१२ श्रावण २०८१, शनिबार
Logo

कविताः कस्तो लाग्छ कमरेड ?

नारायण नेपाल

तपाईंलाई कस्तो लाग्छ कमरेड
गाउँ गाउँका सिंहदरबार
सहरभरिका लालदरबार
भोकको अलाप
रोदनका चित्कार
असन्तुष्टिको आगो
चोर बसेको चौतारो
साधु चढेको शूली
आँशु बगेको त्रिशुली
कमरेडको केही साइनो त पर्दैन ?
तपाईंलाई कस्तो लाग्छ कमरेड ?

जङ्गबहादुरको जङ्ग
महेन्द्रको पञ्चायत
विपिको समाजवाद
मदनको जनवाद
पुष्पकमलको प्रचण्डपथ
आजको गणतन्त्र
तपाईंलाई कस्तो लाग्छ कमरेड ?

लुई सोह्रौँको गिलेटिन
हिटलरको ग्याँस च्याम्बर
भैरवनाथको बधशाला
माओको चिङकाङसाङ
लेनिनको पेत्रोग्राद
चे ग्वेभाराको बोलेभिया
लेन्डुप दोर्जेको सिक्किम
दलाइ लामाको तिब्बत
कमरेडलाई कुन प्रिय लाग्छ कमरेड ?

Shivapuri rural municipality awareness message jalapanews

चितामाथिको भोज
खरानीभित्रको आगो
गुम्सिएको जनमन
दबाइएको आवाज
तिम्रो सत्ता र आजादी गीतहरू
कुनै साइनो लाग्छ कि दुश्मनी
कुन प्रिय लाग्छ कमरेड ?

गरिबको आँशु
श्रमिकको पसिना
तिम्रो सम्वृद्धि
सत्ताको वैभव
कुन रसिलो
कुन स्वादिलो हुन्छ कमरेड ?
तपाईंलाई कुन प्रिय लाग्छ कमरेड ?

प्रतिक्रिया दिनुहोस्