१२ श्रावण २०८१, शनिबार
Logo

सार्वजनिक यातायातमा आवत जावत गर्न जोखिम

कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवत जावत गर्न  जोखिमपूर्ण बनेको छ । यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दुरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी साधनमा भाडा मात्रै बढीको रहेको छ । 

यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुई जना बस्ने गरेको एक लहरमा एक जना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । अनुगमन पनि नहुँदा यातायात व्यवसायीलाई ‘जे गरे पनि हुन्छ’ भन्ने भान परेको यात्रु प्रेमबहादुर थापाले बताउनुभयो । 

‘सार्वजनिक यातायातले पालना गर्नुपर्ने दुरी कायम गरेर क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्ने र स्यानिटाइजरको व्यवस्था कार्यान्वयन भएन, पहिलेको भाडामा ५० प्रतिशत थपेर भाडा लिन पाउने नियममा भने बढाएर सके जति लिने गरेका छन्’, उहाँले भन्नुभयो ।

विभागले चार किमीको भाडा १४ रुपैयाँ तोकेको छ । क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्दा ५० प्रतिशत बढाएर न्यूनतम भाडा २१ रुपैयाँ हुन्छ । तर अहिले त्यस्ता यातायातमा परिचालकले न्यूनतम भाडा २५ रुपैयाँ उठाइरहेका छन् । यातायात व्यवसायी न्यूनतम भाडा २५ रुपैयाँ बनाउने ध्याउन्नमा छन् । कोरोना महामारीका बेला भौतिक दुरी र सुरक्षाका उपाय भने अपनाएका छैनन् ।

Shivapuri rural municipality awareness message jalapanews

विभागका महानिर्देशक गोगनबहादुर हमालले तोकेबमोजिम भए/नभएको अनुगमन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको बताउनुहुन्छ । उपत्यकाको मुख्य शहरी क्षेत्रबाट काठ क्षेत्रमा जाने सवारीमा बढी भिड हुने गरेको छ । काठ क्षेत्रका यातायातमा अहिले पनि यात्रु झुण्डिएर यात्रा गर्न बाध्य छन् । तर भाडा भने बढी नै तिरिरहेका छन् ।

काठ क्षेत्रका नगरपालिकाले पनि यसको अनुगमन गरेका छैनन् । पालिकामा उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा अनुगमन समितिको व्यवस्था भए पनि त्यससम्बन्धी कानुन नभएकाले जनदबाबमा कहिलेकाहीँ अनुगमन गरे पनि के/कति कारबाही वा जरिबाना गर्ने भन्ने निश्चित छैन । नागरिक कोरोनाको जोखिम मोलेर बढी भाडा तिरेर यात्रा गर्न बाध्य हुँदासमेत जनताको घर आँगनमा पुगेको भनिएको पालिका चुँक्कसम्म नबोलेको शङ्खरापुरका स्थानीयवासी रामप्रसाद दङ्गालले गुनासो गर्नुभयो ।

यही भदौ ३ गते अघि तोकिएभन्दा बढी यात्रु राखेर मनपरी भाडा लिने सवारी नंं महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ मा टिपाउँदा केही पनि कारबाही नभएपछि यातायातका चालक, परिचालकमा जे गरे पनि हुन्छ भन्ने भावना बढेको उहाँको गुनासो छ । बा ३ ख ५९२१, बा ३ ख ६१७२, बा ५ ख २८५८, बा ५ ख १७७ नं सार्वजनिक सवारीले नियम उल्लङ्घन गरे भनी पटक–पटक फोनबाट टिपाउँदासमेत कारबाही नभएको उहाँको दुःखेसो छ ।

महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव गएकाे भदौसम्म मापदण्ड उल्लङ्घन गर्ने सवारीलाई दिनभर कारबाहीस्वरुप राख्ने गरेकामा यही असोज १ गतेपछि भने ५०० देखि १० हजार रुपैयाँसम्म जरिबाना गर्न थालिएको बताउनुहुन्छ । यसरी दैनिक सार्वजनिक र निजी गरी ७०० रुपैयाँसम्म सवारी कारबाहीमा पर्ने गरेका छन् ।

‘ट्राफिक प्रहरीलाई एक हजार ५०० रुपैयाँसम्मको चिट काट्ने अधिकार छ, यातायात व्यवस्था ऐन र नियमावलीअनुसार १० हजार रुपैयाँसम्म चिट काट्नुपर्ने गरी गल्ती गर्नेलाई विभागको जिम्मा लगाउन थालेका छौँ’, उहाँले भन्नुभयो ।

नियमविपरीत चलेका धेरै सवारी आइतबार पनि समातिएका खबर विभिन्न स्थानका जाँच केन्द्रबाट आइरहेको महाशाखाले जनाएको छ । पछिल्लो समय जाँच केन्द्रसमेत बढाइएको महाशाखाको दाबी छ । रासस

प्रतिक्रिया दिनुहोस्