विद्यालय पूर्ण सुरक्षित रहेको जे.डी. सेकेन्डरी बोर्डिङ स्कुलको स्पष्टीकरण, मनोपरामर्शमा सहभागी हुन आग्रह

विद्यालय पूर्ण सुरक्षित रहेको जे.डी. सेकेन्डरी बोर्डिङ स्कुलको स्पष्टीकरण, भ्रममा नपर्न र मनोपरामर्शमा सहभागी हुन आग्रह
नुवाकोट, २२ भदौ, विदुर नगरपालिका वडा नं. ६, देवीघाट कोलोनीमा रहेको जे.डी. सेकेन्डरी बोर्डिङ स्कुलले हालैको विनाशकारी बाढी र विपद्पछि विद्यालयका बारेमा बजारमा फैलिएका विभिन्न अफवाहमा नपर्न आग्रह गरेको छ । विद्यालय प्रशासनले विद्यालय भवन र भौतिक पूर्वाधार पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ ।
विद्यालयले सामाजिक सञ्जाल मार्फत जारी गरेको सुचनामा भनिएको छ , “हाम्रो विद्यालय पूर्ण रूपमा सुरक्षित छ र विद्यालयमा कुनै पनि भौतिक क्षति भएको छैन । विद्यालय प्रशासन विद्यार्थीहरूको सुरक्षा र जिम्मेवारीप्रति पूर्ण रूपमा प्रतिबद्ध छ ।”
बजारमा फैलिएका हचुवाका कुरा र अफवाहमा विश्वास नगर्न आग्रह गर्दै विद्यालयले सम्पूर्ण अभिभावकहरूलाई आफ्ना बाबुनानीसहित भदौ २४ र २५ गते विद्यालयमा अनिवार्य उपस्थित भई वास्तविक अवस्था स्वयं निरीक्षण गर्न हार्दिक अनुरोध गरेको छ ।
विपद्का कारण बालबालिकाहरूमा पर्न सक्ने मानसिक असरलाई ध्यानमा राख्दै विद्यालयले ती दुई दिन (भदौ २४ र २५ गते) विद्यार्थी र अभिभावकका लागि विशेष मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस कार्यक्रमले विद्यार्थीहरूमा विद्यालय सुरक्षित छ भन्ने विश्वास र आत्मबल जगाउने विश्वास विद्यालयले लिएको छ । मनोपरामर्श कार्यक्रम सकिए लगत्तै विद्यालयमा नियमित पठनपाठन सञ्चालन गरिने जानकारी दिइएको छ ।
साथै बिद्यालयले यस चुनौतीपूर्ण घडीमा विपद्का कारण आफ्ना साथीभाइ, आफन्त, धनसम्पत्ति तथा पशुचौपाया गुमाएका सबैप्रति सहानुभूति प्रकट गर्दै विद्यालय परिवारले ज्ञात–अज्ञात सम्पूर्ण दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।










प्रतिक्रिया दिनुहोस्