१२ श्रावण २०८१, शनिबार
Logo

देउवाले सत्ता र शक्तिकाे दुरुपयाेग गरेर पार्टी कब्जा गर्न खाेजे-रामचन्द्र पाैडेलकाे

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाउनुभएको छ । 

वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशन आफूहरूलाई मान्य नहुने चेतावनीसमेत दिनुभयो । नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफू पक्षका नेता, कार्यकर्तालाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो ।

नेता पाैडेलले पार्टीको आउँदाे महाधिवेशनमा नेतृत्व रूपान्तरण गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो । त्यसो गरेर मात्रै कांग्रेसलाई लोकतान्त्रिक बाटोमा हिँडाउन सकिने उहाँकाे बुझाइ छ ।

उहाँले भन्नुभयो, ‘वडा अधिवेशन भयो भनेर नाटक रच्न खोजिएको छ । हामी यसलाई मान्दैनौँ । हामी त्यसको विरुद्धमा, यस्तो चुनाव हुनुहुँदैन, त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेसजस्तो पार्टीलाई सुहाउँदैन । नेपाली काँग्रेसजस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम, साथीहरूलाई पाखा लगाउने काम भएको छ । हामी त्यसको विरोध गर्न चाहन्छौँ । यस किसिमले देशैभरि पार्टीमा क्रियाशील सदस्यतादेखि नै धाँधली गरेर सत्ता हत्याउने कोसिस गर्न खोजिएको छ । त्यो दुस्साहस हो । हामी हुन दिँदैनौँ । नेपाली कांग्रेसलाई हामी लोकतन्त्रको बाटोबाट कुनै पनि हालतमा विचलित हुन दिँदैनौँ ।’

Shivapuri rural municipality awareness message jalapanews

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप लगाउनुभयो । उहाँले पार्टीको आउँदाे महाधिवेशनबाट सही नेतृत्व चयन गर्ने गरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्