूखको काठको फ्ल्याक र (विम) दलिनबाट बनाएको पाएँ । घरभित्र पस्दा न्यानो लाग्ने । यहाँ पनि प्रत्येक घरमा २४ सौं घण्टा आगो बाल्ने रहेछ । पानी तताएर मात्र खान पर्ने र बाथरूममा जान पनि तातो पानि प्रयोग गर्नुपर्ने रहेछ ।
हिउँ पग्लेर बगेका स–साना खोलाहरू छन् । ती खोलाको पानि छोइ नसक्नु, हातै कठ्याङ्ग्रिने, थाहा नपाई पानी छुन जाँदा हातै कठ्याङ्ग्रीयो ।
यहाँका सबै मासिन स्वस्थ हृष्टपुष्ट देखें । बालबालिकाहरू पनि निरोगी र स्वस्थ देखें । यहाँका मानिसहरू रूख ढाल्दैन, हुरी बतासबाट र आयु पुगेको रूख ढलेमा त्यस्ता रूख काटी प्रयोगमा ल्याउने गर्दा रहेछन् यहाँका जंगलमा कल्पना नै गर्न नसक्ने धूपीका मोटो र अग्लो रूखहरू पनि देखें ।
यहाँका मानिसहरू बुद्धमार्गी रहेको पाएँ । गुम्बामा गई बुद्धप्रति भक्तिभाव मात्र गर्ने नभै वातावरण सन्तुलनबारे पनि बुद्ध शिक्षा अनुसार गर्दा रहेछन् ।
दक्षिणी तराई जिल्लामा बौद्ध जागरण शिविर
सिराहा जिल्लाको पडरीया गाउँको पडरीया नि.मा.वि.को हाताभित्र युवा बौद्ध समूह सिराहा र थारू कल्याणकारी सभा सिराहाको संयुक्त आयोजनामा बौद्ध जागरण प्रशिक्षण शिविर मिति २०५३ फाल्गुन २४ र २७ गतेसम्म संचालन भएको थियो । उक्त शिविरको वयोवृद्ध अस्मिता लाल चौधरीको हातबाट दैथ (चारपाला जोडेको त्वादेवा) मा बत्ती बाली समुद्घाटन भएको थियो ।
यस प्रशिक्षण शिविरमा काठमाडौंको युवा बौद्ध समूहबाट हर्षमुनि शाक्य, विपेन्द्र महर्जन, जनक नेवाः, चन्द्रकाजी शाक्य र उदयपुरबाट तेजनारायण पन्जियार, वासुदेव चौधरी र सिराहाबाट सियाराम चौधरीले प्रशिक्षकको रूपमा भाग लिएका थिए । उक्त शिविरमा भाग लिनु हुने महिला र पुरुष गरी जम्मा ५० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
पडरीया निम्न मा. विद्यालय लहान बजारबाट ३ कि.मि पश्चिम राजमार्गसंग जोडिएको छ । त्यस्तै वि.सं. २०५६ चैत्र २३ र २६ गते ४ दिनसम्म दोस्रोपटक बौद्ध जागरण तथा थारु (बौद्ध) पण्डित प्रशिक्षण शिविर सोही पडरीया नि.मा.वि.को हलमा भएको थियो । यस शिविरमा शिक्षक, शिक्षिका तथा सामाजिक कार्यकर्ताहरूमा महिला पुरुष गरी जम्मा ४० जवानको सहभागिता थियो ।
काठमाडौंबाट हर्षमुनि शाक्य, भिक्षु धर्ममूर्ति, विपेन्द्र महर्जन र शाक्य सुरेन, उदयपुरबाट बासुदेव चौधरी, सप्तरीबाट सर्वश्व लाल चौधरी र शत्रुघन प्रसाद चौधरी, सिराहाबाट प्राध्यावक दुर्गानन्द चौधरी र गंगा चौधरी (महिला समाजसेवी) प्रशिक्षक भै बुद्धधर्म र दर्शन तथा सामाजिक कुरिती नियम सुधार सम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो ।
