२४ कार्तिक २०८३, सोमबार
Logo

क्यानभासमा बाढीको पीडा उतार्दै देवीघाटबाट उठ्यो जलवायु न्यायको आवाज

विदुर। नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित जालपा नदी किनारमा कलाकारहरूले क्यानभासमा बाढीपछिको विनाश र प्रभावित समुदायको पीडा उतारेका छन्। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले निम्त्याएको क्षति र त्यसपछि प्रभावित क्षेत्रले भोगिरहेको अवस्थालाई चित्रकलामार्फत प्रस्तुत गर्दै उनीहरूले जलवायु न्यायको माग गरेका हुन्।

राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) टर्कीमा जारी रहँदा नुवाकोटबाट पनि जलवायु परिवर्तनका असर र प्रभावित समुदायको आवाज विश्व समुदायसम्म पुर्‍याउने उद्देश्यले कला प्रदर्शन गरिएको हो।

गैरसरकारी संस्था महासंघ नुवाकोटको आयोजनामा भएको कार्यक्रममा कलाकारहरूले बाढीले उजाडिएका बस्ती, क्षतिग्रस्त संरचना र प्रभावित नागरिकको पीडालाई चित्रमा उतारेका थिए। चित्रकलामार्फत विपद्को वास्तविक अवस्था देखाउँदै जलवायु संकटको मारमा परेका समुदायलाई न्याय दिनुपर्ने सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।

Shivapuri rural municipality awareness message jalapanews

कार्यक्रमको शुभारम्भ गर्दै बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिव दाहालले बाढी प्रभावितको पीडामा संघीय सरकारले अपेक्षित सम्बोधन गर्न नसकेको बताए। विभिन्न नीतिगत जटिलता र सरकारी परिपत्रका कारण स्थानीय सरकारले चाहेर पनि प्रभावकारी रूपमा काम गर्न नसकेको उनको भनाइ थियो।

कार्यक्रममा विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, गैरसरकारी संस्था महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा र नुवाकोटका अध्यक्ष लोचन भट्टराईलगायतले जलवायु न्यायको पक्षमा आवाज उठाएका थिए। उनीहरूले अव्यवस्थित पुनर्निर्माण र औद्योगिक गतिविधिबाट सिर्जित वातावरणीय प्रभावले विपद्को जोखिम थप बढाएको उल्लेख गर्दै प्रभावित समुदायको सुरक्षित पुनर्स्थापना र न्यायपूर्ण पुनर्निर्माणमा जोड दिए।

वक्ताहरूले जलवायु परिवर्तनमा न्यून योगदान रहेका नेपालजस्ता विकासशील मुलुकले यसको गम्भीर असर भोग्नुपरेको भन्दै क्षति तथा नोक्सानीको उचित सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गरे। प्रभावित समुदायको पुनर्निर्माण र पुनर्स्थापनाका लागि ऋण नभई अनुदान उपलब्ध गराउनुपर्ने उनीहरूको जोड थियो।

‘ऋण होइन, अनुदान चाहिन्छ’, ‘नेपाललाई जलवायु न्याय चाहिन्छ’ र ‘हामीलाई न्याय अहिले चाहिन्छ’ भन्ने नारासहित आयोजित कला प्रदर्शनले स्थानीय विपद्को पीडालाई अन्तर्राष्ट्रिय जलवायु बहससँग जोड्ने प्रयास गरेको छ।

प्रतिक्रिया दिनुहोस्