बाढी प्रभावित तथा अभिभावकविहीन विद्यार्थी रेशन तामाङलाई लायन्स क्लबद्वारा छात्रवृत्ति सहयोग

काठमाडौँ, २२ असोज (२०८३) ।
भोटेकोशीमा आएको भीषण बाढीका कारण आफ्ना अभिभावक गुमाउनु भएका एक जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नं. ११ घर भई हाल सूर्यगढी गाउँपालिका वडा नं. ३, चोगदेस्थित बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत छात्र रेशन तामाङलाई अध्ययन खर्चबापत छात्रवृत्ति प्रदान गरिएको हो ।
लायन्स क्लब अफ काठमाडौं सामाखुशीका अध्यक्ष लायन जागेश्वर यादवले बाढी प्रभावित परिवारको घाउमा मलम लगाउने उद्देश्यले छात्र तामाङको शिक्षाका लागि रु. ३०,६००/– (तीस हजार छ सय रुपैयाँ) विद्यालयको बैंक खातामा जम्मा गरिदिनुभएको हो । अभिभावक गुमाएपछि अध्ययनमा बाधा पुग्न नदिन र रेशनको शैक्षिक यात्रालाई निरन्तरता दिन यो मानवीय सहयोग गरिएको क्लवले जनाएको छ ।
संकटको घडीमा बाढी प्रभावित तथा पीडित परिवारका बालबालिकालाई शिक्षाबाट बञ्चित हुन नदिन खेलिएको यो भूमिका मानवीय सेवाको क्षेत्रमा अनुकरणीय रहने विद्यालय परिवारले उनीहरूको भनाइ छ ।
यसैबीच, बाढीबाट प्रभावित भई भिजन इङलिस एकेडेमीमा अध्ययन गरिरहेका अर्का एक विद्यार्थीलाई पनि छिट्टै छात्रवृत्ति रकम उपलब्ध गराइने जानकारी प्राप्त भएको छ । उक्त विद्यालयबाट बैंक खाता नम्बर प्राप्त हुनासाथ दोस्रो विद्यार्थीका लागि पनि सहयोग रकम जम्मा गरिने लायन्स क्लब अफ काठमाडौं सामाखुशीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्