यस शिविरमा भाग लिइरहेका अधिकांश महिलाहरूले हाम्रो गाउँका मानिसहरू भन्दछन् भिक्षु भनेको देखेकै छैनन् जोगी हुन् कि महात्मा, कस्तो हुन्छ भनी प्रश्न गर्थे । हामीले बयान गरेको उनीहरू पत्याउँदैनन् । तिमीहरूले देखे जस्तो हामीहरू पनि देख्न पाए राम्रो हुनेछ भन्ने मनसाय थियो । यसर्थ हाम्रो गाउँघरमा तपाईं भिक्षुहरू एकचोटि आउनु भयो भने गाउँका सबै मानिसहरूको जिज्ञासा मेट्न सक्छ । अतः भन्ते भिक्षुज्यूबाट हाम्रो आशय बुझिदिनु होला भनि बिन्ती गरे । उहाँहरूको यस्तो अनुरोध प्रति सम्मान राख्दै भिक्षु धर्ममूर्ति फुर्सद निकाली जान तयार हुनुभयो । उहाँसँग हर्षमुनि, म र शाक्य सुरेन पनि लागेका थियौं । त्यो गाउँको नाउँ त याद भएन तर शिविर चलेको ठाउँबाट उत्तरतिर एक घण्टाभन्दा बढी हिँडेर बल्ल त्यो गाउँमा पुग्यौं । त्यो थारुहरूको मात्र बस्ती रहेछ । उनीहरूको मुख्य पेशा खेती र पशुपालन रहेछ । जंगलबाट दाउरा वयल गाडामा राखेर ल्याउने रहेछ । थारुहरूको वस्ती चारैतिर घर र बीचमा खुल्ला चोक, चोकको बीचमा धान सुकाउने, गहँु सुकाउने रहेछ । अन्न राख्ने माटोको भकारी हुँदो रहेछ । बाटो सफासुग्घर छ । बाटोमा छरिएका झारपात कुचोले बढारी एक ठाउँमा थुपारी केटाकेटीहरूले आगो बाली खरानी बनाई मल बनाउने थुप्रोमा खन्याउँदा रहेछन् ।
गाउँमा भिक्षु देखेपछि गाउँलेहरू एकछिन त आश्चर्य भए । अहो हाम्रो गाउँमा भिक्षुको दर्शन पायौं भनेर सबै खुशी भए । भिक्षु भन्ने त जोगी महात्मा जस्तो होइन रहेछ । दारी जुँगा र कपाल खौरेको सफा पहेंलो लुगा लगाउने पो रहेछ । हेर्दा नै मन शान्त हुने अनुहार पो रहेछ । भिक्षु आएको भन्ने हल्ला फैलेपछि नजिकैका गाउँहरूबाट पनि भिक्षुको दर्शन गर्न आए, भिक्षु भन्ने कस्तो रहेछ भन्ने कुरा बुझे भनी सन्तोषको सास फेरेकाहरू पनि देखेंं । यस कुराले भिक्षुहरूले गाउँघर चारिका गर्नुपर्ने आवश्यकता बुझाउँछ ।
त्यहाँ भएका एउटा घटना पनि उल्लेख गर्न चाहन्छु । २०५६ साल चैत्र २५ गते बिहान धर्ममूर्ति भन्ते, हर्षमुनि शाक्य र म बिहानको नास्ताका लागि मेचमा बसिरहेका थियौं । त्यहाँ चिया पकाउन पानी तताईरहेका एउटी महिला दश वर्षे बालकका साथ बसिरहेका थिए । त्यो बालकको दाहिने हातको चोर औंलामा घाउ पाकेर पहेँलो पीप जमिरहेको देखे । पीप पाकेर पहेँलो रहेको त्यो औंला सफा गरी औषधी राख्नु पर्छ भनी पानी तताउन त्यो चुलोमा बस्ने पुरुषलाई अनुरोध गरें । बालकलाई बोलाएर हाम्रो अगाडि बसाएँ । यो देखेर आमा चाहिले हामीलाई बिन्ती गर्दै भनिन्– “यो घाउ सफा नगरी दिनुस् । हाम्रो सत्यानास हुनेछ, त्यसै त प्रेतले दुःख दिइरहेको छ । हाम्रो घरमा प्रेतको बास छ । त्यसैले यो छोराको औंलामा घाउ भएर पाकिरहेको हो ।”
हामीले सोध्यौं– “तपाईंको घरमा प्रेतको बास छ भनेर तपाईंले कसरी थाहा पाउनु भो त ?”
