ऊ,
भवानी पाण्डे,
अध्यक्ष, प्रगतीशिल लेखक संघ काभ्रे
पन्चायतको मध्यान्तमा जन्मिएको ऊ
त्यहीँ अध्यारोमा कसो कसो प्रकृतिले हुर्कायो
बढायो र अलिकती बिवेकको आँखा खोलिदियो
त्यही आखाले सहि र गलत ठम्याउँदै
त्यो कालारात्रीका अन्त्यका खातिर
दिन रात,भोक शोक,अनेकौं पीडा सहदै
समानता र स्वतन्त्रताका खातिर लडिरह्यो
अनबरत लडाइँपछि त्यो कालरात्री बिलुप भयो
सबैका सपनाहरु उजिल्याउने शुभ बिहानी बनेर
नयाँ तन्त्र आयो
स्वतन्त्रताको खुशियालीमा जनहरु रमे
खुशी सधैं पाहुना बनेर आउदो रहेछ
खुशीलाइ परास्त्र बनाउन
युगौदेखी जनताको शिरमाथी घुमिरहने जाँतो
झन सक्रिय हुन थालेपछि थेग्नै नसकेर ऊ
फेरि पहिलेकै बाटो समाउन पुग्यो
रहर थिएन उसलाई
पटक पटक शासकसङ्ग जुधिरहन
पटकपटक आफन्तसङ्ग बिछोडिन
अरुको जस्तै उसको पनि आफ्नै जिन्दगी र रहर थियोे
सबै कुरा थाती राख्दै नयाँ बिहानीका खातिर
हिम्मत गरेर लड्यो, भिड्यो, सह्यो
यात्रामा अनेकौं सहयात्रीलाई गुमायो
एकदिन सबैले चाहेको नयाँ तन्त्र लिएर
टुप्लुक्क सबैको माझ आयो ऊ
भन्न त भन्थ्यो सबैले चाहेको खुशी
सदाको लागि ल्याएको छु भनेर
त्यो खुशी नाप्ने यन्त्र कतै बनेको रहेनछ ……..
फेरिए शासन व्यवस्था , फेरिए नीति नियम
तर व्यक्तिको व्यबहार र मनस्थिति
युगौ युगदेखी एउटै छ
जनतामा सधैंको झै एउटै दुख ,पीडा र भोगाइ छ
पटकपटक शासकसङग लडेर ल्याएको तन्त्र
नयाँ जोस, जाँगर, उत्साह भरेर आएको तन्त्र
नवीन सपनाहरु सदाबहार फुल बनेर
फुल्ने आशमा आएको तन्त्र
हिजोभन्दा आज दयनीय बन्दै गरेको
आफ्नो जिन्दगी हेर्दै
कठोर यात्राका क्रममा छुटेका
सहयात्रीलाइ सम्झँदै
मौन मौन छ अचेल ऊ ।
प्रतिक्रिया दिनुहोस्