कबिताः छोरी

रुपा थापा ,
यहा छोरी हुनुको अर्थ
आफ्नै मुटुको सिङ्गो पाटोलाई
चोइटा चोइटा पारेर बाच्नु पनि त रहेछ
यहा छोरी हुनुको अर्थ
फक्रिए पछि फूलका सुवासहरुलाई
पराई बगैचामा छर्नु पनि त रहेछ
यहा छोरी हुनुको अर्थ
झरी पछि खुलेका ती आकाश झै
एउटा सुनौलो किरण बनेर
आफ्नै अस्तित्व माथि प्रश्न गर्दै
मुस्कुराउनु पनि त रहेछ
यहा छोरी हुनुको अर्थ
हिउँसंगै पग्लिदै पग्लिदै
नदीमा मिसिए पछि हिउझै विलयन भएर
आफ्नै अस्तित्वलाई सागरमा खोज्न नसक्नु पनि त रहेछ
यहा छोरी हुनुको अर्थ
जीर्ण त्यो बुढो घरलाई टेकोहरुले थामे झै
सिङ्गो प्रृथ्विलाई हत्केलामा थाम्नु पनि त रहेछ
आफ्नै पछयौरिमा अल्झिएका कुरोहरू टिप्दा टिप्दै
आफ्नै पाउमा बिझाएका काडाहरू टिप्दा टिप्दै
आफ्नै ऐनाका सिसाहरुले टुक्रिएर बिझाए पछि
टुक्रा टुक्रा बनाएर जान्छ उनकै कलेजीलाई
यहा छोरी हुनुको अर्थ
वर्षा याममा ओढेका ती घुमहरुसँगै
रुझेका आफ्नै परेलीहरुलाई लुकाएर
न्याउलीसंगै त्यो विरहको भाका सुसेल्नु पनि त रहेछ
यहा छोरी हुनुको अर्थ
अग्नि कुण्डमा दन्किरहेका ती अग्निहरूसँगै
आफ्नै हातका अञ्जुलीहरुले
आफ्नै अस्तित्वको दहन गर्नु पनि त रहेछ
व्याधाहरुसंग पासोबाट फुत्कन नसकेको एउटा सिकारझै
जालमा छटपटाइरहेछिन उनी
वगरमा आएर छटपटाइरहेका माछी झै
छटपटाउदै छिन उनी फर्कनलाई विशाल त्यो सागरमा
यहा छोरी हुनुको अर्थ
चुडिएका ती मोतीका दानाहरुलाई धागोमा उन्दा उन्दै
आफू भने त्यही धागोहरुसँगै चुडिदै जानु पनि त रहेछ
यहा छोरी हुनुको अर्थ
बत्ती झै बलेर प्रकाशका किरण छर्दा छर्दै
त्यही दियो मुनिको अँध्यारो छाया हुनु पनि त रहेछ
यहा छोरी हुनुको अर्थ
आकाशबाट धर्तीमा झरेपछि
हराएका ती सयौ ताराहरुजस्तै
एउटा सिङ्गो अस्तित्वको अन्त्य हुनु पनि त रहेछ
प्रतिक्रिया दिनुहोस्