ती आइमाईले भनिन्– “साधुले भनेको ।” कहिल्यै भनेर सोद्धा ५ महिना अघिदेखि यो घाउ यस्तै परिरहेको हो भन्ने जवाफ पायौं ।
(बालकलाई हेर्दै)– “घाउ दुख्दैन ?”
“दुख्छ, धेरै नै दुख्छ” भनी बालकले आँखाबाट आँसु झार्दै भनिन् ।”
आमा चाहिले कुरा काट्दै भनिन्– “दुखेर के गर्ने ? प्रेतलाई घरबाट नपन्छाई यो घाउमा औैषधि गरे भने घरका अरूलाई पनि के हुन्छ भन्न सकिन्न भनेर साधुले भनेका ।”
त्यो साधुले किन प्रेत नपन्छाएको त भन्दा तिनले भनिन्– “पन्छाई दिन्छु त भनेको हो, के गरूँ हजूर प्रेत पन्छाउनु चानचुने कुरा होइन, धेरै कठिन छ रे पैसा ५–६ सय जति लाग्छ रे पैसा खर्च गर्ने भए अहिल्यै नै पन्छाई दिन्छु भनेको हो । हामीसित त्यति पैसा छैन पैसा भएको बेला मलाई खबर गर्न आउनु म पन्छाई दिन्छु भन्नु भएको छ ।”
यति कुराकानी भैसकेपछि भिक्षु धर्ममूर्ति भन्तेद्वारा कुरा अगाडि बढाउनु भयो । भन्ते– “त्यो साधु के म जस्तै छ ?”
“हजुर जस्तै पहेंलो लुगा लगाउनु भएको त छ तर दा¥ही जुँगा लामो छ, कपाल जट्टा पारेको छ ।”
“म पनि साधु नै हुँ, तपाईंको घरमा पसेको प्रेतलाई मैले पनि पन्छाइ दिन सक्छु, तपाईंको घर कति टाढा छ ?” भनेर भन्तले सोध्नु भयो ।
आमाचाहिँले भनिन् पानी तताइरहेको पुरुष तिनको लोग्ने रहेछ । उनले पनि बिन्ती गर्दै भने– “के गरूँ हजूर पैसा भए त ती साधु नै बोलाएर ल्याइ सक्थ्यौं होला ।”
यो सुनेर भन्तेले भनिन्– “के तिमीहरूसित १०–१५ रूपैया पनि छैन र ?”
“त्यति त छ हजूर”
“घर कति टाढा छ ?” भन्तेले घरको बारे सोध्नु भयो ।
“साइकलबाट गयौं भने १ घण्टा जति लाग्छ हजूर” “त्यसो भए तिमी र म भोलि बिहान सबेरै लाहान बजारबाट साइकल चढेर जाउँला” भनी लोग्ने चाहिँलाई भन्नु भयो र आमा चाहिँलाई “अहिल्यै यहाँ खाना खाएर लाहान बजारमा दुई रूपैया जतिको काँचो धागो किनेर लिएर जाउ र घर वरिपरि सफासुघर गरी राख्नु, फुल अलि जम्मा गरी राख्नु । भोलि बिहान सबेरै म र तिम्रो बुढो साइकलबाट आउने छौं । शान्ति स्वस्ति गरी तिम्रो घरमा रहेको प्रेत पन्छाई दिनेछु र तिम्रो छोराको घाउको पीप सफा गरी औषधि राखि दिउँला” भनी भन्तेले अ¥हाउनु भयो ।
त्यसो भए हुन्छ भन्दै हाँस्दै त्यो आइमाई बिहानको खाना खाएपछि ११ बजे गाउँतिर लागिन् ।
भोलिपल्ट सबेरै साइकल चढर दुवैजना गाउँतिर लाग्नु भयो । हामीचाहिँ शिविरमै बस्यौं ।
