नुवाकोटमा बाढीपहिरो पीडितलाई २१ वटा अस्थायी आवास हस्तान्तरण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटका बाढीपहिरो प्रभावित परिवारका लागि निर्माण गरिएका २१ वटा अस्थायी आवास हस्तान्तरण गर्नुभएको छ ।

मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवफाटमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले प्रभावित परिवारलाई घरको साँचो हस्तान्तरण गर्नुभएको हो । यी आवासहरू वाईसीएल नेपालको पहलमा बेलकोटगढी र विदुर नगरपालिकाका पीडित परिवारका लागि निर्माण गरिएका हुन् ।

जलवायु परिवर्तनको असर नेपालले भोग्नुप¥योः प्रचण्ड
कार्यक्रममा बोल्दै नेकपाका संयोजक प्रचण्डले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसले पु¥याएको क्षति प्राकृतिक विपत्ति मात्र नभएर विकसित मुलुकहरूले अपनाएको गलत विकास मोडलको परिणाम भएको बताउनुभयो ।

कार्बन उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि जलवायु परिवर्तनको ठूलो असर भोग्नुपरेको उल्लेख गर्दै उहाँले आफू प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको महासभामा यो विषय उठाएको स्मरण गर्नुभयो । प्रभावित क्षेत्रमा आफैँ पुगेर गरेको घोषणा अनुसार आवास निर्माण सम्पन्न गरेकोमा उहाँले वाईसीएललाई धन्यवाद दिनु भयो ।
प्रतिघर चार लाख लागत
वाईसीएलका नुवाकोट जिल्ला अध्यक्ष जलन गजुरेलका अनुसार निर्माण गरिएका अस्थायी आवासहरू दुई कोठा र शौचालयसहितका छन् । एउटा आवास निर्माणमा करिब चार लाख रुपैयाँ खर्च भएको अनुमान छ । दाताहरूबाट प्राप्त निर्माण सामग्री, प्राविधिक सहयोग र संगठनका ६ सयभन्दा बढी कार्यकर्ताहरूको श्रमदानबाट यी संरचना तयार पारिएको वाईसीएलका उपाध्यक्ष हरि ढकालले जानकारी दिनुभयो ।

घर पाएपछि स्थानीय पिडित नागरिकहरुले बिपदको समयमा वाइसियलले बनाइ दिएको घर आफूलाई सिंह दरवार भन्दा बढी भएको बताएका छन् ।
घर पाउनेहरूमा मोतिराम राई, सुरेन्द्र नेपाल, श्रीकृष्ण नेपाल, गोपी अधिकारी, लोकनाथ नेपाल, रमेश राई, प्रदीप राई, मीना राई, सोमप्रसाद राई, शिवराम नेपाल, हरिहर नेपाल, रामकुमार मगर, नरेश नेपाल, सरिता नेपाल, मुक्तिराम नेपाल, कोमलप्रसाद नेपाल, टीकाराम नेपाल, लालप्रसाद नेपाल, डण्डपानी घिमिरे र बुद्धलाल चित्रकार रहनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्