सुने अनुसार भन्ते गाउँमा पुग्दा सबै खुशी भएका थिए । गाउँका सबै आइमाई तथा लोग्नेमानिसहरू पनि भन्तेको उपदेश सुन्न आएका रहेछन् । भन्तेद्वारा दिनुभएको उपदेशबाट अन्धविश्वास र भ्रम हुने कुरामा होसियार रहन हौसला पाएको कुरा बताए । बुद्धको शिक्षामा नै हामीहरू पनि लाग्नु पर्ने कुराको चर्चा भएको थारुहरूमा पाएँ ।
त्यो बालकको बाबुआमा दुवैबाट बुद्ध धर्मबाट हामीले रोग लाग्ने र रोगबाट बच्न सक्ने कुराको पनि हामीले ज्ञान पायौं । रोग दुई प्रकारले लाग्न सक्दो रहेछ एक– खान पिउनेको कारणबाट त अर्को बाहिरी वातावरणको कारणबाट भन्ने भन्तेद्वारा यस विषयमा हामीलाई राम्रोसँग बताउनु भयो । शिविरमा घटेको यस घटनाको चर्चाले बुद्धको शिक्षामा नै हामीहरूको उद्धार हुन सक्छ भन्ने कुरा सिराहाका थारु समाजमा चलेको पनि हामीले पायौं ।
यस्तै बौद्ध जागरण तथा प्रशिक्षण शिविर उदयपुरमा २०५४ साल चैत्रको २–५ गते, जोदहगिको थारुटोल मैनाहमा, सोही सालको चैत्र ६–७ गते बेलतारमा भयो । २०५५ चैत्र ४–५ गतेसम्म उदयपुरकै मोटी गाडामा, २०५७ साल चैत्र ६–८ गतेसम्म त्रिजुगा नगरपालिका वडा नं. ७ बगाहाको जनप्रेमी माध्यमिक विद्यालय, बगाहामा युवा बौद्ध समूह उदयपुरको आयोजनामा हरिनारयण खोनमा थारुद्वारा उद्घाटन गरिएपछि संचालन भएको थियो । एउटा शिविर संचालन सोही साल २०५७ चैत्रको २० गते देखि २३ गते ४ दिन उदयपुरकै देउरीमा महिला र पुरुष गरी जम्मा ४० जनाले प्रशिक्षणमा भाग लिएका थिए ।
त्यस्तै २०५६ साल चैत्र १८–२२ गतेसम्म ५ दिनको बौद्ध जागरण प्रशिक्षण शिविर सप्तरी जिल्ला प्रसवनीमा महिकर मा. विद्यालय हातामा सम्पन्न भएको थियो ।
परासी जिल्लामा २०५७ जेठ १०–१५ सम्म, दुम्किबासमा मिति २०५७ चैत्र १५–१७ गतेसम्म, बाराको छाता, पिपराको ने.रा.नि. विद्यालय भवनमा बौद्ध जागरण शिविर संचालन भयो ।
कपिलवस्तु जिल्लापछि राजमार्गको जितपुर २ बाट करिब ३ कि.मि. दक्षिणमा पर्ने जगेदहाको राजपानी भन्ने ठाउँमा २०५८ जेष्ठ ६–८ सम्म र सोही जिल्लामा पर्ने जितपुर ४ नं. को खड्ग बौद्ध बिहारमा मिति २०५९ अनुसार १४–१५ गतेसम्म बौद्ध जागरण शिविर संचालन भएको थियो । त्यस्तै रूपन्देहीको बुटवल न.पा.को विश्व शान्ति गुम्बामा पनि बौद्ध जागरण शिविर संचालन भएको थियो ।
उल्लेखित जिल्लाहरूमा संचालित शिविरहरूमा हर्षमुनि र मेरो नियमित सहभागिता थियो भने अरूमा भिक्षु सुशील, भिक्षु धर्ममूर्ति, भिक्षु अशोक कीर्ति शाक्य सुरेन, वासुदेव चौधरी, सर्वश्व लाल चौधरी, महेश कुमार चौधरी, सप्तरीका उमा कान्त चौधरी (सिराह), प्रयाग चौधरी, फुलकुमारी चौधरी (उदयपुर), तेजनारायण पन्जियार (उदयपुर), लक्ष्मीकान्त चौधरी, राम नारायण चौधरी, हृदय नारायण चौधरी थारु, मधुसुदन चौधरी (बारा), हिमाल धन राई, देवबहादुर राना मगर (ललितपुर), जनक नेवा,
डा. केशवमान शाक्य, देव रंजित, देवकाजी शाक्य, चन्द्रकाजी शाक्य, भिक्षु जतिल, शान्तरत्न शाक्य, कृष्ण कुमार प्रजापति
(काठमाडौं), गंगा खासी राना मगर (बुटवल), रिम बहादुर, सिरिस मगर (परासी), मोतीलाल चौधरी (सप्तरी), रमानन्द प्रसाद सिंह (सप्तरी), तेजनारायण थापा मगर (बुटवल), सरिता रानामगर, मनबहादुर थापा (रूपन्देही), बलबहादुर थापा मगर, राम बहादुर राजकोट मगर (कपिलवस्तु), सर्वश्वलाल चौधरी, शत्रुघन प्रसाद चौधरी (सप्तरी), तेजनारायण थापा मगर, झक बहादुर पुन मगर (रूपन्देही), शि. ज्ञानिन्द्र महतो थारु (चितवन) हरूले पनि सम्बन्धित जिल्लाहरूको प्रशिक्षण शिविरमा प्रशिक्षक भई भाग लिनुभएको थियो ।
उदयपुर, सिराहा, सप्तरी जिल्लाका थारुको परिवारमा आमा, बुबा, बाजे जस्ता प्रौढ व्यक्तिको मृत्यु भएमा नौ दिनसम्म केही गर्नु पर्दैन तर १० दिनदेखि श्राद्धको रूपमा पूजा गरी भोज ख्वाउनु पर्ने रहेछ । दशौं दिनदेखि यस्तो भोजको क्रम शुरू हुन्छ । यो क्रम करिब एक महिनासम्म चलिरहन्छ । गाउँलेहरू सबैलाई भोज खुवाउनु पर्छ । मरेको थाहा पाउने गाउँका मानिसहरू एक महिना भित्र श्राद्ध भोज खान आउनु पर्ने चलन रहेछ । भोजमा भान्टाको पकौडा, लौकाका तरकारी, चिउराको सत्ती भूजिया यस्तै धेरै परिकारसमेत रक्सी अनिवार्य चाहिँदो रहेछ । अवधि भित्र आउने सबैलाई भोज ख्वाउनु पर्ने र खुवाउन नसकेमा र मरेको थाहा पाउँदा–पाउँदै पनि भोज नगएमा दुवै थरिका परिवारका घरमा प्रेतले दुःख दिन्छ भन्ने धार्मिक विश्वास रहेछ । श्राद्ध भोज ख्वाउन पैसा नभएमा खेतबारी बेचेर भए पनि खर्च व्यहोर्नु पर्ने सामाजिक बाध्यता रहेको पाएँ । यस प्रकारको अन्धविश्वासले गर्दा कुनै परिवारमा कोही मरेछन् भने सो परिवार घरबार विहीन हुने सम्मका घटना घटेको थाहा पाएँ ।
बौद्ध जागरण प्रशिक्षण शिविरमा भाग लिएका थारु महिला वा पुरुषहरू यस किसिमका सामाजिक कुरिती हटाउन खोज्ने भएको पाएँ । भन्तेहरूको अगुवाइमा भएको यस्ता बौद्ध जागरण शिविरबाट जनमानसमा स्थापित अन्धविश्वास हटाई सुख शान्तिको जीवन जिउने शिक्षा पाएको प्रति सन्तोष भएको पाएँ ।
प्रतिक्रिया दिनुहोस्